काठमाडौं– चौधौं राष्ट्रव्यापी कृष्ण मोहन स्मृति खुल्ला व्याडमिन्टन प्रतियोगिताको उपाधि रत्नजित तामाङले हात पारेका छन्। शुक्रबार सम्पन्न पुरुष एकलतर्फको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबका तामाङले एपिएफका दिपेश धामीलाई २२–२० र २१–११ ले पराजित गरी उपाधि हात पारेका छन् ।
दशौं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगितको पुरुष एकलतर्फको फाइनल खेलमा त्रिभुबन आर्मी क्लवका प्रनभ खनालले ललितपुरका जितेन्द्र परियारलाई ७–५, ३–६ र ६–० ले पराजित गरी उपाधि हात पार्न सफल भएका छन्।
यसैगरी आजै सम्पन्न लनटेनिस प्रतियोगितको महिला एकलतर्फको फाइनल खेलमा नेपाल पुलिस क्लवका मायंका राणाले सोही क्लबका माहिका राणालाई ६–४, ३–६ र ६–३ ले पराजित गरी उपाधि हात पारेकी छिन् ।
महिला भलिबल प्रतियोगिताको उपाधि नेपाल एपीएफ क्लबले जितेको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुस्थित भलिबल कोर्टमा शुक्रबार सम्पन्न फाइनल खेलमा एपीएफ क्लबले शिवम् न्यू डाइमण्ड एकेडेमी काठमाडौंलाई २५–१९, २५–१८ र २५–१९ को अन्तरले पराजित गरी उपाधि हात पार्न सफल भएको हो ।
यसैगरी प्रतियोगितामा नेपाल पुलिस क्लवले त्रिभुवन आर्मी क्लबलाई २५–१२, २५–१३ र २५–१३ को अन्तरले पराजित गरी तेस्रो स्थान हासिल गरेको छ ।
प्रतियोगितामा प्रथम हुने टिमले दुई लाख ५० हजार तथा दोस्रो हुने टिमले एक लाख २५ हजार र तेस्रो स्थान हासिल गर्ने टिमले ५० हजार रुपैयाँ प्राप्त गरेका छन् भने प्रतियोगितको सर्वोत्कृष्ट खेलाडी एपीएफ क्लवकी विनिता बुढाथोकीले पुरस्कार स्वरुप स्कूटर हात पारेकी छन् ।
सो प्रतियोगितामा एपीएफकी नेविका चौधरी उत्कष्ट स्पाइकर, न्यू डाइमण्डकी प्रतिभा माली उत्कृष्ट सर्भर, एपीएफकै मनिषा तामाङ उत्कृष्ट डिफेन्स, एपीएफकै सरस्वती चौधरी उत्कृष्ट ब्लकर, न्यू डायमण्डकी कृपा अधिकारी उत्कृष्ट सेटर र एपीएफका ज्ञानेन्द्र बहादुर विष्ट उत्कृष्ट प्रशिक्षक भएका छन् । उनीहरुले जनही ५ हजार रुपैयाँ प्राप्त गरेका छन् । ४ लाख ५५ हजार रुपैयाँ कूल पुरस्कार राशी रहेको सो प्रतियोगिता लिगकम नकआउटको आधारमा संचालन भएको थियो ।
यसैगरी ६ लाख ३० हजार रुपैयाँ कूल पुरस्कार राशी रहेको व्याडमिन्टन प्रतियोगितामा समावेश दशवटा इभेन्ट्सहरुमा ४३ जना महिलासहित कूल २४५ जना खेलाडीहरुले सहभागिता जनाएका थिए भने ४ लाख ५५ हजार रुपैयाँ कूल पुरस्कार राशी रहेको लनटेनिस प्रतियोगितामा समावेश दशवटा इभेन्ट्सहरुमा ९ जना महिलासहित कूल १ सय ४५ जना खेलाडीहरुको सहभागिता रहेको थियो।
व्याडमिन्टनतर्फ पुरुष एकलमा प्रथम हुनेले ६० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार रुपैयाँ र तेस्रो हुनेले २५ हजार रुपैयाँ तथा क्वाटरफाइनलमा पुग्ने प्रत्येकले ५ हजार रुपैयाँ प्राप्त गरेका छन् भने महिला एकलमा प्र्रथम हुनेले ५० हजार रुपैयाँ, दोस्रो हुनेले २५ हजार रुपैयाँ र तेस्रो हुनेले साँढे १२ हजार रुपैयाँका दरले पुरस्कार प्राप्त गरेका छन् भने पुरुष युगलमा प्रथम पुरस्कार ६० हजार रुपैयाँ, द्वितिय पुरस्कार ३० हजार रुपैयाँ र तृतीय पुरस्कार २५ हजार रुपैयाँ रहेको थियो ।
यसैगरी लनटेनिसतर्फ पुरुष एकलमा प्र्रथम हुनेले ६० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार रुपैयाँ, तेस्रो हुनेले २० हजार रुपैयाँ र क्वाटरफाइनमा पुग्ने प्रत्येकले ५ हजार रुपैयाँ प्राप्त गरेका छन् भने महिला एकलमा प्रथम हुनेले ६० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार रुपैयाँ र तेस्रो हुनेले १० हजार रुपैयाँका दरले पुरस्कार प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।