काठमाडौं- प्रधानन्यायाधीश गोपाल पराजुलीको उमेर विवादमा न्याय परिषद्ले पदवहाली भएको १० महिनापछि निर्णय गर्दै गत साउन २१ पछिको अवधि अवैधानिक भएको भनेको छ।
न्याय परिषद्का सचिव नृपध्वज निरौलाले बुधबार न्यायाधीश पराजुलीको अवकास उमेर ६५ वर्ष साउन २१ मै पूरा भएको भन्दै 'हाल पदमा कायम नरहेको' जानकारी न्याय परिषद्का अन्य सदस्य, राष्ट्रपति लगायतलाई गराएको छ।
परिषद्ले यसरी निर्णय गर्ने आधार परीक्षा नियन्त्रण कार्यालय (पनिका) सानोठिमीले लेखेको पत्रलाई मानेको छ। सानोठिमीले बुधबार नै परिषद्लाई लेखेको पत्रमा पराजुलीको उमेर २०११ वैशाख १३ लाई उल्लेख गरिएको छ।
२०२९ सालमा नेपाल राष्ट्रिय विद्यापीठ वीरगञ्ज, चितवन केन्द्रबाट प्रवेशिका परिक्षा दिएको मूल प्रमाणपत्रमा यस्तो मिति रहेको पनिकाले उल्लेख गरेको छ। पनिकाको पत्र अनुसार पराजुलीको जन्ममिति नयाँ देखिएको छ। उक्त मिति अनुसार हेर्दा हाल उनी ६३ वर्षका हुन्छन्। यसअघि परिषद्ले नै दोस्रो पटक प्रधानन्यायाधीश पराजुलीको जन्म मिति २०१० वैशाख १६ कायम गरेको थियो। तर पहिलो पटक पूर्व प्रधानन्यायाधीश शुशीला कार्की अध्यक्ष भएको बेला न्याय परिषद्ले पराजुलीको उमेर २००९ साउन २१ लाई कायम गरिदिएको थियो।
किन यस्तो पत्र लेख्यो परिषद्ले?
पराजुलीको उमेर तीन थरि देखिएपछि न्याय परिषद्का सचिव निरौलाले ऐनको दफा ३१ को उपदफा ७ बमोजिम निर्णय गर्योे। परिषद्को ऐन ३१ को उपदफा ७ मा न्यायाधीशको उमेर सम्बन्धी निर्णय गर्ने व्यवस्था छ।
परिषद्ले दफा ३१ को उपदफा ७ को (६) मा उल्लेख भएको व्यवस्थालाई आधार मानेर पराजुलीले साउनमै अवकाश पाएको पत्र लेखेको देखिन्छ। उक्त दफामा छुट्टाछुट्टै प्रमाणपत्रमा उल्लेख भएको जन्म मितिको अन्तर १ वर्षभन्दा बढी देखिएमा वर्ष मात्र उल्लेख भएको आधारमा दफा ३१ को उपदफा ३ बमोजिम जन्म मिति कायम गरिने उल्लेख छ।
दफा ३१ को उपदफा ३ मा अवकाश सम्बन्धी जानकारी गराउने प्रयोजनका लागि न्याय परिषद्ले न्यायाधीशको उमेर गणना गर्दा जुन उमेरले पहिला अवकाश पाउने हुन्छ सोही गणना हुने उल्लेख छ।
सोही उपदफाको (क) मा निजले पेश गरेको शिक्षण संस्थाको प्रमाणपत्रमा किटिएको जन्मदिन वा वर्षबाट हुन आउने उमेर कायम हुने उल्लेख छ। यसको आधारमा हेर्ने हो भने पराजुलीको उमेर २०११ वैशाख १३ हुनुपर्ने देखिन्छ। पनिकाले पनि सोही जन्ममितिलाई कायम गरेर न्याय परिषद्मा पत्र पठाएको हो।
उक्त दफाको (ख) ले भने नागरिकताको प्रमाणपत्रमा किटिएको जन्म मिति वा वर्षबाट हुन आउने उमेरलाई गणना गर्ने उल्लेख गरेको छ। यसका आधारमा पराजुलीको जन्म मिति २००९ साउन २१ नै हुन आउँछ।
पराजुलीले जिल्ला प्रशासन कार्यालय तनहुँबाट २०३० साउन २१ मा नागरिकता लिएका थिए। नागरिकताको प्रमाणपत्रमा ‘२१ वर्ष पुगेको’ उल्लेख छ। पराजुलीले नागरिकता लिँदा २१ वर्ष पुगेको भन्नुको अर्थ उनको जन्म २००९ साउन २१ भएको व्याख्या परिषद्ले गरेको छ।
प्रकरणको शुरुवात
