चितवन- चितवन राष्ट्रिय निकुञ्जस्थित गिद्ध प्रजनन केन्द्रमा रहेका दुर्लभ डंगर गिद्धले ६ वटा बच्चा कोरलेका छन्। यस वर्षको सिजनमा १८ अण्डा पारेको डंगर गिद्धले ६ वटा मात्रै बच्चा कोरलेका हुन्।
निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार ४ वटा गिद्ध ओथारो बसिरहेको भए पनि थप चल्ला कोरल्ने सम्भावना कम छ। यस वर्ष गिद्धले पारेका ३ वटा अण्डा फुटेको थियो भने २ वटा बालुवामा पारेको थियो। बाँकी अण्डा मात्रै ओथारो बसेका कारण कम चल्ला निस्किएको खड्काले बताए। गुँडबाहिर पारेको अण्डा ओथारो नबस्ने भएकाले ती अण्डा र गुँडबाट खसेर अण्डा फुटेका कारण क्षति भएको उनको भनाइ छ।
गतवर्ष गिद्धले १५ वटा अण्डा पारेका थिए। ती अण्डाबाट ९ वटा चल्ला कोरलिएको थियो। नोभेम्बर र डिसेम्बर महिनामा अण्डा पार्ने भए पनि गिद्धले यस वर्ष केही छिटो अण्डा पारेको थियो।
खड्काका अनुसार केन्द्रमा ५७ वटा गिद्ध रहेका छन्। केन्द्रमा २५ वटा भाले र २४ वटा पोथी गिद्ध रहेको खड्काले जानकारी दिए। ८ वटा बच्चाको लिंग पहिचान हुन सकेको छैन। गतवर्ष कोरलिएको ९ मध्ये एउटा बच्चा मरेको थियो। गिद्धको डिएनए परीक्षणबाट मात्रै भालेपोथी छुट्याउने गरिन्छ।
चितवन राष्ट्रिय निकुञ्जमा सन् २००७ बाट डंगर गिद्ध संरक्षण थालिएको हो। यहाँ संरक्षण गरी हुर्किएका गिद्धलाई क्रमशः प्रकृतिमा छोड्ने गरिएको छ। गतवर्ष ६ वटा गिद्धलाई नवलपरासीको जटायु रेस्टुराँमा राखेर प्रकृतिमा छाडिएको थियो। थप ५ वटा गिद्ध प्रकृतिमा छोड्नका लागि तयारी गरी राखिएको छ।
सरकारले सन् २०१६ बाट सन् २०१९ सम्ममा १९ वटा संरक्षण गरी राखिएका गिद्धलाई प्रकृतिमा छाड्ने योजना बनाएको थियो। यद्यपि ढिलागरी सन् २०१६ मा छाड्ने भनिएको ६ वटा गिद्ध गत बैसाख २ गते जटायु रेस्टुराँमा राखी केही महिना अघि प्रकृतिमा छाडिएको छ।
अति संकटापन्न अवस्थामा रहेको डंगुर जातको गिद्धको संख्या बढाउन संरक्षण कार्यलाई तीव्रता दिइएको छ। विश्वमै पहिलोपटक प्रकृतिमा लोप हुन लागेको गिद्ध खोरमा हुर्काएर प्रकृतिमा छाड्न थालिएको हो।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।