काठमाडौं– नेपाल व्यवस्थापन संघ (म्यान) को १८औं प्रवन्ध समिति तथा च्याप्टरका प्रतिनिधिको टोलीले अर्थमन्त्री डा युवराज खतिवडालाई भेटी बधाई तथा शुभकामना दिएको छ। संघका सभापति सुशिल भट्ट नेतृत्वको १० सदस्यीय टोलीको अर्थमन्त्रीसँग भेट गरेको हो।
भेटका क्रममा अर्थमन्त्री डा खतीवडाले देशको समसामयिक परिस्थितिप्रति चासो व्यक्त गर्दै आफ्नो कार्यकालमा राम्रो कुरालाई मात्र प्रश्रय दिने बताएका थिए। देशको वर्तमान संघीय संरचनामा नेपाल व्यवस्थापन संघले सरकारलाई सघाउनका लागि उनले आग्रह गरेका छन्। आफ्नो कार्यक्षेत्र विस्तार गरी संघीय संरचनामा समेत नेपाल सरकारको नीतिनिर्माण र वकालतको माध्यमबाट सरकारलाई सघाउनुपर्ने अर्थमन्त्रीको भनाइ थियो।
सरकारलाई सघाउनका लागि आवश्यक जनशक्ति सहितको विज्ञहरुलाई परिचालन गरी वर्तमान अवस्थामा देखिएका नीतिगत अस्पष्टता, वित्तीय साक्षरता र वित्तीय योजना लगायतका अन्य विभिन्न विषयमा सरकार म्यानसँग सहकार्य गर्न इच्छुक रहेको डा खतिवडाले बताए।
संघका सभापति भट्टले वर्तमान परिप्रेक्ष्यमा नेपाल व्यवस्थापन संघले आफ्नो दायरालाई फराकिलो बनाउँदै लगेको र विभिन्न प्रदेशको सामाजिक–आर्थिक विकासमा संघले भूमिका निर्वाह गर्नसक्ने विश्वास व्यक्त गरे।
त्यसको थालनी स्वरुप संघको ३७औं राष्ट्रिय व्यवस्थापन अधिवेशनमा ‘सोसियो–इकोनोमिक डेभलपमेन्ट इन द फेडरल स्ट्रक्चर’ विषयमा वृहत छलफल गरेको, प्रदेश ७ मा त्यस क्षेत्रको श्रोतसाधनको पहिचान र विकासको सम्भाव्यतामाथि गहन छलफल गरी स्रोत परिचालन र विकासको मार्गदिशा तयार गरिरहेको अर्थमन्त्रीलाई भट्टले जानकारी गराएका थिए।
सरकारका सम्बन्धित मन्त्रालयहरु, युएनडिपी र अन्य विकास साझेदारहरुसँग समेत सरकारको नीति तथा कार्यक्रमलाई सघाउ पुर्याउनेगरी वर्ष भरि नै आफ्ना कार्यक्रम केन्द्रित रहने अर्थमन्त्रीलाई भट्टले जानकारी गराए।
संघका सभापतिबाट संघले आगामी दिनमा विभिन्न क्षेत्रको ‘म्यानेजमेन्ट क्यापासिटी इन्डेक्स’ तयार गर्नका लागि पूर्व तयारीमा लागेको र त्यसलाई मूर्तरुप प्रदान गर्ने धारणा राखेको संघका कार्यकारी निर्देशक यादवप्रसाद पौड्यालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।