काठमाडौं- गृहमन्त्री रामबहादुर थापाले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
स्वास्थ्य अवस्थाबारे बुझ्दै मन्त्री थापाले केही आक्रमणकारीलाई कारबाहीको दायरामा ल्याइसकेको र बाँकीलाई पनि कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाए।
प्रहरीले घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका नेकपाका ४ कार्यकर्तालाई बिहीबार सार्वजनिक गरिसकेको छ। पक्राउ पर्नेमा नेकपाको भ्रातृ संगठन राष्ट्रिय युवा जनस्वयंसेवक संगठनका अध्यक्ष कमल क्षेत्री (पवित्र), घोडाघोडी नगर सेक्रेटरी भरत शाह, टीकापुर नगर सेक्रेटरी हृदय बोगटी र धनगढी युवा नगर इन्चार्ज पूर्णप्रसाद खनाल रहेका छन्।
गत फाुगन २८ गते आक्रमणमा परेका चौधरीको हाल उपचार भइरहेको छ। घरमै बसिरहेका बेला दुई मोटरसाइकलमा आएका ४ जनाले चौधरीमाथि गोली प्रहार र आक्रमण गरेका थिए।
गत बिहीबार घोडाघोडीमै राधा चौधरीमाथि ‘बोक्सी’को आरोपमा झाँक्री रामबहादुर चौधरीले कुटपिट गर्दा मेयर चौधरी रमिते बनेको र प्रहरीले पक्राउ गरेका दोषीलाई छुटाउन पहल गरेको आरोप लागेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।