राजविराज- राजविराज नगरपालिका ७ स्थित गुदरी हटियामा शनिबार आगलागी भयो। राति अढाइ बजे नौसाद सु सेन्टरमा भएको आगलागी ५० लाखभन्दा बढीको समानमा क्षति पुग्यो। चारतले घरमा लागेको आगो निभाउन सिरहाको लहान, सुनसरीको इनरुवा र सप्तरीको राजविराज तथा शम्भुनाथ नगरपालिकाका ४ वटा दमकल, स्थानीयवासी र सुरक्षाकर्मीलाई साढे ३ घन्टा लाग्यो। आगो नियन्त्रणका क्रममा राजविराज नगरपालिकाका फायर म्यान धर्मेन्द्रकुमार यादव घाइते भए।
रिसइबीका कारण परिवारभित्रकाले नै आगो लगाइदिएको पीडितले आरोप लगाएका छन्। तर, कारण नखुलेपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ। प्रदेश २ का भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले पनि पीडितलाई सान्त्वना दिँदै घटनाको यथार्थ छानबिन हुने र क्षतिपूर्तिका लागि पहल गर्ने प्रतिबद्धता जनाए।
यसको केही दिनअघि मात्रै विष्णुपुर गाउँपालिका १ खुरहुरीयाका विन्देश्वर यादव, हेवन यादव लगायतको घरमा आगलागी भयो। भैँसी, गोरु, बाख्रा नगद र सुन–चाँदीका गहनासमेत जलेर २० लाखभन्दा बढीको क्षति भयो। पीडितको अहिले विचल्ली छ।
पुस ८ गते बलान–बिहुल गाउँपालिका २ का राजीया यादवको घरमा आगलागी हुँदा ५ थान पशु चौपाया सहित १० लाख बढीको क्षति भयो। आगो नियन्त्रणका क्रममा राजिया र उनकी बुहारी बबिता घाइते भए।
यी, सप्तरीमा हुने शृंखलाबद्ध आगलागीका प्रतिनिधि घटना हुन्। चालु आर्थिक वर्षमा मात्रै सप्तरीमा ६२ परिवारका घर आगलागीमा परेका छन्। क्षतिको यकिन तथ्यांक नभए पनि करोडौं मुल्य बराबरको क्षति भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।
हावाहुरीको मौसम सुरु हुनासाथ सप्तरीमा बर्सेनि आगलागीका कारण सयौं परिवार घरविहीन हुने गरेका छन् भने करोडौंको धनमाल क्षति हुने गरेको छ। गत वर्ष पनि ३ दर्जनभन्दा बढी आगलागीका घटनामा १० करोडभन्दा बढीको क्षति भएको थियो। आव ०७२/०७३ मा २३६ घरमा आगलागी हुँदा १ जनाको मृत्यु र ४ करोड ६६ लाख ४९ हजार ७६६ बराबरको क्षति भएको थियो। घटनामा ३८ पशु चौपाया मरेका थिए।
आगलागीमा सर्वस्व गुमाएर आहत भएका परिवारलाई जिल्ला विपद् व्यवस्थापन समिति, नेपाल रेडक्रस सोसाइटी लगायतका विभिन्न संघसंस्थाले राहत वितरण गर्ने गरेका छन्। तर, ती राहत सामग्री पीडितहरुका लागि ‘हात्तीको मुखमा जिरा’ जस्तै हुने गरेको छ। ‘आँखैअगाडि आफ्नो लाखौंको समान खरानी भएको टुलुटुलु हेरेर बस्नुपर्छ,’ पीडितहरु भन्छन्, ‘तर, राज्यका निकाय भने च्युरा, मुरी, पाल र एकदुई हजार दिएर दायित्व पूरा भएको ठान्ने परम्परा छ।’
क्षति बढी हुने कारण
सामान्य असावधानी र मौसम अनुसार सचेत हुन नसक्दा सप्तरीमा हरेक वर्ष आगलागीका घटना दोहोरीने गरेको छ। लामखुट्टे धपाउन बालेको घुर, ग्यास, विद्युत लगायतका कारण आगलागी हुने गरे पनि अधिकांश घटना हावाहुरीका बेला असावधानीपूर्ण आगोको प्रयोगले हुने गरेको पाइएको छ।
आगलागीपछि समयमा नियन्त्रणको पहल हुन नसक्दा क्षति बढी हुने गरेको छ। सीमित दमकल र जीर्ण बाटोका कारण घटनास्थलमा पुग्नै समय लाग्ने र पुगिसकेपछि पनि पानीको अभावमा नियन्त्रणको काम सन्तोषजनक हुन सकिरहेको छैन। बाटो अतिक्रमण गरी बनाइएका घर र गोठका कारण पनि दमकल पुग्न नसक्दा आगो नियन्त्रणमा समस्या हुने र क्षति बढी हुने गरेको बोदेवरसाईन नगरपालिका ९ सिम्रहाका नरेन्द्रनारायण साहु बताउँछन्। ‘आगो नियन्त्रण गर्न बोलाइएको दमकल कहिलेकाहीँ बाटो नपाएर घटनास्थल पुग्नै सक्दैन,’ उनी भन्छन्, ‘दमकलका कर्मचारी बाल्टी वोकेर कुद्नुपर्ने अवस्था छ।’
