एजेन्सी– बलिउड अभिनेत्री आलिया भट्ट आजबाट २५ वर्ष लागेकी छन्।
चर्चित फिल्म निर्माता महेश भट्ट र अभिनेत्री सोनी राजदानकी छोरी उनी ६ वर्षकै उमेरमा अभिनयको संसारमा प्रवेश गरेकी थिइन्। हिरोइनका रुपमा बलिउडमा पाइला राखेको छोटै समयमा उनी स्थापित कलाकार बन्न सफल भएकी छन्।
आलियाले सन् २०१२ मा ‘स्टुडेन्ट अफ द इयर’बाट अभिनेत्रीको रुपमा बलिउडमा डेब्यू गरेकी हुन्। फिल्म व्यावसायिक रुपमा सफल भएको थियो। यसपछि सन् २०१४ मा उनले इम्तियाज अलीको ‘हाइवे’ फिल्ममा अभिनय गर्ने मौका पाइन्। सोही वर्ष उनको ‘टु स्टेट’ र ‘हम्टी शर्माकी दुल्हनियाँ’ फिल्म रिलिज भए। दुवै फिल्म हिट भए।
सन् २०१५ मा अभिनय गरेको 'सानदार' भने बक्स अफिसमा नराम्ररी पछारियो।
सन् २०१६ मा ‘कपुर एन्ड सन्स’ मा आलियाको भूमिकालाई दर्शकले रुचाएका थिए। सोही वर्ष ‘उडता पञ्जाव’मा गरेको अभिनयलाई त समीक्षकहरुले पनि तारिफ गरेका थिए। एक अन्तर्वार्तामा आलियाले उक्त फिल्ममा धेरै मिहिनेत गरेको भन्दै महिनौं बिहानदेखि साँझसम्म खटिएको बताएकी छन्।
उक्त फिल्मपछि उनले शाहरुख खानसँग ‘डियर जिन्दगी’मा अभिनय गरिन्। सन् २०१७ मा रिलिज भएको आलियाको ‘बद्रीनाथकी दुल्हनिया’ सुपरहिट भयो।
आलियाको यस वर्ष ३ वटा फिल्म आउँदै छन्। फिल्म ‘राजी’को सुटिङ सकिएको छ भने फिल्म ‘गुली बाँय’ र ‘बह्मास्त्र’को सुटिङ चलिरहेको छ। आलिया भारतको फेसन दुनियाँमा पनि हिट छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।