काठमाडौं– गोल्डेनगेट युनिभर्सिटी क्रिकेट कप २०१८ को उपाधिका लागि त्रिभुवन विश्वविद्यालय (टियू) र डिएभी कलेज प्रतिस्पर्धा गर्ने भएका छन्।
शुक्रबार भएको सेमिफाइनलमा टियूले कसमस कलेजलाई सुपर ओभरमा ८ रन र डिएभीले गोल्डेनगेट कलेजलाई ११ रनले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका हुन्। फाइनल शनिबार हुनेछ।
पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कसमसले ६ विकेटको क्षतिमा १ सय ७० रन जोड्यो। कसमसका लागि अमृत श्रेष्ठले ६० र सन्दीप जोराले नटआउट ५७ रन जोडे। बलिङतर्फ टियूका सागर ढकालले ३ विकेट लिए।
१ सय ७१ रनको लक्ष्य पछ्याएको टियूले पनि ८ विकेटको क्षतिमा १ सय ७० रन नै जोड्यो। टियूका लागि सुवास खकुरेलले ७६ र पृथु बाँस्कोटाले ३० रन जोडे। खकुरेल खेलको म्यान अफ दि म्याच भए।
सुपर ओभरमा टियूले १८ रन जोड्दा कसमसले १० रन मात्र जोड्न सक्यो।
अर्को खेलमा टस जितेर पहिले ब्याटिङ गरेको डिएभी २० ओभरमा १ सय २० रनमा अलआउट भयो। डिएभीका लागि अदिल खानले २७ र सुमित महर्जनले २२ रन बटुले। बलिङतर्फ गोल्डेनगेटका सन्तोष भट्टले ३ र रसिद खानले २ विकेट लिए।
१ सय २१ रनको लक्ष्य पछ्याएको गोल्डेनगेटले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ९ रन जोड्यो। गोल्डेनगेटका लागि नरेश बुढाएरले ३७ र भुपेन्द्र थापाले २७ रन जोडेपनि जितका लागि पर्याप्त हुन सकेन। बलिङतर्फ डिएभीका अदिल खानले ३ विकेट लिए। उनी खेलको म्यान अफ दि म्याच भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।