काठमाडौं– आइसिसी एकदिवसीय विश्वकप छनोटका लागि १० देशका १० टिम एउटै लक्ष्यका साथ दुई साताअघि जिम्बावे पुगेका थिए। १० टिमकै लक्ष्य थियो आगामी वर्ष हुने एकदिवसीय विश्वकप खेल्ने। समूह चरणको समाप्तीसँगै ६ टिमको अझै लक्ष्यमा छन् भने ४ टिम बाहिरिएका छन्।
समूह 'ए' बाट वेस्ट इन्डिज, आयरल्यान्ड र युएई सुपर ६ पुगेका छन भने नेदरल्यान्ड्स र पपुवा न्युगिनी बाहिरिएका छन्। समूह 'बी' बाट जिम्बावे, स्कटल्यान्ड र अफगानिस्तान सुपर ६ मा पुग्दा नेपाल र हङकङ बाहिरिएका छन्।
सुपर सिक्समा पुगेका ६ टिम मध्ये २ टिमले विश्वकपमा स्थान पक्का गर्नेछन्।
समूह चरणमा भएका २० खेलमा केही खेलाडीले तारिफयोग्य प्रदर्शन गरेका छन्। आइसिसीले उत्कृष्ट खेलेका ११ खेलाडीको सूची तयार पारेको छ। ११ खेलाडीमा जिम्बावे र हङकङका २–२ खेलाडी छन्। आयरल्यान्ड, पपुवा न्युगिनी, स्कटल्यान्ड, नेपाल, युएई, अफगानिस्तान र वेस्ट इन्डिजका १–१ खेलाडी सूचीमा समावेश छन्। ९ देशका खेलाडी सूचीमा पर्दा नेदरल्यान्ड्सका कुनै पनि खेलाडी समूह चरणको उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको सूचीमा समावेश छैनन्।
याे पनि हेर्नुहाेस् - विमान दुर्घटनामा बाँच्न सफल पाण्डे के भन्छन् ?
विलियम पोटरफिल्ड (आयरल्यान्ड)
३३ वर्षीय पोटरफिल्ड आयरल्यान्डका कप्तान हुन्। पछिल्लो एक दशकदेखि उनले आयरल्यान्ड क्रिकेट टिमका लागि धेरै योगदान दिइरहेका छन्। विश्वकप छनोटमा उनले नेदरल्यान्ड्स विरुद्ध ४७ रन प्रहार गरे। पपुवा न्युगिनी विरुद्ध शतक प्रहार गर्ने क्रममा उनले १ सय ११ रन जोडे। वेस्ट इन्डिज विरुद्ध डकआउट भएका पोटरफिल्डले युएई विरुद्ध ९२ रन बनाए।
टोनी उरा (पपुवा न्युगिनी)
उराले विश्वकप छनोटको आफ्नो दोस्रो खेलमा आयरल्यान्ड विरुद्ध शतक प्रहार गरेका थिए। ओपनर उराले १ सय ५१ प्रहार गरेपछि पपुवा न्युगिनीले २ सय ३५ रन जोडेको थियो। उराको शतकका बाबजुद पपुवा न्युगिनी खेलमा पराजित भएको थियफ। तर उनी खेलको म्यान अफ दि म्याच भए। नेदरल्यान्ड्स विरुद्ध ३७ रन प्रहार गरेका उनी वेस्ट इन्डिज विरुद्धको खेलमा ३ रनमै आउट भएका थिए।
कोलुम म्याकलियोर्ड (स्कटल्यान्ड)
स्कटल्यान्डका टपअर्डर ब्याट्सम्यान म्याकलियोर्डले समूह चरणका पछिल्ला तीन खेलमा राम्रो खेल्न सकेनन्। तर उनले पहिलो खेलमा अफगानिस्तान विरुद्ध नटआउट १ सय ५७ रन प्रहार गर्दै सबैको ध्यान खिँचे। उनकै उच्च प्रदर्शनले स्कटल्यान्डले अफगानिस्तानमाथि सानदार जित हात पारेको थियो। उनको यो स्कोर स्कटल्यान्डको दोस्रो व्यक्तिगत उच्च स्कोर हो। अफगानिस्तान विरुद्ध उनले १ सय ४६ बलमा २३ चौका र १ छक्का प्रहार गरेका थिए। तेस्रो विकेटका लागि उनले रिची बेरिङटनसँग २ सय ८ रनको साझेदारी गरेका थिए।
ब्रेन्डन टेलर (जिम्बावे)
