काठमाडौँ- संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति पदका लागि आज निर्वाचन हुँदैछ।
संघीय संसद् भवन नयाँ बानेश्वर परिसरमा कायम गरिएको मतदान केन्द्रमा आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुनेछ। निर्वाचनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वसांसद कुमारी लक्ष्मी राई प्रतिस्पर्धामा छन्।
राष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुनेछ। आयोगका प्रवक्ता नवराज ढकालका अनुसार राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् (प्रतिनिधिसभा, राष्ट्रियसभा) का ३३१ र प्रदेशसभाका ५४९ सदस्य गरी ८८० मतदाता कायम गरिएको छ।
राष्ट्रपति मुलुकको राष्ट्राध्यक्षका रुपमा रहने तथा पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको अवधि हुने संवैधानिक व्यवस्था छ। नेपालको संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुने व्यवस्था छ। आयोगले मतदातालाई आफू सदस्यमा निर्वाचित भएको प्रमाणपत्र वा नागरिकताको प्रमाणपत्र वा मतदाता परिचयपत्रमध्ये कुनै एउटा कागज बोकेर मतदानका लागि आउन अनुरोध गरेको छ।
भण्डारीलाई एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरप, राजपा लगायतका दलको समर्थन छ। बहुमत भण्डारीको पक्षमा भएकाले उनी नै राष्ट्रपतिमा दोहोरिने पक्का छ।
मतदानमा संघीय सासद्का लागि सेतो पृष्ठभूमिमा हरियो र प्रदेशसभाका सांसद्का लागि सेतो पृष्ठभूमिमा रातो रङको मतपत्र तय गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।