स्टकहोल्म– उत्तर कोरियाका विदेश मन्त्री रि योङ हो अचानक स्विडेन पुगेका छन्। उत्तर कोरियाली प्रमुख नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकाबीचमा भेटवार्ता हुनसक्ने समाचार आएको केहि दिनपश्चात् नै उत्तरका विदेश मन्त्री मंगलबार स्विडेन पुगेका हुन्।
प्योङयाङले भने विदेशमन्त्री योङ होको स्विडेन भ्रमण द्धिपक्षीय सम्बन्ध र आपसी हितका मुद्दामा केन्द्रित रहेको बताएको छ।
वासिंगटन र प्योङयाङको बीचमा स्विडेनले लामो समयदेखि मध्यस्तता गर्दै आइरहेको छ। त्यसकारण भ्रमणलाई दुई देशका शिर्ष नेताको भेटवार्ताको तयारीको रुपमा हेरिएको छ।
अघिल्लो साता मात्रै उत्तर कोरियाली नेता किमले भेटवार्ताका लागि पठाएको निमन्त्रणा राष्ट्रपति ट्रम्पले स्विकार गरेका थिए। लामो समयदेखि एकअर्कामा आरोप–प्रत्यारोपमा उत्रीएका दुई नेताहरुबिचमा शुक्रबारदेखि अचानक आएको बदलाबलाई धेरैले सकारात्मक रुपमा लिएका छन्।
तर ट्रम्पको स्विकृतिपछि भने उत्तरले कुनै प्रतिक्रिया दिएको छैन।
उता स्विडेनका प्रधानमन्त्री स्टेफन लोफभेनले सरकारी समाचार एजेन्सी टिटीसँग कुराकानीका क्रममा भने,‘यदि दुबै देशले स्विडेनले केही भूमीका निर्वाह गरिदिओस् भन्ने चाहन्छन् भने हामी पूर्ण रुपमा सो भूमीका निभाउन तयार छौँ।’
‘उत्तर कोरिया र स्विडेन दुबै सैनिक राष्ट्र हौइनन् र उत्तरसँग स्विडेनको लामो समयदेखि साझेदारी रहँदै आएको छ। मलाई लाग्छ कि हामी सो भूमीका विश्वासीलो ढंगबाट निभाउन सक्छौँ। तर मुख्य भुमिकामा रहने यी दुई राष्ट्रले नै निर्णय गर्नेछन् कि स्विडेनले कस्तो भूमीका निभाउँछ।’, प्रधानमन्त्री लोफभेनले भने।
उता अमेरिकाले भने उत्तरका विदेश मन्त्रीको स्विडेन भ्रमणको बारेमा अवगत भएको तर सो भ्रमणमा उत्तर कोरिया र अमेरिका वार्ताका बारेमा कुराकानी हुने–नहुने बारेमा भने थाहा नभएको स्पष्ट पारेको छ। अमेरिकी विदेश विभागका प्रवक्ता हिथर नाउएर्टले शिखर वार्ताका बारेमा अमेरिकाले हालसम्म पनि उत्तर कोरियाको आधिकारिक धारणा सुन्न चाहेको बताए।
हालसम्म कुनै पनि अमेरिकी राष्ट्रपतिले उत्तर कोरियाली प्रमुखलाई भेटेका छैनन्। यी दुई राष्ट्र प्रमुखहरुबीचको भेट कहिले र कहाँ हुने भन्ने बारेमा हालसम्म दुबै देश निचोडमा पुगेका छैनन्। उत्तर कोरियाले आफ्नाे आणविक कार्यक्रम तथा मिसाइल परिक्षणलाई नरोकेसम्म वार्ता सम्भव नहुने राष्ट्रपति ट्रम्पले यसअघि नै स्पष्ट पारेका छन्।
दुई देशबिचको वार्ता दुई कोरिया तथा चीनको सीमा क्षेत्र, स्विडेन वा अन्य कुनै अन्तर्राष्ट्रिय स्थानमा हुने सम्भावना औँलाइएको छ।
कतिपयले भने अमेरिकी विदेश मन्त्रीमा रेक्स टिलर्सनलाई हटाइएकोले पनि वार्ताका सम्बन्धमा छिट्टै प्रगति हुनेमा आशंका व्यक्त गरिएको छ। वार्ताका विषयमा टिलर्सनको भूमीकालाई अहम् मानिएको थियो।
पश्चिमा मुलकबाट उत्तर कोरियामा पहिलो पटक स्विडेनले सन् १९७० को दशकमै आफ्नो राजदुताबास खोलेको थियो। उत्तरमा अमेरिकाको राजदुताबास नभएकोले यसअघि स्विडेनले नै अमेरिकाको कुटनीतिक दुतको रुपमा काम गर्दै आएको थियो।
नेटोको सदस्य नरहेको स्विडेनले यसअघि उत्तर कोरियाबाट अमेरिकी नागरिकको रिहाइका लागि सघाउने काम गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।