काठमाडौं– २३ वर्षीय अवधेशकुमार यादव परिवारको सुन्दर भविष्यका लागि ४ महिनाअघि वैदेशिक रोजगारीका लागि कतार पुगेका थिए। घरबाट हिँड्नुअघि उनले परिवारका सबै सदस्यलाई आश्वस्त पारे, ‘केही वर्षभित्र हाम्रो दुःखको दिन समाप्त हुनेछ।’
सर्लाहीस्थित कविलासी नगरपालिका वडा नम्बर ३ बस्ने यादव परिवारमा अवधेश एक्लो छोरा थिए। गरिब परिवार भएका कारण जिम्मेवारी पनि ठूलै थियो। ३ वर्षअघि वैवाहिक बन्धनमा बाँधिएपछि उनको काँधमा थप जिम्मेवारी आइलागेको थियो।
याे पनि हेर्नुहाेस् - विमान दुर्घटनामा बाँच्न सफल पाण्डे के भन्छन्? #Video
छोरीको जन्म भएपछि उनले आफ्नो परिवारलाई वैदेशिक रोजगारीमा जानैपर्ने बाध्यता सुनाएका थिए। एक्लो छोरोको जिद्दीका अगाडि बुवा राषनारायण यादव तर्कहीन बने। त्यसैले उनले १ लाख ५ हजार रुपैयाँ ऋण काढेर आफ्नो छोरालाई कतार पठाएका थिए।
तर दुर्भाग्य, आफूलाई आश्वस्त पार्ने त्यही छोराको मृत शरीर पहिचान गर्न उनले मंगलबार महाराजगञ्जस्थित टिचिङ अस्पताल परिसर पुग्नुपर्यो। ‘यहाँ रोजगारी नपाएपछि कतार जान्छु भनेर जिद्दी गरेको थियो,’ भक्कानिदै राषनारायणले नेपाल लाइभसँग भने।
एजेन्टले कतारमा राम्रो काम दिलाइदिन्छु भनेर उनलाई लोभ्याएको रहेछ। तर, त्यहाँ गिट्टी, बालुवा र सिमेन्टी बोक्नु परेपछि उनले घर फर्किने इच्छा जाहेर गरेका रहेछन्। तर, एजेन्टले कानमा तेल हालेपछि उनी कतारमै कार्यरत आफ्ना सालासँग टिकटको पैसा सापट मागेर बंगलादेशको बाटो हुँदै नेपाल फर्किरहेका थिए।
उनी सोमबार त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त युएस–बंगला विमानबाटै देश फर्किरहेका थिए। यही घटनामा उनको पनि निधन भयो। ‘एउटै छोरो थियो। कतारमा भने अनुरुपको जागिर नभएपछि फर्किन्छु भन्यो। उतै टिकटको बन्दोबस्त गरेको रहेछ,’ सर्लाहीमा खेती किसानी गर्ने राषनारायणले आँसु झार्दै भने।
उनलाई अहिले छोरोलाई वैदेशिक रोजगारीमा पठाउँदा लिएको ऋणभन्दा पनि छोराको शरीर अन्तिम पटक हेर्न नपाएकोमा थकथकी छ। उनी छोरालाई लिन आइतबार रात्रिबस चढेर काठमाडौं आएका थिए। ‘घटनाको दिन सोमबार बिहान ५ बजेतिर श्रीमती सुमित्रा देवीसँगै उहाँ पनि काठमाडौं आउनुभएको थियो,’ राषनारायणका छिमेकी रामकैलाश ठाकुरले सुनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।