सुर्खेत– कर्णाली प्रदेशसभाको पाँच वटा बैठक सम्पन्न भइसक्दा समेत संसद् भवनले भने पूर्णता पाउन सकेको छैन। अस्थायी संसद् भवनको रुपमा प्रयोग गरिएको क्षेत्रीय सिँचाइ डिभिजन कार्यालयबाटै अहिलेसम्म संसदको काम–कारबाही सञ्चालन हुँदै आएको छ।
गत माघ २१ गते बसेको पहिलो बैठकयता प्रदेशसभाका विभिन्न पाँच वटा बैठक भइसकेका छन्। मुख्यमन्त्री, सभामुख लगायत प्रदेशका पदाधिकारी निर्वाचित गर्नेदेखि प्रदेशको नाम र राजधानीको टुंगो लगाउने जस्ता महत्वपूर्ण निर्णय अस्थायी संसद् भवनबाट नै भए। स्थायी संसद् भवनको लागि प्रयोग गर्ने भनिएको शैक्षिक तालिम केन्द्रको भवन भने अझै अधुरै छ।
मर्मत र सुधार लगायतका काममा ढिलाई हुँदा संसद् भवन सञ्चालनमा आउन नसकेको हो। सुरुवातमा प्रदेशसभाका सांसदहरुको सपथ ग्रहण कार्यक्रम नै शैक्षिक तालिम केन्द्रमा आयोजना गर्ने गरी तयारी गरिएको थियो। तर, उक्त सपथ ग्रहण कार्यक्रम अन्तिममा आएर जिल्ला समन्व्य समितिको सभाहलमा राखियो। त्यसपछि पहिलो संसद् बैठक शैक्षिक तालिम केन्द्रमा नै राख्नेगरी तयारी थालिए पनि त्यसले पूर्णता पाउन सकेन।
अन्ततः संसद् बैठकका लागि आवश्यक तयारी नपुगेको भन्दै सिँचाइ डिभिजन कार्यालयलाई अस्थायी संसद् भवनको रुपमा प्रयोगमा ल्याइएको छ।
भवन मर्मतका लागि टेन्डर आह्वान हुँदै
शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय सुर्खेतले भर्खरै मात्र उक्त भवन मर्मत–सम्भारका लागि टेन्डर आह्वान गर्ने तयारी गरेको छ। अबको एक साताभित्रै टेन्डरको प्रक्रिया पूरा गरेर भवन निर्माण तथा मर्मत–सुधारको काम अघि बढ्ने कार्यालयका इञ्जिनियर झंकबहादुर थापाले जानकारी दिए।
संसद् भवनका लागि आवश्यक सबै काम सम्पन्न गर्ने गरी एक करोड बराबरको टेन्डर आह्वान गर्ने तयारी भइरहेको उनले बताए।
‘पर्खाल मर्मतदेखि बिजुली, कुर्ची, टेबल लगायत सबै काम एकैपटक गर्नेगरी टेन्डर आह्वान हुँदै छ’, थापाले भने, ‘जतिसक्दो छिटो सम्पन्न गर्नेगरी काम गर्दै छौं।’
उक्त बजेटबाटै संसद् भवनको मर्मत र सजावटको काम सम्पन्न हुने जनाइएको छ। अन्य पूर्वाधारका साथै ‘इको साउन्ड’ व्यवस्थापनका लागि समय लाग्ने कार्यालयले जनाएको छ।
शैक्षिक तालिम केन्द्रको एउटै कम्पाउन्डभित्र धेरै भवन छन्। संसदीय दलका कार्यालय र सचिवालयका लागि पनि आवश्यक पर्ने थप भवन हुनुका साथै सुरक्षाको हिसाबले पनि तालिम केन्द्रलाई नै उपयुक्त भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।