काठमाडौं- ट्राभल नेपाल बस सर्भिस प्रालिले मध्यवर्गीय पर्यटकलाई लक्षित गरी दुई वटा बस सञ्चालन गर्ने भएको छ।
आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन अत्याधुनिक सेवा र सुविधासहित बैसाखमा चार वटा बस सञ्चालन गरेको उक्त कम्पनीले शुक्रबारदेखि दुई बस सञ्चालनमा ल्याउन लागेको हो।
प्रालिका अध्यक्ष प्रह्लाद लोहनीले मध्यमवर्गीय पर्यटकलाई लक्षित गरेर काठमाडौँदेखि पोखरासम्म उक्त सेवा प्रदान गर्न लागेको जानकारी दिए।
'पर्यटक बसले हाल बिहान ७ बजे पर्यटकलाई कान्तिपथबाट बस सेवा दिइरहेको छ, हामीले ८ बजेदेखि सेवा दिनका लागि उक्त बस सञ्चालन गर्न लागेका हौं', अध्यक्ष लोहनीले भने।
ट्राभल नेपालमार्फत हाल सात वटा बस सञ्चालनमा रहेका छन्। काठमाडौंबाट पोखरासम्म सेवा दिएको प्रालिले आगामी दिनमा सौराहा र जनकपुरसम्म सेवा दिने अध्यक्ष लोहनीको भनाइ छ।
जम्मा २८ सिट क्षमता भएको बसमा ‘नेक रेष्ट’ सिट र शौचालयसहितको व्यवस्था छ। उक्त बसमा काठमाडौंबाट पोखरा जानका लागि खानासहित एक हजार ५ सय रुपैयाँ लाग्ने प्रालिले जनाएको छ। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।