प्रधानन्यायाधीश पराजुलीको उमेर विवाद सञ्चार माध्यमले विगत केही वर्षदेखि उठाएका थिए। तर, उक्त विषयले अदालत र न्याय परिषद्मा प्रवेश पाएको थिएन। तत्कालीन प्रधानन्यायाधीश शुशीला कार्कीले अवकाश पाउने समयमा मात्र पराजुलीको जन्म मिति विवाद न्याय परिषद्मा पुगेको थियो। कार्कीले अवकाश पाउनुभन्दा केही समय पहिले पराजुलीले नै 'आफ्नो प्रस्ट उमेर खुलेको नागरिकता अनुसार उमेर कायम गर्न' परिषद्मा निवेदन दिएसँगै जन्म मितिको विवाद सुरु भयो।
२०७३ पुस १ मा परिषद्बाट कार्कीले उनको उमेर २००९ साउन २१ कायम गरिदिएकी थिइन्। जबकि पराजुलीले जन्म मिति प्रस्ट खुल्ने भनी २०१० साल वैशाख १६ को जन्म मिति उल्लेख भएको नागरिकताको प्रतिलिपि पेश गरेका थिए। तर, न्याय परिषद्ले प्रतिलिपि नागरिकता अनुसार सच्याउन नमिल्ने भन्दै पराजुलीको उमेर २००९ साल नै कायम गरिदिएको थियो।
कार्कीले अवकाश पाए लगत्तै पराजुलीको जन्म मिति कायम गर्ने विषयले न्याय परिषद्मा पुनः स्थान पायो। किनभने, कार्कीको अवसकासँगै पराजुली कायममुकायम प्रधानन्यायाधीशसँगै न्याय परिषद्को अध्यक्षको भूमिकामा पुगेका थिए। आफू कामयमुकायम प्रधानन्यायाधीश हुदाँ उनले परिषद्बाट आफ्नो जन्म मिति नागरिकताको प्रतिलिपि अनुसार २०१० वैशाख १६ कायम गराएका थिए। सोही मिति अनुसार उनले प्रधानन्यायाधीशको जिम्मेवारी पनि सम्हाले र वैशाख १६ सम्म पदावधि कायम रहेको थियो।
पराजुलीको जन्म मितिको विवाद डा गोविन्द केसीविरुद्ध दायर भएको अदालतको अवहेलना मुद्दासँगै फेरि उठ्यो। पुस २४ मा डा केसीले प्रधानन्यायाधीश विरुद्ध अनसन थालेपछि उनलाई सोही दिन अवहेलना मुद्दामा पक्राउ गरिएको थियो। केसीलाई पुस २६ मा अदालतको संयुक्त इजलासमा पेस गरिँदा डा केसीले प्रधानन्यायाधीशको जन्म मितिको विवाद उठाएका थिए। त्यसपछि न्यायाधीश पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले प्रधानन्यायाधीश पराजुलीको शैक्षिक प्रमाणपत्र र नागरिकता पनि झिकाउने आदेश दिएको थियो।
उक्त आदेशपछि डा केसी साधारण तारखेमा रिहा भएका थिए। लगत्तै डा केसीले जिल्ला प्रशासन कार्यालय तनहुँ, काठमाडौं र न्याय परिषद्मा पराजुलीको शैक्षिक प्रमाणपत्र माग्दै सूचनाको हक सम्बन्धी निवेदन दर्ता गराएका थिए। डा केसीले प्रधानन्यायाधीश पराजुलीको सचिवालयमा समेत निवेदन दर्ता गराएका थिए।
उक्त निवेदनका आधारमा न्याय परिषद्ले परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीलाई पत्र लेख्यो। पराजुलीको 'सक्कली शैक्षिक प्रमाणपत्र उपलब्ध गराई दिनू' भनी न्याय परिषद्ले मंगलबार परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीलाई पत्र लेखेको थियो।
पनिकाले न्याय परिषद्को पत्रको बुधबार जवाफ लेख्दै पराजुलीको शैक्षिक प्रमाणपत्रमा उल्लेख भएको भन्दै नयाँ जन्म मिति २०११ वैशाख १३ उल्लेख गरेर पत्र पठाएको थियो। सोही पत्रमा उल्लेख भएको जन्म मितिलाई आधार मान्दै न्याय परिषद्का सचिव नृपध्वज निरौलाले परिषद्को ऐनको दफा ३१ को उपदफा ७ बमोजिम प्रधानन्यायाधीश पराजुलीले पहिला अवकास पाउने उमेर कायम हुने व्यवस्था अनुसार साउन २१ मै अवकास पाएको र हाल पदमा नरहेको भनी पत्र पठाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।