फलेवास, पर्वत- जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लको घरमा आज प्रेसरकुकर बम फेला परेको छ।
कुश्मा नगरपालिका–१ स्थित सहस्रधारमा रहेको अध्यक्ष मल्लको बा१६च २५२६ नं को गाडीमुनि प्रेसरकुकर बम भेटिएको हो। गाडीको टायरमुनि प्लास्टिकभित्र पत्रिकाले बेरेर प्रेसरकुकर बम राखिएको थियो।
उक्त बम नेपाली सेनाको रणदल गुल्म कुश्मा र नेपाली सेनाको २३ नं बाहिनी बागलुङको टोलीले निष्क्रिय पारेको छ। घर नजिकै रहेको कालीगण्डकी नदीको किनारमा लगेर सो बम निष्क्रिय पारिएको प्रहरी नायब उपरीक्षक दिलीप घिमिरेले जानकारी दिए।
राति राखिएको उक्त बम स्थानीयवासीले बिहान देखेका थिए। गएराति नै कालीगण्डकी क्रसर उद्योगले भाडामा लिएको कुश्मा नगरपालिका–७ शिवबहादुर घर्तीको जेसिबीमा समेत आगजनी गरिएको छ। सहाना निर्माण सेवाको ग१क ३७३६ नं को जेसिबीमा आगजनी भएको प्रहरीले जनाएको छ। गाउँपालिकाका अध्यक्ष मल्ल सो उद्योगका सञ्चालक हुन्।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।