काठमाडौं- संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि भएको निर्वाचनमा मतदान जारी छ।
निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार मध्याह्न १२ बजेसम्म प्रदेशसभाका कूल ५ सय ४९ सदस्यमध्ये २३७ जनाले मतदान गरिसकेका छन् भने संघीय संसद्का कूल ३ सय ३१ सांसदमध्ये २ सय ५ जनाले मतदान गरिसकेका छन्।
हालसम्म करिब ५० प्रतिशत मतदान भएको आयोगले जनाएको छ। संघीय संसद्का सदस्य जिपछिरिङ लामा र प्रदेशसभा सदस्य दामा शर्माले बिहान १० बजे पहिलो मतदान गरेका थिए।
संसद् भवन, नयाँ बानेश्वर परिसरको पूर्वतर्फको खाली स्थानमा संघीय संसद् र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरी मतदान गराइएको छ।
मतदानका लागि बिहान ९ बजेदेखि नै मतदाता मतदान केन्द्रमा प्रवेश गरेका थिए। मतदानको समय अपराह्न ३ बजेसम्मका लागि तोकिएको छ।
राष्ट्रपतिको निर्वाचनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वसांसद कुमारीलक्ष्मी राई प्रतिष्पर्धामा छन्। राष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुने संविधानमा व्यवस्था गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।