काठमाडौं- २००८ सालमा स्थापना भएको सर्वोच्च अदालतले २८औं नेतृत्व पाउँदै छ।
लामो विवादपछि बिहीबार पदबाट राजीनामा दिँदै प्रधानन्यायाधीश गोपाल पराजुली सर्वोच्चाबाट बाहिरिएपछि वरिष्ठ न्यायाधीश दीपकराज जोशीलाई नयाँ प्रधानन्यायाधीशका रुपमा आउने बाटो खुलेको छ। पराजुलीको राजीनामासँगै जोशीले कायममुकामय प्रधानन्यायाधीशको जिम्मेवारी लिइसकेका छन्।
तर, जोशीलाई उक्त पदमा पुग्न संवैधानिक परिषद्बाट सिफारिस भई संसदीय सुनुवाई पार गर्नुपर्ने प्रक्रिया भने बाँकी नै छ। हाल सर्वोच्चमा प्रधानन्यायाधीशका लागि उनीसँगै न्यायाधीशहरु ओमप्रकाश मिश्र र चोलेन्द्र सम्सेर राणा पनि योग्य छन्। तर, हालसम्म वरिष्ठतम् न्यायाधीश नै सर्वोच्चको नेतृत्वमा पुग्ने परम्परा रहेकाले जोशी नै प्रधानन्यायाधीश बन्नेछन् भन्ने अनुमान गर्न सकिन्छ। जोशीपछि राणा सर्वोच्चको नेतृत्व सम्हाल्ने रोलक्रममा छन्।
संवैधानिक परिषद्ले वरिष्ठताका आधारमा उनैलाई प्रधानन्यायाधीश सिफारिस गरेपछि जोशीले १९ महिना २४ दिनसम्म सर्वोच्चको नेतृत्व सम्हाल्नेछन्।
२०११ साल असोज २४ मा जन्मिका जोशीको ६५ वर्षे उमेर हद ०७६ असोज २४ गते सकिन्छ।
संविधानको व्यवस्था हेर्ने हो भने, संवैधानिक परिषद्ले वरिष्ठतम् न्यायाधीशलाई नै प्रधानन्यायाधीश बनाउनुपर्छ भन्ने वाध्यता छैन। तर, अहिलेसम्मको परम्परा वरिष्ठतम् न्यायाधीशलाई नै प्रधानन्यायाधीश बनाउनेछ। राजा त्रिभुवनले भारतको सिकिम्मबाट ल्याएका हरिप्रसाद प्रधान २००८ सालमा नेपालको पहिलो प्रधानन्यायाधीश बनेका थिए। उनीपछि वरिष्ठताका आधारमा प्रधानन्यायाधीश भएका अनिरुदप्रसाद्र सिंहदेखि नै यो परम्परा कायम छ।
वरिष्ठतालाई नमिचिएमा जोशीको अवकाशपछि राणाले प्रधानन्यायाधीश भई सर्वोच्चको नेतृत्व गर्नेछन्। राणाले २०७९ मंसिर २७ सम्म प्रधानन्यायाधीश बन्न पाउनेछन्।
बरियताका आधारमा राणाभन्दा अगाडि रहेका न्यायाधीश ओमप्रकाश मिश्रले भने जोशीको कार्यकालमै अवकाश पाउनेछन्। जोशीभन्दा १० महिना जेष्ठ न्यायाधीश ओमप्रकाश मिश्र सर्वोच्च अदालतमा न्यायाधीशमा जोशीसँगै नियुक्त भए पनि बरियताक्रममा भने पछाडि रहेका थिए।
जोशीको विगत
काठमाडौंको धुम्बाराहीमा जन्मेका जोशीले नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक गरेका हुन्। उनले त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट राजनीति शास्त्रमा एमए अध्ययन पूरा गरेका छन्।
उनी सन् २०१४ मा सर्वोच्च अदालतको स्थायी न्यायाधीशमा नियुक्त भएका थिए। २०४८ कात्तिकमा पुनरावेदन अदालतको न्यायाधीश बनेका जोशी जनकपुरबाट न्यायिक क्षेत्रमा प्रवेश गरेका हुन्। उनी हेटौंडा, इलाम, तुलसीपुर, बुटवल, राजविराज, धनकु्टा र पाटन हुँदै जुम्ला आइपुगेपछि २०६५ मा मुख्य न्यायाधीशमा नियुक्त भएका थिए। मुख्य न्यायाधीशका रुपमा दिपायलबाट सरुवा भई सुर्खेतमा कार्यरत रहेको समयमा उनी २०७१ मा सर्वोच्च अदालतको स्थायी न्यायाधीश भएका थिए।
न्यायाधीश बन्नुपूर्व उनले ११ वर्ष कानुन व्यवसायीका रुपमा वकालत गरेका थिए। जोशी नेपाली कांग्रेस समर्थित डेमोक्रेटिक लयर एसोसिएसनका संस्थापक सचिव हुन्।
जोशीले ७ वर्ष नेपाल ल क्याम्पसमा र दुई वर्ष पृथ्वीनारायण क्याम्पस पोखरामा प्राध्यापनसमेत गरेका थिए। उनले नेपाल ल क्याम्पसमा विधिशास्त्रका प्राध्यापकका रुपमा काम गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।