काठमाडौं– नेपाली क्रिकेटले अहिलेसम्मकै ठूलो सफलता हात पारेको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले प्रदान गर्ने एकदिवसिय मान्यता नेपालले बिहीबार प्राप्त गरेको हो।
जिम्बावेमा भइरहेको आइसिसी एकदिवसीय विश्वकप छनोटको प्ले अफमा पिपुवा न्यूगिनीलाई ६ विकेटले पराजित गरेसँगै नेपाल एकदिवसीय मान्यता नजिक पुगेको थियो। अर्को प्लेअफमा नेदरल्यान्ड्सले हङकङलाई ४४ रनले पराजित गरेपछि नेपालको एकदिवसीय मान्यता पक्का भएको हो।
अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गरेको २२ वर्षपछि नेपालले प्राप्त गरेको यो सबैभन्दा ठूलो सफलता हो। सन् २०१० मा डिभिजन–५ मा रहेको नेपालले ८ वर्षको अन्तरमा ठूलो फड्को मारेको हो।
जिम्बावेमा भइरहेको छनोटमा सहभागि एसोसिट ६ मध्ये ४ टिमलाई सन् २०२२ सम्मका लागि एकदिवसीय मान्यता दिने आइसिसीले निर्णय गरेको हो। डब्लुसिएल च्याम्पियनसिपको विजेताले नेदरल्यान्ड्सले स्वत: एकदिवसीय मान्यता पाएको थियो। स्कटल्यान्ड र युएईले सुपर–६ मा स्थान पक्का गर्दै एकदिवसीय मान्यता पक्का गरिसकेका छन्। नेपालले पपुवा न्युगिनीलाई पराजित गर्दै सातौं स्थानको प्ले अफमा स्थान पक्का गरेर एकदिवसीय मान्यता पाएको हो।
एकदिवसीय मान्यता लागू भने छनोट प्रतियोगिता सकिएपछि हुनेछ।
अब नेपालले शनिबार सातौं स्थानका लागि शनिबार नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ।
यता पपुवा न्युगिनी र हङकङले भने एकदिवसीय मान्यता गुमाउनुका साथै डिभिजन–२ मा झरेका छन्। डिभिजन–२ झरेका हङकङ र पपुवा न्युगिनीबीच नवौं स्थानको प्लेअफमा प्रतिस्पर्धा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।