धनगढी- फागुन २७ मा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ‘घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरीमाथि जनकारबाही गर्ने’ भनेर विज्ञप्ति जारी गर्योी। प्रहरीले पनि सो विज्ञप्ति पाएपछि अर्को दिन (२८ गते) नगर प्रमुख चौधरीका लागि सुरक्षाको प्रबन्ध गर्न उनलाई फोन गरे। जवाफमा नगर प्रमुख चौधरीले भने, ‘म काठमाडौं छु।’ प्रहरीले विश्वास गरेन। पुनः नगर प्रमुखका छिमेकी तथा आफन्तसँग बुझ्न खोजे, तर उनीहरूबाट पनि त्यस्तै, उत्तर पाए।
‘नगर प्रमुख चौधरीले आफू काठमाडौंमा छु भन्नुभएपछि हामी पनि ढुक्क भयौं,’ जिल्ला प्रहरी कार्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा कैलाली प्रहरी प्रमुख एसपी विनोद घिमिरेले भने, 'तर, अचानक राति सवा ८ बजेतिर उहाँमाथि घरमै गोली तथा खुकुरी प्रहार भएको खबर पाएँ।' सूचना पाएलगत्तै कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल र सुरक्षा अधिकारीहरू घटनास्थलमा पुगेका थिए। एसपी घिमिरेका अनुसार नगरप्रमुख चौधरीले काठमाडौंमा छु नभनेको भए उनको सुरक्षा व्यवस्था मिलाइने थियो र यो घटना नहुन सक्थ्यो।
नगर प्रमुख चौधरी सुख्खडस्थित आफ्नै घरमा रहेका बेला अपरिचित व्यक्तिहरूले बाहिरबाट ‘काम छ बाहिर आउनुहोस्’ भन्दै बोलाएका थिए। एसपी घिमिरेका अनुसार नगर प्रमुख चौधरी बाहिर निस्कने वित्तिकै आक्रमणकारीले बत्तीको मेनस्विच र ढोका बन्द गरेका थिए। र, उनीहरूले नगर प्रमुख चौधरीको टाउको र खुट्टामा खुकुरीले आक्रमण गर्नुका साथै कम्मरमा गोली प्रहार गरेका थिए।
४ जनाले नगर प्रमुख चौधरीमाथि खुकुरी प्रहार गर्दैगर्दा उनले ‘बचाउ, बचाउ’ भनेर गुहार मागेका थिए। उनको गुहार सुनेर छिमेकीहरू उनको घरतिर आएपछि आक्रमणकारीहरू भागेका थिए।
आक्रमणकारीहरू मोटरसाईकलमा आएका थिए। छिमेकीहरू नगर प्रमुख चौधरीको घरतिर आएको देखेर आक्रमणकारीमध्ये दुई जना एउटा मोटरसाइकलमा भागे भने दुई जना मोटरसाइकल त्यहीँ छोडेर नजिकैको जंगलतिर भागे। प्रहरीले आक्रमणकारीले प्रयोग गरेको से२प ३६७१ नम्बरको सुजुकी मोटरसाइकल सोही स्थानमा बरामद गरेको थियो। प्रहरीका अनुसार सो मोटरसाइकल चोरीको हो। प्रहरीले घटनास्थलबाट गोलीको एक खोका बरामद गरेको थियो।
प्रहरीले बिहीबार घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका नेकपाका ४ कार्यकर्तालाई सार्वजनिक गरेको छ। आक्रमणमा संलग्न भएको आरोपमा प्रहरीले नेकपाको भातृ संगठन राष्ट्रिय युवा जनस्वयंसेवक संगठनका अध्यक्ष कमल क्षेत्री (पवित्र), घोडाघोडी नगर सेक्रेटरी भरत शाह, टीकापुर नगर सेक्रेटरी हृदय बोगटी र धनगढी युवा नगर इन्चार्ज पूर्णप्रसाद खनाललाई पक्राउ गरेको हो।
नेकपाका टीकापुर नगर सेक्रेटरी बोगटीलाई पक्राउ गरेको र उनको बयानका आधारमा अन्य ३ जनालाई पक्राउ गरेको एसपी घिमिरेले पत्रकार सम्मेलनमा बताए। एसपी घिमिरेले गोली र खुकुरी प्रहार गर्ने व्यक्ति अझै पक्राउ भइनसकेको जनाएका छन्। ‘पक्राउ परेका व्यक्तिहरू र घटनास्थल वरपरका मानिसको बयानका आधारमा आक्रमण गर्ने व्यक्तिको पहिचान खुलिसकेको छ,’ उनले भने, 'छिट्टै उनीहरू पनि पक्राउ पर्नेछन्।' एसपी घिमिरेले हाल पक्राउ परेका ४ जना प्रत्यक्ष रूपमा घटनास्थलमा नभए पनि सूचना प्रवाह गर्ने कार्यमा संलग्न रहेको बताएका छन्। उनले अहिलेसम्म आक्रमण योजनामा संलग्न भएका १३ जनाको नाम खुलिसकेको र अन्यको नाम पनि आउन सक्ने बताए।
थप एक पक्राउ
यसैबीच, आक्रमणमा संलग्न भएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढी उपमहानगरपालिका वडा नम्बर १, नैनादेवी चोकबाट बिहीबार विप्लव नेकपाका कार्यकर्ता सागर देउवा (बिक्रान्त) लाई पक्राउ गरेको जनाएको छ।
प्रहरीले पहिले पक्राउ परेका ४ जना विरुद्ध बुधबार ज्यान मार्ने उद्योग अन्तर्गत कैलाली जिल्ला अदालतमा मुद्दा दर्ता गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।