नेपाल भर्सेस द नेदरल्यान्ड्स
स्थान : क्वेक्वे स्पोर्ट्स क्लब, क्वेक्वे, जिम्बावे
प्रतिस्पर्धा : एकदिवसीय विश्वकप छनोट, ७औं/८औं प्लेअफ
मिति : चैत ३ गते शनिबार, दिउँसो १:१५ बजे
काठमाडौं– आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत शनिबार सातौं स्थानका लागि नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल जिम्बावेको क्वेक्वेस्थित क्वेक्वे स्पोर्ट्स क्लबमा हुनेछ।
बिहीबार पपुवा न्युगिनीलाई ६ विकेटले पराजित गर्दै एकदिवसीय मान्यता प्राप्त गरेको नेपाली टिम आत्मविश्वासी छ। बिहीबार नै नेदरल्यान्डले हङकङलाई पराजित गरेपछि नेपालको एकदिवसीय मान्यता पक्का भएको थियो।
एक महिनाको बीचमा आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ हुँदै एकदिवसीय मान्यता पाएको नेपाल विश्वकप छनोटको अन्तिम खेलमा नेदरल्यान्ड्सलाई पराजित गर्दै अर्को खुसी थप्न चाहान्छ।
डब्लुसिएल च्याम्पियनसिप जित्दै १३ देस सहभागी हुने एकदिवसीय प्रतिस्पर्धामा स्थान बनाएको नेदरल्यान्ड्सको लक्ष्य सुपर ६ थियो। सुपर ६ मा पुग्न असफल नेदरल्यान्ड्सका लागि सातौं स्थान पनि महत्वपूर्ण छ। त्यसलै नेदरल्यान्ड्सका लागि नेपाल विरुद्धको खेल प्रतिष्ठाको लडाइ हुने पक्का छ।
पपुवा न्युगिनी विरुद्धको खेलमा नेपालको बलिङ उत्कृष्ट थियो। सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान ४–४ विकेट लिएपछि पपुवा न्युगनी २७.२ ओभरमा १ सय १४ रनमै सेमिटिएको थियो।
लगातार तीन खेलमा पराजित भएपछि पछिल्ला २ खेलमा जित निकालेको नेपालको ब्याटिङ मध्यक्रमले सम्हालेको छ। ओपनिङ सधैं झैं खराब रहेको नेपालका समस्या एकै स्तरको ब्याटिङ गर्न नसक्नु हो।
नेदरल्यान्ड्सले पनि प्रतियोगितामा राम्रो ब्याटिङ गर्न सकेको छैन। प्रतियोगितामा नेदरल्यान्ड्सले एक पटक मात्र १ सय ८० रन कटाएको छ। हङकङ विरुद्धको खेलमा पनि नेदरल्यान्ड्स १४५/३ बाट १ सय ७४ मै अलआउट भएको थियो। यद्यपी नेदरल्यान्ड्सको बलिङ राम्रो छ। उसले हङकङ विरुद्धको खेल उत्कृष्ट बलिङले नै जितेको थियो।
हेड टु हेड
डब्लुसिएल च्याम्पियनसिप– अगस्ट २०१६
नेपाल– २१७/९
नेदरल्यान्ड्स– १९८
नेपाल १९ रनले विजयी
डब्लुसिएल च्याम्पियनसिप– अगस्ट २०१६
नेपाल – ९४
नेदरल्यान्ड्स– ९६/३
नेदरल्यान्ड्स ७ विकेटले विजयी
डिभिजन–२, जनावरी २०१५
नेदरल्यान्ड्स – १५८
नेपाल– १५९/८
नेपाल २ विकेटले विजयी
विश्वकप छनोट सातौं स्थान प्लेअफ जनावरी २०१४
नेपाल –१७१/९
नेदरल्यान्ड्स – १७२/३
नेदरल्यान्ड्स ७ विकेटले विजयी
प्लेयर्स टु वाच
रोइलोफ भान डेर मेर्वे (द नेदरल्यान्ड्स)
देब्रे हाते स्पिनर मेर्वेले पाँच खेलमा १२ विकेट लिइसकेका छन्। उनले दुई खेलमा त ४–४ विकेट लिएका थिए। अलराउन्ड प्रदर्शन गर्ने उनले लिस्ट एकको खेलमा ८ अर्धशतक र एक शतक प्रहार गरिसकेका छन्। त्यसलै उनी नेपाल विरुद्ध घातक बन्न सक्छन्।
दीपेन्द्रसिंह ऐरी (नेपाल)
प्रतियोगिताका सुरुवाती खेलमा मध्यक्रमको ब्याटिङमा दमदार प्रदर्शन गर्न नसकेका ऐरी पपुवा न्युगिनी विरुद्ध भने उत्कृष्ट प्रदर्शन गर्न सफल भए। पपुवा न्युगिनी विरुद्ध उनले अलराउन्ड प्रदर्शन गर्दा नेपालको जित सम्भव भएको हो। उनले ४ विकेट लिदा पपुवा न्युगिनी सस्तैमा समेटिएको थियो। ब्याटिङमा पनि उनले नटआउट ५० रन जोड्दा नेपालले सहज जित हात पारेको थियो।
मैदानको अवस्था
यो मैदानमा नेदरल्यान्ड्सले हङकङसँग खेलेको थियो। नेपालको पनि हङकङ विरुद्ध यहि मैदानमा वार्मअप खेल तय भएपनि वर्षाले रद्द भएको थियो। बिहीबार मैदानको कडा र सुख्या थियो। त्यसलै पिच स्लो भएकाले स्पिन बलिङका लागि राम्रो मानिएको छ। क्वेक्वेमा शनिबारको मौसम सफा हुने पूर्वानुमान गरिएको छ।
टिम नेपाल
पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शक्तिप्रसाद गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, करण केसी, आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, दिलीप नाथ, ललित भण्डारी, अनिलकुमार साह, रोहितकुमार पौडेल र ललितनारायण राजवंशी।
टिम नेदरल्यान्ड्स
पिटर बोरेन (कप्तान), वेस्ले बारेसी (विकेटकिपर), वेन कुपर, बास डे लिडी, स्कट इडवार्ड, भिभियन किङमा, फ्रेड क्लासे,न म्याक ओडउड, पिटर सिलर, सेन स्नाटर, रायन टेन डजचाटे, टिम भान डेर गुग्टेन, रोइलोफ भान मेर्वे, पाउल भान मिकेरेम, सिकन्दर जुल्फिकर।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।