काठमाडौं- राष्ट्रपति पदका लागि भएको निर्वाचनको मतदान सुरु भएको छ।
पहिलो मतदान संघीय संसद्का सदस्य जीपछिरिङ लामा र प्रदेशसभा सदस्य दामा शर्माले ठिक १० बजे गरेका थिए। संघीय संसद् भवन नयाँ बानेश्वर परिसरको पूर्वतर्फको खाली स्थानमा संघीय संसद् र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको छ।
मतदानका लागि बिहान ९ बजेदेखि नै मतदाता मतदान केन्द्रमा प्रवेश गरेका थिए। मतदानको समय अपराह्न ३ बजेसम्मका लागि तोकिएको छ।
राष्ट्रपतिको निर्वाचनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वसांसद कुमारी लक्ष्मी राई प्रतिस्पर्धामा छन्।
निर्वाचन व्यवस्थित गर्न सुरक्षा व्यवस्थालाई चुस्त तुल्याउनाका साथै प्रत्येक केन्द्रमा महिला र पुरुषका लागि बेग्लाबेग्लै लामको व्यवस्था गरिएको छ। निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) का ३३१ र प्रदेशसभाका ५४९ सदस्य गरी ८८० जना मतदाता छन्।
भण्डारीलाई एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरप, राजपा, राप्रपा लगायतका दलको समर्थन छ। बहुमत भण्डारीको पक्षमा भएकाले उनी नै राष्ट्रपतिमा दोहोरिने पक्का छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।