गत शनिबार विशेष कामले चितवन पुगेको थिएँ। श्रीमतीले सोमबार साढे २ बजे अत्तालिँदै फोन गरिन्, ‘यहाँ त एयर बंगला दुर्घटनामा पर्यो। तपाईं प्लेनमा नफर्किनु है!’
म काम विशेषले गाडीबाट चितवन पुगेको थिएँ। तर, मुग्लिन–नारायणघाट खण्डको दुरावस्था हेरेपछि मलाई लाग्यो, गाडीबाट फर्किएर समय किन बर्बाद गर्नु। त्यसैले राति नै श्रीमतीलाई फोन गरेर भनेको थिएँ, ‘प्लेन चढेर आउँछु। गाडीबाट आउँदा ९ घन्टा लाग्ने रहेछ।’
एयर बंगला दुर्घटनापछि श्रीमतीले फोनमा आग्रह गरिन्, ‘बरु सकस भए पनि गाडीबाटै आउनु। काठमाडौंमा यति ठूलो दुर्घटना भएको छ।’
मैले बुद्ध एयरको मंगलबार दिउँसो १२ बजेर १० मिनेटको टिकट ‘कन्फर्म’ गरिसकेको थिएँ। ‘क्यान्सिल’ गर्न मन लागेन। फेरि विमान दुर्घटना भनेको भवितव्य हो भन्ने कुरामा म ढुक्क थिएँ।
मंगलबार विमान चढ्न भरतपुर विमानस्थल पुग्दा बंगलादेश विमान दुर्घटनाको कारणले होला यात्रुहरू त्यति खुलेको देखिँदैन थिए। प्रायः यात्रुहरूमा बंगलादेशी विमान दुर्घटनाको त्रास प्रस्टै देखिन्थ्यो।
यात्रुहरूकै बीचमा म पनि मिसिएँ। प्रायः यात्रुले २–३ दिन अगाडि नै टिकट ‘कन्फर्म’ गरेका रहेछन्। विमानस्थलमै उपस्थित एक युवाले घरमा फोन गर्दै भने, ‘भोलि गाडीबाट आउँदा हुँदैन?’ उनलाई विमान दुर्घटनाले मनोवैज्ञानिक त्रास परेको रहेछ।
उताबाट के उत्तर आयो कुन्नि, उनले मुन्टो हल्लाए। करिब २० वर्षका देखिने यी युवालाई मैले केही समय ‘नोटिस’ पनि गरेको थिएँ। विमान उडानमा ४५ मिनेट ढिलो भयो। यस अवधिमा उनी ६ पल्ट शौचालय गए। बेलाबेला पानी पिउँथे, कहिले कपाल भिजाउँथे।
उनको अधैयर्तामा म पनि चुप लागेर बस्न सकिनँ। तीन पल्ट त म आफैं शौचालय पुगें। विमान उड्नु २० मिनेटअघि मात्र मैले उनीबाट ध्यान हटाएँ। बाहिर निस्किँदा अरु यात्रु पनि केही त्रसित देखिन्थे।
विमानमा केही स्थानीय यात्रु पनि थिए। उनीहरूलाई छोड्न परिवारका सदस्य विमानस्थल आएका थिए। मैले यसअघि यस्तो दृश्य काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थल बाहिर मात्र देखेको थिएँ। कोही आफ्न्त पहिलो पल्ट विदेश जाँदा घरका प्रायः सबै सदस्य त्रिभुवन विमानस्थलमा पुग्ने गर्छन्। यस्तै माहोल यहाँ पनि थियो।
यसको केही समयपछि विमानस्थलबाट सूचना आयो, ‘भरतपुरबाट काठमाडौं जाने बुद्ध एयरको विमान उड्नका लागि तयार छ, कृपया आफ्नो बोर्डिङ पास लिएर आउनु होला।’
यतिबेला विमान चढ्न कसैलाई हतारो थिएन। लाग्थ्यो, सबै मजबुरीले विमान चढ्दै थिए।
२ बजेर ४५ मिनेटमा विमान काठमाडौंका लागि उड्यो। विमानमा पनि सबै चुपचाप थिए।
विमान परिचारिकाबाट उद्घोष भयो, ‘काठमाडौंको उडान अवधि २३ मिनेट हुनेछ।’
विमान उडेको २५ मिनेट बितिसक्दा पनि प्लेन काठमाडौं विमानस्थलमा अवतरण हुन सकेन। यसपछि विमानमा बसेका यात्रुको मुटुको ढ्याङ्ग्रो बढ्न थाल्यो। अझ, ३० मिनेटसम्म प्लेन अवतरण गर्न नसकेपछि सबैले आफ्नो घडी हेर्न थाले।
मेरो सिट छेउमै एक अधबैंसे युवक थिए। मलाई आफ्नो घडीको समय विश्वास लागेन। उनैलाई सोधें, ‘दाइ टाइम त ठिक छ?’ उनी केही बोलेनन्। मलाई लाग्यो, अलि घमण्डी रहेछ। फेरि सोधें, ‘टाइम कति भयो?’
यतिबेला पनि उत्तर आएन।
उनको अनुहार यसो हेरेको, निधारमा चिटचिट पसिना देखियो। थाहा भयो, उनी घमण्डी होइन रहेछन्। डराएका रहेछन्।
उनको अवस्था देखेर मलाई पनि डर लागेर आयो। ११ हजार फिट उचाइमा रहेको विमान एसीयुक्त छँदै थियो। तर पनि डरले सबै असिनपसिन देखिन्थे।
यो त मेरो सानो अनुभव मात्र हो। तर, बंगलादेश विमान दुर्घटनाका कारण ४ वटा जहाज ट्राफिक जामका कारण २ घन्टा होल्डिङमा बस्दा त्यहाँका यात्रुको हालत के भयो होला?
मैले विमान परिचारिकालाई सोधें, ‘विमान अवतरण गर्ने बेला त भयो। किन नउतारेको?’
उनले जवाफ फर्काइन्, ‘काठमाडौं एयरपोर्टमा ट्राफिक जाम छ।’ बल्ल म ढुक्क भएँ। २५ मिनेटका लागि उडेका हामी ४५ मिनेटमा अवतरण गर्यौं। २० मिनेट आकाशमा बढी बस्नुपर्दा हामी सबैको होस उडेको थियो। तल उत्रिएपछि मात्र सबैले राहतको सास फेरेका थिए।
यो घटनापछि मलाई लाग्यो, ‘काठमाडौंको आकाश त्यति सुरक्षित छैन।’ त्रिभुवन विमानस्थलको विकल्प खोज्न ढिलो भइसक्यो। नेपाललाई थप अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता परिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।