फ्लोरिडा– अमेरिकाको फ्लोरिडास्थित मियामीमा एक आकाशे पुल भत्किदा ४ जनाको मृत्यु भएको छ। बिहीबार फ्लोरिडा अन्तर्राष्ट्रिय विश्वविद्यालयको नजिकै रहेको सो पुल भत्किदा अन्य १० जना घाइते भएका छन्।
उद्धारकर्ताहरुले घटनास्थलमा बिहीबार रातीसम्म पनि खोजी तथा उद्धर कार्यलाई निरन्तरता दिएका थिए।
फ्लोरिडा प्रहरीका अनुसार ८ लेनको सडकमा रहेको सो आकाशे पुल भत्किदा ८ वटा सवारी च्यापिएका थिए। प्रहरीले कति व्यक्तिहरु सो घटनामा परेका छन् भन्ने बारे यकिन भइनसकेको जनाएको छ।
मियामी–डेड बारुण सेवा प्रमुख डेभ डौनीले बिहीबार रातीसम्म ४ जनाको मृत्यु भएको बताए।
दुर्घटनामा घाइते भएका १० जनाकाे स्थानीय केन्डल रिजनल मेडिकल सेन्टरमा उपचार भइरहेको छ। घाइतेमध्ये २ जनाको अवस्था चिन्ताजनक रहेको अस्पतालका शल्यचिकित्सा विभागका निर्देशक डा मार्क म्याककेन्नीले बताए।
९ सय ५० टन वजन भएको ५३ मिटर लामो सो पुल गत शनिबार मात्र निर्माण गरिएको थियो। विश्वविद्यालयको वेवसाइटमा दिइएको जानकारीअनुसार मात्र ६ घण्टामा नै सो पुल खडा गरिएको थियो।
सवारी साधनहरु ट्राफिक लाइटमा रोकिएको अवस्थामा दुर्घटना भएकोले ठूलो क्षति हुन नपाएको प्रत्यक्षदर्शीको भनाइलाई उदृत गर्दै स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्।
एक प्रत्यक्षदर्शीका अनुसार कारबाट आएको चिच्याहट भयानक रहेको एबीसी न्युजले लेखेको छ। ‘जब मैले कारबाट बाहिर हेरेँ चारैतिर धुलो उडिरहेको थियो।’, प्रत्यक्षदर्शी टिओना पेजले भनिन्,‘मलाई थाहा भयो कि पुल भाँचिएछ।’
स्विटवाटरका मेयर ओर्लान्डो लोपेजले ट्विटमा लेखेका छन्,‘अघिल्लो साता मात्रै पुल निर्माण सम्पन्न भएकोमा खुशियाली मनायौँ तर आज हामीले वियोगसँग जुध्न परिरहेको छ।’
फ्लोरिडाका गभर्नर रिक स्कट तथा सिनेटर मार्को रुवियोले राष्ट्रिय यातायात सुरक्षा बोर्डका अधिकारीकारीहरुसँगै बिहीबार राति घटनास्थलको निरीक्षण गरेका छन्।
उता राष्ट्रपति डोनाल्ड ट्रम्पले एक ट्रिवट गर्दै घटनाको उद्धार र बचाउका लागि लगातार अनुगमन गरिरहेको बताएका छन्। ट्विटमार्फत उनले घटनामा प्रभावित हुनेहरुका लागि प्रार्थना गरिरहेको बताएका छन्। राष्ट्रपति ट्रम्पले उद्धारका लागि खटिने उद्धारकर्ताहरुको प्रशंषा गर्दै धन्यवाद समेत दिएका छन्।
गत वर्षको अगस्टमा जेब्रा क्रसिङबाट बाटो काट्ने क्रममा कारको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएपछि विद्यार्थी तथा उनीहरुका अभिभावकले सो स्थानमा पुल निर्माणका लागि विश्वविद्यालयसँग माग गरेका थिए। सो पुलले विश्वविद्यालय र विद्यार्थाीहरुको आवासीय क्षेत्रलाई जोड्ने गर्दथ्यो।
घटनाको एक दिन अघिमात्रै विश्वविद्यालयले सो क्षेत्रमा आगामि २०१९ सम्ममा १ सय ७४ फिट लामो आकाशे पुल निर्माणको घोषणा गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।