जेनेभा– पछिल्लो एक वर्षमा भेनेजुयलाबाट भागेर विभिन्न मुलुक पुगी आफुहरूलाई शरणार्थीको रूपमा ग्रहण गरिदिन करिब एक लाख जनाले निवेदन दिएका संयुक्त राष्ट्रसंघले जनाएको छ।
भेनेजुयलाबाट पलायन भई विश्वका विभिन्न क्षेत्रमा पुग्ने नागरिकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो।। राष्ट्रसंघको शरणार्थी मामिला हेर्ने निकाय यूएनएचसिआरका अनुसार सन् २०१४ को तुलनामा त्यसपछिका दिनमा शरणार्थीको स्थान खोज्दै विदेश भौतारिने भेनेजुयालीको सङ्ख्यामा २ हजार प्रतिशतले वृद्धि भएको छ। यसमा पनि पछिल्ला १४ महिनामा उक्त सङ्ख्यामा नाटकीय रूपमा वृद्धि भएको छ।
भेनेजुयलामा पछिल्ला केही महिनायता बढ्दो आर्थिक तथा राजनीतिक सङ्कटका कारण यूएनएचसीआरले भेनेजुयलाको वरपरका आठ मुलुकमा लागु हुनेगरी क्षेत्रीय उद्धार योजना ल्याएको यूएनएचसीआरका प्रवक्ता आइकातारिना कितिदीले बताए।
‘भेनेजुयलामा जारी राजनीतिक सङ्कटका कारण विदेशिएका भेनेजुयाली नागरिक स्वदेश फर्किन नमान्ने गरेका पाइएको छ।’, उनले भने। भेनेजुयालाको राजनीतिको प्रत्यक्ष प्रभाव ब्राजिल र त्यो पनि बोआभिष्टा शहर वरपर रहेको उनको भनाई छ।
प्रवक्ता कितिदीका अनुसार उक्त क्षेत्रमा करिब ४० हजार मानिसले शरण लिई बसेका छन्। सो ठाउँमा रहेका सयौँ भेनेजुयाली नागरिक खुला आकाशमा रातदिन बिताउँदै आएका छन्। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।