इनरुवा- तीन सातादेखि छोरीको अवस्था अज्ञात रहेको भन्दै सहयोग गरिदिन उनका बाबुले आग्रह गरेका छन्।
आफ्नी १८ वर्षीया छोरी मनिताकुमारीको अवस्था अज्ञात रहेको भन्दै सुनसरीको देवानगञ्जका प्रमोद मेहताले खोजीका लागि आग्रह गरेका हुन्। कप्तानगञ्जका शिवकुमार मेहताले परिवारको मिलेमतोमा छोरी बेपत्ता पारेको उनको आरोप छ।
घटनाबारे प्रहरीमा समेत उजुरी गरेको बताउने पीडित पक्षले प्रहरीबाट नै सहयोग नपाएको गुनासो पनि गरेको छ। आर्थिक अवस्था कमजोर रहेको र आफू असक्षम रहेकाले छोरीको खोजीमा हिँड्न नसकेको पीडित पक्षको भनाइ छ।
पीडित पक्षले छोरीलाई केटाको आफन्तको बसोबास रहेको भारतको पञ्जाब लगेको हुन सक्ने आशंका गरेको छ। केटा पक्षका आफन्तले छोरी फिर्ता लैजाने भए रु १० लाख रकम दाबी गरेको समेत पीडित पक्षको आरोप छ।
पीडित परिवार प्रहरीसमक्ष पुगेको जानकारी पाएपछि पीडक पक्षले मनिता बिरामी भई अस्पताल भर्ना भएको र उनको मृत्यु भएको जानकारी गराएकाले घटना थप रहस्यपूर्ण बनेको पीडितका आफन्तको भनाइ छ।
उता सुनसरी प्रहरीले भने शिवकुमार र मनिताबीच प्रेम रहेको र दुवै भागेको कुरासमेत आएको जनाएको छ।
घटना प्रेम सम्बन्धको भए पनि दुवै पक्षलाई झिकाएर परिवारलाई खोजीमा लाग्न भने पनि प्रहरीको सुक्ष्म अनुसन्धान भने जारी रहेको जिल्ला प्रहरी कार्यालय, सुनसरीका निमित्त प्रहरी प्रमुख नारायणप्रसाद चिमोरियाले बताए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।