संगीतकार शम्भुजीत बासकोटा आजबाट ६२ लागेका छन्। नेपाली संगीत क्षेत्रमा धेरै प्रतिभालाई स्थापित गर्न सारथि बनेका बासकोटा अझै पनि संगीत कर्ममा सक्रिय छन्।
बाल्यकालदेखि नै गीत-संगीतसँग नजिक रहेका बासकोटा आफ्नो जन्मदिनमा काठमाडौंको रातोपुलस्थित रकहाउस क्याफेमा भेटिए। जन्मदिनकै दिन एक पवित्र काम गर्न पाएकोमा आफूलाई भाग्यमानी महसुस गरिरहेको बासकोटाले नेपाल लाइभसँगलाई बताए।
पवित्र काम के रहेछ भनेर जान्ने इच्छा राख्दा उनले बताए, ‘आज फिल्मी खबर साप्ताहिकको नवौं वार्षिकोत्सवका अवसरमा कलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लाई वर्ष व्यक्तिको सम्मान प्रदान गर्न पाएँ।’
संगीतकार बासकोटाले नेपाली कलाकारितामा उदाएका धुर्मुस र सुन्तलीलाई वर्ष व्यक्ति मात्र नभई शताब्दी पुरुष तथा महिला नै घोषणा गर्नुपर्ने तर्क गरे। उनले यस्ता व्यक्तिलाई जन्मदिनको दिनमा सम्मान गर्न पाएकोले आफ्नो जन्मदिन नै खास बनेको बताए।
संगीतकार बासकोटाले भने, ‘मलाई जन्म दिएको दिन मेरा बा–आमा पक्कै खुसी हुनुभएको थियो। बा-आमाका लागि जति विशेष बनेको थियो त्यो दिन, त्यस्तै विशेष दिन आज म अनुभव गर्दै छु। जुन दिनमा मैले राष्ट्रप्रति समर्पित २ कलाकारलाई सम्मान गर्न पाएँ।’
त्यसपछि उनले अमेरिकामा बस्दै आएकी नातिनी जारालाई सम्झिए, जसले आज पहिलो पटक उनलाई जन्मदिनको शुभेच्छा प्रकट गरेकी थिइन्। उनले आज आफ्नो दिन पूर्णरुपमा परिवार र कला क्षेत्रका साथीहरुसँगै बिताउने बताए।
बासकोटा आजै आफ्नो छोरा सौर्यले बनाउन लागेको फिल्म ‘चौका दाउ’को निर्माण घोषणामा समेत सरिक हुँदै छन्।
२०२८ सालमा रेडियो नेपालमा स्वरपरिक्षा उत्तीर्ण गरेका बासकोटाले सुरुमा संगीत संयोजन (एरेन्ज)बाट यो क्षेत्रमा प्रवेश गरेको खुलाए। २०३० बाट उनले गीतहरुको एरेन्ज गर्न सुरु गरे। त्यसको २ वर्षपछि गायनमा उनको प्रवेश भयो। हालसम्म ३ सय ५८ वटा फिल्ममा संगीत भरेको उनी सुनाउँछन्। नेपाली पार्श्व गायनमा उनको उपस्थितिले फिल्मी क्षेत्रको संगीतलाई बलियो बनाएको मान्न सकिन्छ।
लोक, आधुनिक र अन्य गरेर १ हजार ८ सय हाराहारी गीतमा आफूले काम गरिसकेको बासकोटा बताउँछन्।
'तिमीले भनेका सारा देव छोएर', 'पर्खि बसेँ आउँला भनी', 'मन्दिरमा छ कि मूर्तिमा माया', 'आँखैमा कसैको तस्बिर बसेछ' जस्ता कालजयी गीतमा समेत उनले संगीत भरेका छन्, जसमा स्वरसम्राट् नारायण गोपालले आवाज दिएका छन्। नारायण गोपालका साथै सो समयका अधिकांश सांगीतिक हस्तीसँग सहकार्य गरेका छन् बासकोटाले।
शम्भुजीत बासकोटाको नेपाली संगीत क्षेत्रमा आज पनि सक्रियता घटेको छैन। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति समेत रहेका बासकोटा यतिबेला भने संगीत क्षेत्रको विकास गर्ने व्यवस्थापकीय भूमिकामा समय खर्चिरहेका छन्।
बासकोटा अबको दुई महिना अमेरिकाका विभिन्न शहरमा सांगीतिक कार्यक्रममा व्यस्त हुनेछन्। त्यसका लागि उनी शुक्रबार अमेरिका जाँदै छन्।
उनले भने, ‘संगीत मेरो नसा–नसामा बगेको छ। जीवन रहेसम्म संगीतमै रमाइरहनेछु।’
लामो कालखण्ड नेपाली सांगीतिक क्षेत्रमा क्रियाशील बासकोटाको संगीत यात्रा जारी रहोस्, हाम्रो तर्फबाट पनि उनलाई जन्मदिनको शुभकामना!
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।