काठमाडौं- सोमबारको विमान दुर्घटनामा ज्यान गुमाएका वरिष्ठ न्युरो सर्जन बालकृष्ण थापा साहित्यमा पनि क्रियाशील थिए।
काभ्रे घर भई चितवन कार्यस्थल रहेका डा थापा त्यहाँको साहित्यिक संघ-संस्था र कार्यक्रमहरुमा सक्रिय रहन्थे। चितवन अस्पताल प्रालि तथा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत रहँदै आएका उनी जेठको पहिलो साता गर्ने तयारी गरिएको 'नारायणी लिटरेचर फेस्टिवल'का आयोजकमध्येका थिए।
'अफ द बिट जेनेरेसन चितवन'मा आबद्ध डा थापालाई सम्झिँदै कवि भूपिनले 'सिर्जनाको क्षेत्रबाट समेत समाजलाई स्वस्थ राख्नुपर्छ भन्ने मान्यता राख्ने प्रिय कवि-डाक्टर' भनेका छन्।
'अफ द बिट'का सहयात्रीको नाममा फेसबुक स्टाटस लेख्दै उनले आफूहरुको साझा सपना 'नारायणी लिटरेचर फेस्टिवल' एकसाथ गर्न नसकेकोमा दुःख व्यक्त गरेका छन्।
महोत्सवका लागि बैठक गर्न केही दिनअघि फोन गर्दा डा थापाले बंगलादेश गएर आइतबार फर्किने भन्दै महोत्सव भव्य गर्ने कुरा गरेको भूपिनले उल्लेख गरेका छन्।
डा थापालाई सम्बोधन गर्दै उनले लेखेका छन्, 'म तपाईँको सेफ रिटर्नको प्रतीक्षामा थिएँ। तर, यसरी दुखद फिर्ती होला भन्ने कल्पना गरेको थिइनँ।'
भूपिनले मित्रवत, बौद्धिक र प्रेरक डाक्टर गुमाउनुको पीडा गहिरो रहेको भन्दै दशकै लागि ठूलो नोक्सान भएको टिप्पणी समेत गरेका छन्।
सम्बन्धित समाचार-
विमान दुर्घटनामा ३ पटकका गोल्डमेडलिस्ट न्युरो सर्जन डा बालकृष्ण थापाको निधन
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।