खोटाङ- दिक्तेलदेखि धरान र विराटनगर आवतजावतका लागि पहिलोपटक जिल्लाबाट सिधा यातायात सुरु गरिएको छ।
यातायात व्यवसायी संघ खोटाङले शुक्रबारदेखि दिक्तेलबाट विराटनगर बिहान ४ः३० बजे र धरान ५ः१५ बजे बस छुट्ने गरी नियमित यातायात सुरु गरेको हो। विराटनगरको पूर्व नेपाल यातायात व्यवसायी संघको कार्यालयमा भएको व्यवसायीको प्रतिनिधिमूलक भेटघाट र छलफलबाट धरानबाट दिक्तेलका लागि बिहान ४ः३० र विराटनगरबाट ४ः५० मा छुट्ने समय निर्धारण गरिएको छ।
दिक्तेल–विराटनगरका लागि प्रतिव्यक्ति रु एक हजार १७५ र दिक्तेल-धरानका लागि रु एक हजार १५० भाडादर तोकिएको यातायात व्ययवसायी संघ खोटाङका महासचिव राम हिङ्माङले बताए।
दूधकोशीमा पक्की पुल निर्माण भएपछि दिक्तेल-हलेसी-घुर्मी कटारी हुँदै धरान र विराटनगर सिधा यातायात सुचारु गरिएको महासचिव हिङ्माङले जानकारी दिए। जिल्लाबाट राजधानी काठमाडौँ लगायत तराईका जिल्लासँग सिधा यातायात सञ्चालन भएपछि यात्रुलाई बस परिवर्तन गरिरहनुपर्ने झन्झट टरेको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।