इंग्ल्यान्ड– डेनी वेलबेकले २ गोल गरेपछि आर्सनल एसी मिलानविरुद्ध विजयी हुँदै युरोपा लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। प्रतियोगिताअन्तर्गत गएराति भएको अन्तिम १६ को दोस्रो लेगमा आर्सनल ३–१ ले विजयी भएको हो।
पहिलो लेगको खेलमा पनि २–० ले नतिजा आफ्नो हातमा पारेको आर्सनलले समग्रमा ५–१ को जित निकाल्दै अन्तिम ८ को ढोका खोल्यो।
पहिलो लेगमा घरेलु मैदान सान सिरोमा हार बेहोरेको मिलान दोस्रो लेगको खेलमा भने सुरुवाती अग्रता लिन सफल भयो। खेलको ३५ मिनेटमा मिलानका हाकेन कलहानोग्लुले ३० यार्डको दुरीबाट हानेको प्रहारले गोलपोष्टको दिशा लियो।
त्यसको ४ मिनेट बित्न नपाउँदै घरेलु टिम आर्सनलका वेलबेकले विवादास्पद पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए। दोस्रो हाफमा ग्रानिट जाकाले हानेको लामो दुरीको प्रहार मिलानका गोलकिपर जियानलुइगी डोनारुम्माले रोक्न सकेनन्। खेल सकिन ४ मिनेट मात्रै बाँकि रहँदा वेलबेकले हेडमार्फत गोल गर्दै टिमलाई क्वार्टरफाइनलसम्म डोर्याए।
सन् २०१० पछि आर्सनल युरोपा लिगको क्वार्टरफाइनल पुगेको यो पहिलो अवसर हो।
यसैबिच प्रतियोगिताअन्तर्गत अन्तिम ८ प्रवेशका लागि गएराति नै भएका अन्य खेलहरुमा एथ्लेटिको मड्रिड, मार्सेली, लाजियो, सिएसकेए मस्को विजयी भएका छन्। जीतसँगै यी ४ टोलीले पनि क्वार्टरफाइनल यात्रा तय गरेका छन्।
उता अन्तिम १६ को दोस्रो लेगमा भिक्टोरिया प्लेजेन विजयी भएपनि समग्रमा स्पोर्टिङ ३–२ ले विजयी भयो। आरबी साल्जवर्ग र बोरुसिया डर्टमन्ड तथा आरबी लेइपजिग र जेनिट सेन्ट पिटर्सवर्गबिचको खेल बराबरीमा टुंगीएपनि समग्रमा साल्जवर्ग र लेइपजिग अगाडि रहँदै अन्तिम ८ मा प्रवेश पाए।
योसँग युरोपा लिगको अन्तिम ८ को समिकरण पुरा भएको छ। क्वार्टरफाइनलको ड्र शुक्रबार हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।