‘ग्रामीण क्षेत्रमा आगलागीबाट बढी क्षति हुनुको प्रमुख कारण एकपछि अर्को जोडिएका लहरेघर पनि हुन्,’ उनी भन्छन्, ‘एउटा घरमा आगो लागेपछि गाउँ नै नसकिएसम्म नियन्त्रण गर्नै सकिन्न।’ यसैका कारण हालसम्म स्वर्णपट्टि टोल चारपटक पूरै जलिसकेको र अकल्पनीय क्षति बेहोर्नुपरेको साहु बताउँछन्।
दमकललाई भ्याइनभ्याई
दिनहुँ आगलागीको घटना हुन थालेपछि राजविराज नगरपालिकासँग रहेको एक मात्र वारुणयन्त्रलाई धपेडी सुरु भएको छ। हुन त राजविराज नगरपलिकासँग अन्य २ वटा दमकल पनि छन्, तर ५ वर्षदेखि मर्मत नहुँदा बिग्रेर ग्यारेजमा थन्किएको दमकल इन्चार्ज उमेश यादवले बताए।
‘सञ्चालनमा रहेको एउटा वारुणयन्त्र पनि ग्रामीण क्षेत्रमा पुग्न सक्ने अवस्थाको छैन,’ यादव भन्छन्, ‘दमकल अति नै होचो छ, ग्रामीण क्षेत्रको जीर्ण बाटो भएर घटनास्थलसम्म पुग्न सक्दैन।’ दमकल किन्दै ध्यान नदिएका कारण खेतबारी र आली भएर जानुपर्ने अवस्था आयो भने सडकमा बसेर गाउँ खरानी भएको हेर्नुबाहेक अर्को विकल्प नभएको उनले गुनासो गरे।
‘कुनैकुनै बेला त एकै पटक ४/५ ठाउँवाट आगो लाग्यो भन्दै खबर आउँछ,’ यादवले थपे, ‘अन्यौल हुन्छ, तर घटनाको प्रकृति हेरेर प्राथमिकता निर्धारण गर्ने गरेका छौं।’
यसवर्षदेखि शम्भुनाथ र हनुमाननगर कंकालिनी नगरपालिकाले पनि दमकल खरिद गरेकाले केही सहज हुने उनी बताउँछन्।
पानीको स्रोत छैन
आगलागीका कारण दमकललाई पानीको अभाव हुने गरेको छ। गाउँमा प्रशस्त पोखरी भए पनि आगलागी हुँदा पानी प्रयोग गर्न बन्देज लगाइने गरेको राजविराज नगरपालिकाका दमकल इन्चार्ज उमेश यादव बताउँछन्।
‘पोखरीमा पानी कम भएपछि अक्सिजनको कमी हुने र माछा मर्ने भन्दै ठेकेदारले पानी भर्नै दिदैनन्,’ उनले भने, ‘यस्तो भएपछि कसरी आगो निभाउनु?’ आगलागीमा तत्काल प्रयोग गर्नुपर्ने दमकल पानी खोज्न घुम्दाघुम्दै आधा गाउँ डढ्ने गरेको उनले गुनासो गरे।
आगलागीको बेला सहज रुपमा प्रयोग गर्न सक्ने गरी स्थानीय तहले आ–आफनो क्षेत्रमा पानीको स्रोत तयार गर्न नसकेका आगलागी नियन्त्रणमा अझ समस्या आउन सक्ने उनको अनुमान छ। आगलागीका बेला पनि मान्छेले व्यक्तिगत स्वार्थ मात्रै हेर्ने गरेको भन्दै उनले थपे, ‘२/४ वर्षअघिसम्म दमकलको साइरन बजेपछि जस्तोसुकै अवस्थामा पनि बाटो खाली हुन्थ्यो। तर अहिले ट्राफिक जाम भएर राजविराजबाट बाहिर निस्कनै १५ मिनेट लाग्छ।’
पूर्वतयारीको अवस्था
गत वर्षायामको बाढीले सप्तरीमा मात्रै ५ जनाको ज्यान लियो, डेढ अर्बभन्दा बढिको क्षति भयो। बाढीको यो तनाव सकिन नपाउँदै आगलागीका घटना सुरु भएपछि सप्तरीवासी त्रसित छन्। यसै अवस्थालाई मध्यनजर गरी फागुन २२ गते जिल्ला विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ।
समितका संयोजक तथा प्रमुख जिल्ला अधिकारी भागीथ पाण्डेयको अध्यक्षतामा बसेको बैठकले आगलागीका घटना हुन नदिन, भइहाले क्षति कम गर्ने उपाय अवलम्बन गर्न र उद्धार तथा राहतमा जुट्न पूर्वतयारी गर्ने निर्णय गरेको छ।
बैठकले स्थानीय तह, सरकारी निकाय, सुरक्षा निकाय, रेडक्रम, जिल्ला वन कार्यालय र विपदको क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थालाई आ–आफनो क्षेत्रमा आगलागी सम्बन्धि चेतनामूलक कार्यक्रम सञ्चालन गर्न निर्देशन गरेको छ भने स्थानीय एफएम तथा पत्रपत्रिकामा चेतनामूलक सामग्री प्रसारण गर्ने पनि निर्णय भएको प्रजिअ पाण्डेयले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।