भैरहवा– सिद्धार्थनगर नगरपालिका भित्र सञ्चालनमा रहेका विकास निर्माणका आयोजनामा गुणस्तर अनुसारको काम नभएको पाइएको छ। सिद्धार्थ नगरपालिकाभित्र सञ्चालनमा रहेका क्षेत्रीय शहरी विकास योजना अन्तर्गतका आयोजना निर्माणका क्रममा लापारबाही भेटिएको हो।
एसियाली बिकास बैंक, नेपाल सरकार र नगरपालिकाको संयुक्त लगानीमा भैरहवामा निर्माणधीन योजनामा गुणस्तर अनुसारको काम नहुँदा पनि अनुगमन गर्ने निकाय नगरपालिका र आयोजना निर्देशनालय चुपचाप रहेको स्थानीयहरु बताउँछन्। योजना सम्पन्न गर्न निरीक्षण तथा अनुगमन गर्न प्राविधिक जनशक्ति परिचालन गरे पनि उनिहरुकै सामुन्ने मापदण्ड विपरीत निर्माण सामग्री प्रयोग भइरहेको पाइएको हो।
अहिले भैरहवामा क्षेत्रीय शहरी विकास योजना अन्तर्गत ढल निर्माण, सडक निर्माण लगायतका काम भइरहेका छन्। नगरपालिकामा रहेको अद्वैत पथमा निर्माण भइरहेको ढलमा १ बोरा सिमेन्ट र ४ बोरा बालुवा मिसाएर मसला बनाउनुपर्नेमा कामदारले १ बोरा सिमेन्टमा ५ बोराभन्दा बढी बालुवा मिलाएको भेटिएको छ।
सामान्यतः निर्माण कार्यमा १ बोरा सिमेन्ट र ४ बोरा बालुवाको अनुपातमा मसला प्रयोग गरिन्छ। तर, क्षेत्रीय शहरी बिकास योजना अन्र्तगतका निर्माण कार्यहरुमा ठेकेदारले बालुवाको मात्रा बढी र सिमेन्टको मात्रा कम प्रयोग गरिरहेको पुष्टि भएको छ। निर्माणको जिम्मा पाएको चाइना ग्वान्जो शर्मा एन्ड शर्मा कम्पनीले आयोजनामा मापदण्डअनुसार काम नगर्दा पनि कसैले केही नभनेको स्थानीयको गुनासो छ।
सिद्धार्थनगर नगरपालिकाका मेयर हरिप्रसाद अधिकारीले भने आफूले स्वयं अनुगमन गर्ने गरेको र सबै ठिक रहेको दाबी गर्दै आएका छन्। उनले केही दिनअघि आयोजनाहरुको निरीक्षण तथा अनुगमन गर्दै सबै निर्माण कार्यमा गुणस्तर कायम रहेको दाबी गरेका थिए। तर, अद्वैत पथमा भइरहेको ढल निर्माणमा सिमेन्टी र बालुवाको आवश्यक अनुपात नमिलाई धमाधम ढुंगा र इँटा जोड्ने काम भइरहेको छ।
यसैगरी, नगर उपप्रमुख उमा काफ्लेले पनि अनुगमन गर्दा सबै काम ठिक रहेको बताइन्। उनले आन्तरिक स्रोतबाट सञ्चालनमा रहेका योजनामा गुणस्तरीय काम भइरहेको बताउँदै एडिबीले सञ्चालन गरेका निर्माण कार्यको अनुगमन गर्ने अधिकार आफूहरुलाई नभएको जनाइन्।
योजना अनुगमनको जिम्मा पाएका सुपरभिजन टोलीका टिम लिडर गेनालाल चौधरीले प्रत्येक आयोजनाका लागि इन्जिनियरको नेतृत्वमा सुपरभाइजरहरु खटाएको र मापदण्ड अनुसार नै मसला प्रयोग गर्ने गरिएको उल्लेख गरे। तर निर्माण कार्यमा खटिएकै मजदुर भने १ बोरा सिमेन्टमा ५ बोरा बालुवा मिसाएर काम गरिरहेको हाँकाहाँकी भन्छन्। यस्तो लापरबाहीमा पनि कारबाही नहुँदा निर्माण भएका संरचना दीगो नहुने र कमसल हुने चिन्ता स्थानीयबासीमा छ।
क्षेत्रीय शहरी विकास योजना अन्तर्गतका अधिकांश योजना स्थलमा कुनै बोर्ड राखिएको छैन। योजनाबारे विस्तृत जानकारी दिइने कुनै बोर्ड नभएपछि योजनाबारे स्थानीय मात्र होइन अनुगमनमा जाने अधिकारी पनि अन्यौलमा पर्ने गरेका छन्। स्थानीय योगेन्द्र गुप्ताले आयोजनाबारे बोर्ड नराखिँदा विकास निर्माणका काममा पारदर्शिता नहुने बताए। उनले भने, ‘कसले कसरी काम गरिरहेका छन्, निर्माणको मापदण्ड पूरा भएको छ कि छैन भन्ने कसरी थाहा पाउनु?’
निर्माण स्थलमा बोर्ड नरहेको विषयमा क्षेत्रीय शहरी विकास योजनाका इन्जिनियर यमलाल पाण्डेले यसबारे सबै काम सुपरभिजन टोलीले गर्ने बताए। उनले योजनाहरुको अनुगमन गर्न १० जना इन्जिनियरको टोली खटाइएको र सबै जिम्मा उनीहरुकै रहेको बताए। फिल्डमा खटिएका सुपरभिजन टोलीका टिम लिडर गेनालाल चौधरी भने बोर्ड बनाउन लगाएको बताउँछन्।
१ अर्ब ७१ करोड रुपैयाँमा सिद्धार्थनगर नगरपालिकामा एकीकृत शहरी बिकास आयोजना सम्पन्न भइसकेको छ। पुनः नगरमा २ अर्ब ३८ करोड रुपैयाँको लागतमा क्षेत्रीय शहरी विकास आयोजना सञ्चालन भइरहेको आयोजनाका इन्जिनियर यमलाल पाण्डेले बताए। उनका अनुसार यस आयोजना अन्तर्गत विभिन्न ३५ वटा योजना सम्पन्न हुने क्रममा छन्। जसमा २५ किलोमिटर नयाँ सडक, १२ किलोमिटर मुख्य ढल तथा १० दशमलव ५ किलोमिटर पुरानो सडकमा फुटपाथ र ग्रिनरीको काम हुने आयोजनाका इन्जिनियर पाण्डेले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।