काठमाडौं– प्रदेश १ का ९ जिल्लामा चालू आर्थिक वर्ष २०७४/७५ को माघसम्ममा विद्युत् चुहावट करिब ४ प्रतिशत घटेको छ।
नेपाल विद्युत् प्राधिकरण पूर्वाञ्चल क्षेत्रीय कार्यालय अन्तर्गतका १७ वितरण तथा ग्राहक सेवा केन्द्रले गत आर्थिक वर्ष ०७३/७४ मा रहेको १७ दशमलब ६५ प्रतिशत चुहावटलाई माघसम्ममा ३ दशमलब ९१ प्रतिशतले घटाएर १३ दशमलब ७४ प्रतिशतमा झारेका हुन्।
क्षेत्रीय कार्यालय अन्तर्गतको वितरण प्रणालीमा माघसम्ममा ५५ करोड १० लाख युनिट ऊर्जा प्रवाह भएकोमा ४७ करोड ५३ लाख युनिट बिक्री भएको छ। प्रणालीबाट ७ करोड ५७ लाख युनिट ऊर्जा चुहावट भएको प्राधिकरणले जनाएको छ।
विराटनगर वितरण केन्द्रले १४ दशमलब ०५ प्रतिशत रहेको चुहावटलाई ४ दशमबल २१ प्रतिशतले घटाएर ९ दशमलब ८४ प्रतिशत कायम गरेको छ।
८ दशमलब ९५ प्रतिशत रहेको विद्युत् चुहावटलाई दुहवी वितरण केन्द्रले ३ दशमलब ०७ प्रतिशतले घटाएर ५ दशमबल ८८ प्रतिशत कायम गरेको छ।
विराटनगर र दुहवी कार्यालय अन्तर्गत ठूला औद्योगिक ग्राहकहरु छन्। दमक वितरण केन्द्रले ४ दशमलब ७३ प्रतिशतले चुहावट घटाएको छ। केन्द्रले असारसम्मको २३ दशमलब २२ प्रतिशतको चुहावटलाई घटाएर १८ दशमलब ४९ प्रतिशतमा झारेको छ।
मोरङको रंगेली वितरण केन्द्रको चुहावट ३२ दशमलब ३० प्रतिशत छ। असारसम्ममा ३६ दशमलब ४२ प्रतिशत चुहावट रहेकोमा माघसम्ममा ४ दशलमब १२ प्रतिशत घटेको छ। इनरुवा वितरण केन्द्रको ३६ दशमलब ५९ प्रतिशतको चुहावट १० दशमलब ०७ प्रतिशतले घटेर २६ दशमलब ५२ प्रतिशत पुगेको छ।
यसैगरी, वेलबारी वितरण केन्द्रको २६ दशमलब १३ प्रतिशत चुहावट १ दशमलब २४ प्रतिशतले घटएर २४ दशमलब ८९ प्रतिशतमा झारेको छ।
विद्युत् चोरी नियन्त्रणका लागि चालिएका कदम, ट्रान्सफर्मर तथा वितरण लाइनको सदृढीकरण, केन्द्र प्रमुखसँग गरिएको कार्यासम्पादन सम्झौता लगायतका कारण चुहावट घटेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।
‘चोरी नियन्त्रण तथा बक्यौता असुली अभियानले गैरप्राविधिक चुहावटमा कमी आएको छ, ओभरलोडमा रहेको ट्रान्सफर्मर फेरिरहेका छौं जसले गर्दा प्राविधिक चुहावटमा क्रमिक रुपमा कमी आइरहेको छ’, उनले भने, ‘अझै चुहावट नियन्त्रण अभियानलाई हामी शसक्त रुपमा अगाडि बढाउँछौं।’
चुहावट नियन्त्रणमा स्थानीय तहका सरकारको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै घिसिङले प्राधिकरणको अभियानमा सहयोग गरिदिन सबै जनप्रतिनिधिलाई आग्रह गरेका छन्।
प्राधिकरणको यही अभियानलाई साथ दिँदै झापाको कनकाई नगरपालिकाले आफ्नो क्षेत्रलाई ‘विद्युत् चुहावट मुक्त’ घोषणा गरिसकेको छ।
पूर्वाञ्चल क्षेत्रीय कार्यालयका प्रमुख सच्चिदानन्द यादवले गर्मी सुरु भएसँगै चुहावट नियन्त्रणमा चुनौती थपिने बताए। ‘माघसम्मको तथ्यांक हेर्दा विद्युत् चुहावट नियन्त्रणका लागि हामीलाई दिइएको टार्गेटभन्दा कम छ, तर गर्मी सुरु हुनासाथ ट्रान्सफर्मर र ३३ केभी लाइन ओभरलोड हुँदा नियन्त्रणमा चुनौती थपिन्छ’, उनले भने, ‘तर, हामीलाई दिइएको टार्गेट पूरा गर्ने प्रयासमा क्रियाशील छौं।’ क्षेत्रीय कार्यालयलाई गत आर्थिक वर्षमा रहेको १७ दशमलब ६५ प्रतिशत चुहावटलाई घटाएर १४ प्रतिशतमा झार्ने टार्गेट दिइएको छ।
गत असारसम्म प्राधिकरणको प्रणालीमा २२ दशमलब ९ प्रतिशत विद्युत् चुहावट छ। चालू आर्थिक वर्षमा यसलाई घटाएर २० प्रतिशतमा झार्ने लक्ष्य तय गरिएको छ। ३ वर्षभित्रमा प्रणालीमा रहेको चुहावटलाई १५ प्रतिशतमा झार्ने लक्ष्य रहेको प्राधिकरणले जनाएको छ। प्रणालीमा रहेको चुहावटमध्ये वितरणतर्फ रहेको १६ दशमलब ८२ प्रतिशतको चुहावटलाई चालु आर्थिक वर्षमा ३ दशमलब ६४ प्रतिशतले घटाएर १३ दशमलब १८ प्रतिशतमा झार्ने प्राधिकरणको लक्ष्य छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।