राजविराज– एक साताअघि मात्रै अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ। सप्तरीमा पनि धुमधामसँग दिवसको औपचारिकता पूरा भयो। महिलाका नाममा कतिले सम्मान थापे भने मञ्चमा महिला अधिकारका क्रान्तिकारी कुरा गरेर कतिपयले स्यावासी बटुले।
तर, सप्तरीको सदरमुकाम समेत रहेको राजविराज नगरपालिका १२ सिंगियौनकी बसन्ती सदालाई चैं महिला दिवस बारे जानकारी छैन। महिलाको अधिकारका लागि दिवस पनि मनाइन्छ भन्ने सुनेर उनले अनौठो मानिन्। ‘दिवस मनाएर महिलाले अधिकार पाउँछन् त?’ प्रतिप्रश्न गर्दै उनी भन्छिन्, ‘एक दिन जुलुस लगाएर अधिकार भेटिने भए मेरो अवस्था किन यस्तो हुथ्यो त?’
उनलाई यतिबेला छोरा÷छोरीसहित ६ जनाको परिवार पाल्न हम्मे–हम्मे छ। अल्पायुमै पति भुवनेश्वरको मृत्यु भएपछि १ छोरा, २ छोरी र सासुससुराको पालन पोषणको जिम्मेवारी उनकै काँधमा छ। ‘१४ वर्षअघि नै वहाँ बित्नु भो, छोराछोरी सानै थिए,’ उनले आफ्नो अवस्था बताइ्न, ‘सँगै बसेका सासु ससुरालाई पनि र छोराछोरीलाई जसोतसो दुःख गरेर पालिरहेकी छु।’
बिहान ८ नबज्दै राजविराजको गजेन्द्र चोक पुग्न हतार हुन्छ, उनलाई। ‘बाहिरी दुनियाँमा के भइरहेको छ भन्ने जानकारी राख्ने फुर्सद पनि छैन,’ भन्छिन् उनी। मजदुरी गर्न जिल्लाका विभिन्न स्थानका कामदार भेला हुने ठाउँ हो– गजेन्द्र चोक। गिरहत (मालिक) ले यही ठाउँबाट मजदुरहरु छानेर कामका लागि लिएर जाने पुरानो चलन छ।
अधिकांश पुरुष भेला हुने गजेन्द्र चोकमा बसन्तीको उपस्थिति असहज लाग्छ, सबैलाई। बिहानैदेखि उभिरहने कामदारहरुका बीचमा फरक अनुहार हुन्, बसन्ती। ६ किलोमिटर टाढाबाट पैदल आएर काममा लगाउने मानिसको प्रतीक्षा गर्नु, पाए काममा खटिनु र पुनः त्यति नै हिँडेर घर पुग्नु उनको दैनिकी हो। ‘खेती गर्ने जग्गा छैन,’ उनी दुखेसो पोख्छिन्, ‘मजदुरीका लागि काम गर्न राजविराज नै आउनुपर्छ।’
गजेन्द्र चोकमा घर निर्माण गर्ने मिस्त्रीदेखि सामान्य मजदुरसम्म भेटिन्छन्। ‘भेला भएका मजदुरहरु मध्येबाट पारिश्रमिक र काम गर्न सक्ने क्षमताका आधारमा मोल–मोलाइ हुन्छ,’ स्थानीय कपडा व्यवसायी थानसिंह भन्साली भन्छन्, ‘दुवै पक्षको सहमति भएपछि कामको पक्का गरिन्छ।’ मोल–मोलाई र छनौटका क्रममा कहिलेकाहीँ चैं बसन्ती छाँटिन्छिन्। ‘काम पाए त कमाइ हुन्छ तर, काम नपाएको दिन घर व्यवहार कसरी चलाउने भन्ने चिन्ता बढ्छ,’ उनी भन्छिन्।
इँट्टा, सिमेन्ट, बालुवा, गिट्टी लगायत निर्माणका सामग्री ओसारपोसार गर्नेदेखि घरको सरसफाई लगायतका सबै काम गर्ने बसन्ती महिला भएकै कारण कहिलेकाहीँ आफू कामको छनौटमा नपर्ने गरेको बताउँछिन्।
‘महिलाले शारीरिक परिश्रम गर्न सक्दैनन् भन्ने बुझाइ छ,’ बसन्ती भन्छिन्, ‘त्यो बेला चैं छोरी भएर जन्मिएकोमा साह्रै दुःख लाग्छ।’ तर, महिला भएर पनि परिश्रम गरेर परिवारको लालन–पालन गरिरहँदा र श्रीमानको समेत जिम्मेवारी पूरा गर्न पाउँदा गर्व महसुस हुने गरेको उनको भनाइ छ।
महिला भएकै कारण दैनिक ज्यालामा विभेद हुँदै आएकोमा उनको असन्तुष्टि छ। काम गरे बापतव दैनिक पुरुषले ६ सय र महिलाले ४ सय रुपैयाँ ज्याला पाउने गरेको उनले बताइन्। ‘पुरुषसँगै जोतिएर समान काम गर्दा पनि महिला भएकै कारण ज्याला कम दिन्छन्,’ उनले थपिन्, ‘सँगै काम गर्ने अरुले २ सय रुपैयाँ बढी थाप्छन्, आफूले ४ सयमै चित्त बुझाउनुपर्छ।’
खेतमा काम गर्दा पनि पुरुषले १० देखि १५ किलो धान पाउने तर, महिला कामदारलाई ५ किलो मात्र दिने चलन रहेको उनले सुनाइन्।
ज्यालामा भेदभाव हुँदा चित्त नबुझे पनि चुपचाप काममा खटिनुपरेको उनले बताइन्। ‘काम नगरे घर परिवार कसरी चलाउने,’ उनी भन्छिन्, ‘छोराछोरीको अनुहार सम्झेर पनि काममा जोतिनुपर्छ।’
‘पतिको मृत्यु भएपछि घरमा कमाउने मान्छे थिएन,’ उनले पुरानो कुरा स्मरण गरिन्, ‘गाउँमै अर्काको खेतमा काम गर्थें तर, त्यो काम नियमित भएन। त्यसैले राजविराज धाउनुपर्ने वाध्यता भयो।’
महिला भएकै कारण काम गर्ने क्रममा केहिलेकाहीँ अप्ठयारो भोग्नुपरेको उनको अनुभव छ। एकल महिला भएर काममा बाहिर हिँड्नु पर्दा समाजमा आलोचित हुनुपर्ने, अधिकांश पुरुषहरुबीच एक्लो महसुस हुने, सहकर्मीले होच्याएर कुरा गर्ने लगायतका समस्या आफूले भोगिरेहेको उनले गुनासो गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।