इलाम- मेची राजमार्गमा पर्ने इलामको पुवाखोलामा निर्माणाधीन पुल अन्तिम चरणमा पुगेको छ।
फुटपाथसहित दुई लाइन गाडी कुद्न सक्ने पुलको काम ९८ प्रतिशत पूरा भएको हो। इलाम सडक डिभिजन कार्यालय, इलाममार्फत निर्माणाधीन यो पुल पूर्वी क्षेत्रकै पहिलो नयाँ प्रविधिबाट तयार गरिएको हो।
मेची राजमार्गले पूर्वी पहाडी जिल्लालाई तराई जोड्न पुलको काम गरिरहेको छ। यो पुलले इलाम हुँदै पाँचथर, ताप्लेजुङसम्म जान स्थानीयलाई सहज हुनेछ।
यहाँ रहेको पुल जीर्ण भएपछि ठूला सवारी सञ्चालनमा समस्या भएकोमा अब भने सहज हुनेछ । यस सडकले दैनिक उपभोग्य वस्तु घरघरमा लैजान र उत्पादित वस्तु सहजरुपमा बजारसम्म लैजान मद्दत गरेको छ।
यस राजमार्गमा पर्ने धेरै स्थानमा पुराना पुल जीर्ण भएका छन्। पुल पुरानो भएका कारण नयाँ पुल निर्माण गरिएको डिभिजन सडक कार्यालय इलामका इञ्जिनियर ध्रुवकुमार झाले जानकारी दिए।
निर्माणाधीन पुल प्रिस्ट्रेन्स कंक्रिट प्रविधिबाट निर्माण भएको जनाइएको छ। यस प्रविधिबाट निर्माण गरिएको पुल नेपालमा कमै रहेको इञ्जिनियर झाले बताए। अब सवबेस र पेन्टिङको मात्र काम बाँकी रहेकाले काम चाँडै सकिने उनी बताउँछन्।
उक्त पुल निर्माणका लागि रु ४ करोड १३ लाख ९० हजार २९५ को लागतमा २०७१ असार २७ गते ठेक्का सम्झौता भएको र एलिट कन्स्ट्रक्सनले काम गरिरहेको छ। ठेक्का सम्झौता लिएको तीन वर्षमा सक्नुपर्ने भएपनि नयाँ प्रविधि भएकाले सामग्रीको अभावका कारण निर्माणमा ढिलाइ भएको निर्माण कम्पनीले जानकारी दिएको छ।
उक्त पुलको लम्बाइ ४१ मिटर छ भने चौडाइ ११ मिटर रहेको छ।
सम्पन्न भएको पुल आगामी ०७५ वैशाख १ गते उद्घाटन गर्ने लक्ष्य राखिएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।