काठमाडौं- पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवा सोमबार भएको बंगलादेशी विमान दुर्घटनाका घाइतेको अवस्था बुझ्न सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पताल पुगेका छन्। दिउँसो साढे १२ बजेतिर अस्पताल पुगेका देउवाले चिकित्सकहरुसँग घाइतेको अवस्थाबारे जानकारी लिएका थिए।
सोमबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस-बंगलाको विमान दुर्घटनामा परी घाइते भएकाहरुको काठमाडौंका विविन्न अस्पतालमा उपचार भइरहेको छ। घाइते २२ जनामध्ये ११ जनाको उपचार केएमसी अस्पतालमा भइरहेको छ।
केएमसी अस्पतालकी प्रिन्सिपल डा चन्दा कार्कीका अनुसार घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ। तीन जना घाइतेलाई भने स्वास्थ्यमा सुधार आएपछि आइसियूबाट जनरल वार्डमा सारिएको छ।
सोमबार दिउँसो २ बजेर १८ मिनेटमा भएको युएस-बंगला विमान दुर्घटनामा ४९ जनाको मृत्यु भयो भने २२ जना घाइते छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।