टेलरले समूह चरणमा उत्कृष्ट ब्याटिङ गरे। पहिलो खेलमा नेपाल विरुद्ध ९१ बलमा शतक बनाएका उनले अफगानिस्तान विरुद्ध पनि राम्रो ब्याटिङ गरे। अफगानिस्तान विरुद्ध उनी ११ रनले शतक बनाउन चुकेका थिए। हङकङ विरुद्ध पनि उनले ४६ रन बनाउँदा स्कटल्यान्ड विरुद्धको अन्तिम खेलमा ४४ रन प्रहार गरेक थिए। उनले समूह चरणको ४ खेलमा कुल २ सय ७९ रन जोडे।
पारस खड्का (नेपाल)
समूह चरणमा नेपालका कप्तान पारस खड्काले तारिफयोग्य ब्याटिङ गरे। जिम्बावे विरुद्धको पहिलो खेलमा उनले ४० रन जोडे। त्यसपछि लगातार दुई अर्धशतक प्रहार गरे। उनले स्कटल्यान्ड विरुद्ध ६३ तथा अफगानिस्तान विरुद्ध ७५ रन प्रहार गरे। दुवै टिम प्रतियोगिताकै उत्कृष्ट बलिङ आक्रमण भएको टिम मानिन्छन। हङकङ विरुद्ध पारस ११ रनमै आउट भए। तर खेलमा नेपालले जित निकाल्दै एकदिवसीय मान्यता पाउने ढोका खोल्यो।
अंशुमान रथ (हङकङ)
अंशुमानले अफगानिस्तान विरुद्ध ६५ रन जोड्दा जिम्बावे विरुद्ध ८७ रन प्रहार गरेक थिए। यद्यपी उनी स्कटल्यान्ड विरुद्ध डकआउट हुँद नेपाल विरुद्ध पनि १ रनमै आउट भए। अंशुमानले दुई टेस्ट टिम विरुद्ध अर्धशतक प्रहार गर्दै आफ्नो क्षमता प्रमाणित गरे।
सिकन्दर राजा (जिम्बाबे)
जिम्बावेका अलराउन्डर राजाले नेपाल विरुद्ध ३ विकेट लिनुका साथै १ सय २३ रन जोडे। अफगानिस्तान विरुद्ध ६० रन बनाएका उनले ३ विकेट नै हात पारे। प्रतियोगिता राजा उत्कृष्ट अलराउन्डरको रुपमा सबैको नजरमा परे।
रोहन मुस्ताफा (युएई)
युएईका कप्तान मुस्ताफाले पपुवा न्युगिनी विरुद्धको पहिलो खेलमा ९४ रन बनाए। बाँकी ३ खेलमा भने उनले राम्रो ब्याटिङ गर्न सकेनन्। यद्यपी उनले नेदरल्यान्ड्स विरुद्धको खेलमा उत्कृष्ट बलिङ गरेर उनले ५ विकेट लिएपछि युएईले नेदरल्यान्ड्सलाई ६ विकेटले हरायो।
मोहम्मद नाबी (अफगानिस्तान)
अफगानिस्तानका अलराउन्डर नाबीले मात्र टिमका लागि एकै स्तरको प्रदर्शन गर्न सके। पहिलो खेलमा ९२ रन बनाएका उनले दोस्रो खेलमा ५१ रन बनाए। तेस्रो खेलमा ३८ रनमा आउट भएका उनले नेपाल विरुद्ध ३४ रन प्रहार गरेका थिए।
नेपाल विरुद्ध उनले महत्वपूर्ण ४ विकेट लिएपछि अफगानिस्तानको सुपर ६ पुग्ने आसा पलाएको थियो।
जासन होल्डर (वेस्ट इन्डिज)
अलराउन्डर होल्डरको कप्तानीमा वेस्ट इन्डिजले समूह चरणमा चार वटै खेल जित्यो। नेदरल्यान्ड्स विरुद्ध मैदान नउत्रिएका उनले युएई विरुद्ध ५ विकेट लिए। पिएनजी विरुद्ध ९९ रन बनाएका होल्डरले आयरल्यान्ड विरुद्ध २ विकेट लिनुका साथै ५४ रन बनाए।
इसन खान (हङकङ)
हङकङका अफ स्पिनर खानले सवै खेलमा विकेट लिन सफल भए। उनले स्कटल्यान्ड विरुद्ध ३/२९, अफगानिस्तान विरुद्ध ४/३३, जिम्बावे विरुद्ध २/५१ र नेपाल विरुद्ध २/३४ को स्पेलमा बलिङ गरे। समूह चरणमा ११ विकेट लिएका उनी सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।