वासिङटन डिसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनलाई पदबाट हटाइएको घोषणा गरेका छन्।
राष्ट्रपति ट्रम्पले अमेरिकी कुटनीतिज्ञ तथा विदेश मन्त्रीका रूपमा टिलरसनले गरेको कार्यका लागि धन्यवाद दिँदै उनको स्थानमा अमेरिकी केन्द्रीय गुप्तचर निकाय(सिआइए)का प्रमुख माइक पोम्पेओलाई नियुक्त गरिने ट्वीटर सन्देशमार्फत जानकारी गराएका छन्।
‘विदेशमन्त्रीका रूपमा गरेको योगदानका लागि रेक्स टिलर्सनलाई धन्यवाद,’ ट्रम्पले आफ्नो ट्वीटर पेजमा लेखेका छन्।
सिआइए प्रमुखको जिम्मेवारी भने गिना हास्पेललाई दिइएको राष्ट्रपति ट्रम्पले सन्देशमा उल्लेख गरेका छन्। उनी अमेरिकी इतिहासमा सिआइए प्रमुखको जिम्मेवारी सम्हाल्ने पहिलो महिला बनेकी छिन्।
टिलसरसनसँग काम गर्ने सिलसिलामा वैचारिक भिन्नता देखिएकोले उनलाई विदेशमन्त्री बनाइराख्न सम्भव नभएको अमेरिकी राष्ट्रपति ट्रम्पले सञ्चारकर्मीसँग बताए।
ट्रम्पले भने,‘इरान आणविक सम्झौता मेरो विचारमा सकारात्मक छैन तर टिलरसनले यसलाई ठीक भन्नुहुन्छ। कि सम्झौता भङ्ग गर्नुपर्ने कि त अन्य केही समाधान सोच्नुपर्ने मेरो विचार हो। तर उहाँले केही फरक सोच्नुभयो। त्यसैले हामीले सहकार्य गर्न सकेनौँ।’ रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।