तास्मानिया– तास्मानिया राज्य संसदमा बहुसंख्यक महिला सदस्य हुने अस्ट्रेलियाको पहिलो राज्य बनेको छ। अस्ट्रेलियाको सबैभन्दा सानो राज्यको रुपमा रहेको तास्मानियामा गत मार्च ३ मा संसद सदस्यका लागि निर्वाचन भएको थियो।
यसअघि सन् २०१६ मा अस्ट्रेलियन क्यापिटल टेरिटोरी(एसिटी) मा पनि महिलाहरु नै बढि निर्वाचित भएका थिए तर सो क्षेत्रले भने राज्यको रुपमा मान्यता पाएको थिएन।
पछिल्लो निर्वाचनमा तास्मानियाको तल्लो सदनमा १३ महिला तथा १२ पुरुष सांसद निर्वाचित भएका छन्। स्थानीय नेताहरुले कोशेढुंगाको रुपमा रहेको सो जितलाई ‘अति नै रोमाञ्चक’ जितको संज्ञा दिएका छन्।
विपक्षी लेवर पार्टीका उपनेता मिचेल ओब्राइनले भनिन्,‘युवा महिलाहरुका लागि राजनीतिक भविष्य र नेतृत्वदायी भूमीका प्राप्त हुनसक्छ भन्ने कुरा बोध गराएको छ।’
अस्ट्रलियाको संघीय संसदको तुलनामा तास्मानियामा महिला सांसदहरुको अनुपात धेरै छ। संघीय संसदमा ७० प्रतिशतभन्दा बढी सदस्य पुरुष छन्।
विश्व आर्थिक मञ्चको सन् २०१७ मा सार्वजनिक भएको विश्व लैंगीक अन्तर इन्डेक्सअनुसार विश्वभरका संसदमा २८ प्रतिशत मात्रै महिलाको उपस्थिती छ। मञ्चका अनुसार संसदमा सर्वाधिक महिला उपस्थितीको मापनमा अस्ट्रेलिया ३५औँ स्थानमा छ।
आफ्नो पार्टीको सकारात्मक नितीअनुरुप कुल जित प्राप्त गरेको १० सिटमा ७ जना महिला सांसद विजयी भएको नेता ओब्राइनले बताइन्। उनले भनिन्,‘यदि तपाईं संसदको स्वरुप बदल्न चाहनुहुन्छ भने सुरुमा तपाईं आफ्ना नियमहरुमा परिवर्तन गर्नुहोस्। जसले हाम्रो खराब संस्कृतिलाई परिवर्तन गर्दछ। त्यसपछि मात्रै राजनीतिमा महिलाहरुलाई प्रोत्साहन मिल्दछ।’
अस्ट्रेलियाली निर्वाचन विश्लेषक केभिन बेनहामले सन् २०१४ मा भएको चुनाबमा तास्मानियामा ९ जना मात्रै महिलाहरु संसदका सदस्यका रुपमा निर्वाचित भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।