नयाँ दिल्ली– इन्जिनमा खराबी आएको भन्दै भारतको इन्डिगो एयरलायन्सले आफ्ना ४७ भन्दा बढी आन्तरिक उडान रद्द गरेको छ। भारतको हवाइ सेवा हेर्ने प्रमुख निकाय नागरिक उड्डयन महानिर्देशनालय(डिजिसिए)ले इन्डिगोका ८ वटा ‘ए३२० नियो’ विमानको ‘प्राट एन्ड ह्विट्नी इन्जिन’मा खराबी आएपछि उडान रद्द गराउन निर्देशन दिएको थियो।
गो एयरका ३ विमानमा पनि सोहि समस्या देखिएपछि उडान हुन सकेको छैन।
इन्डिगोले मंगलबारका लागि तय भएका ४७ आन्तरिक उडानलाई रद्द गरिएको आफ्नो वेबसाइटमा लेखेको छ। इन्डिगोले नयाँ दिल्ली, मुम्बई, चेन्नई, कोलकाता, हैदराबाद, बैंग्लोर, पटना, श्रीनगर, भुवनेश्वर, अमृतसर, गुवाहटीलगायतका स्थानबाट उडान भर्ने कार्यतालिका रद्द गरेको हो।
सोमबार ‘मिड एयर इन्जिन’ले काम गर्न छाडेपछि लखनउका लागि छुटेको इन्डिगो एयरको विमान करिब ४० मिनेटको उडानपछि पुनः अहमदाबाद नै फर्किएको थियो। सो अवस्थापछि डिजिसिएले ‘ए३२० नियो’ र ‘इएसएन ४५०’लाई तुरुन्तै अवतरण गराइ विमानको इन्जिन मर्मत गर्न निर्देशन दिएको थियो।
इन्डिगो एयरका ३ वटा ‘ए३२० नियो’ विमान सोहि कारण देखाउँदै यसअघि नै विमानस्थलमा थन्किएका छन्।
सोमबार मात्रै इन्डियो र गो एयरका ११ वटा जहाज विमानस्थलमा थन्किएपछि सयभन्दा बढि यात्रुहरु आफ्नो गन्तव्यमा पुग्नबाट वञ्चित भएका थिए। सोमबार अपरान्ह करिब दर्जनभन्दा बढि उडानहरु रद्द गरिएको थियो।
इन्डिगोले भारतभर एक दिनमा करिब १ हजार उडानहरु भर्ने गरेको छ। उसले भारतको आन्तरिक उडानतर्फ ४० प्रतिशत र गो एयरले १० प्रतिशत हिस्सा ओगट्ने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।