बाबियाचौर, म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा जलविद्युत् आयोजनाको सुरुङ खन्ने क्रममा खानेपानीको मुहान सुकेको छ।
४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजना निर्माणका क्रममा नारच्याङको कलधारा टुसरेनी भन्ने ठाउँमा रहेको मुहान सुकेको हो। उक्त ठाउँबाट पाइपमार्फत ल्याएको पानी प्रभा मावि, नेपाली सेनाको क्याम्प र पटार गाउँका बासिन्दाले उपभोग गर्दै आएका थिए।
मुहान सुकेपछि त्यस क्षेत्रमा खानेपानीको चर्को समस्या भएको वडाध्यक्ष चन्द्रप्रसाद फगामीले बताए। पटारमा २७ घरधुरीको बसोबास छ। प्रभा माविमा २५० विद्यार्थी अध्ययनरत् छन् भने क्याम्पमा १०० जना भन्दा बढी सेना बस्दै आएका छन्।
जलविद्युत् आयोजनालाई वैकल्पिक ठाउँबाट खानेपानीको आपूर्ति मिलाउन आग्रह गरिएको वडाध्यक्ष फगामीले बताए। आयोजनाका परामर्शदाता इञ्जिनियर दिवाकर खड्काले जमिनभित्र सुरुङ खन्दा बाहिर रहेका मुहानमा असर पर्नु स्वाभाविक भएको बताउँदै खानेपानी अभावको समस्या समाधानका लागि वैकल्पिक व्यवस्था मिलाउन लागिएको बताए।
नजिकैको अर्को मुहानबाट पाइपमार्फत पानी ल्याएर आपूर्ति गराउने र आगामी दिनमा यस्तो समस्या आए कसरी समाधान गर्न सकिन्छ भनेर योजनासमेत बनाइएको इञ्जिनियर खड्काले बताए।
रोवस्ट इनर्जी प्रालिले निर्माण गर्न लागेको आयोजनाको दुई हजार २८८ मिटर सुरुङमध्ये अब ७०० मिटरमात्र खन्न बाँकी छ। पानीको मुहान सुक्ने र केही समस्या देखिएपछि भूगर्भविद्को टोलीले गरेको अध्ययनको प्रतिवेदनका आधारमा अघि बढ्ने इञ्जिनियर खड्काले बताए।
विद्युतगृह निर्माणमा ७५ प्रतिशत, बाँधमा ३० प्रतिशत र पाइपलाइनमा ४० प्रतिशत काम सकिएको छ।
सन् २०१६ को जुलाई १३ देखि शुरु भएको आयोजना निर्माण कार्य २०१९ सम्ममा सम्पन्न गर्ने लक्ष्य लिएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।