काठमाडौं- कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले न्यायालयभित्रको अराजकता र विकृति सुधार गरेर अगाडि बढ्ने बताएका छन्।
बिहीबार कामु प्रधानन्यायाधीशका रुपमा पदभार सम्हालेपछि सर्वोच्च अदालत परिसरमा पत्रकारसँग कुराकानी गर्दै जोशीले न्यायालयभित्रका गलत प्रवृत्तिको अन्त्य गरी यसको गरिमा कायम राख्ने उल्लेख गरे।
'न्यायालयभित्र देखिने विकृति र अराजकताले यसको गरिमा खस्किए जस्तो देखिएको छ', कामु प्रधानन्यायाधीश जोशीले भने, 'अब त्यस्ता अराजकताले न्यायालयमा ठाउँ पाउने छैनन्।'
उनले आफ्नो मुद्दा आफैं हेर्ने, आफैं निर्णय जस्ता अदालतका विकृति अन्त्य हुने बताउँदै न्यायालयलाई सबैको पहुँचमा ल्याउने प्रतिबद्धता व्यक्त गरे।
न्याय परिषदले बुधबार प्रधानन्यायाधीश गोपाल पराजुलीलाई अवकाश पत्र दिएपछि सर्वोच्च प्रशासनले वरिष्ठतम न्यायाधीश जोशीलाई कामु प्रधानन्यायाधीशको जिम्मेवारी दिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।