काठमाडौं– आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको समूह चरणका खेल सकिएका छन्। समूह 'बी' मा रहेको नेपालले अन्तिम खेलमा सोमबार हङकङलाई ५ विकेटले पराजित गरेसँगै नेपालले चौथो स्थान हात पार्यो।
नेपालको जितले अफगानिस्तान समूह 'बी' मा रनरेटमा अघि रहदै सुपर ६ मा पुग्न सफल भयो। अफगानिस्तानसँगै आयोजक जिम्बावे र स्कटल्यान्ड पनि समूह 'बी'बाट सुपर ६ मा पुगेका छन्। नेपालसँग पराजित भएपछि हङकङको सुपर ६ पुग्ने सम्भावना सकिएको छ।
समूह 'ए' बाट वेस्ट इन्डिज, आयरल्यान्ड र युएई सुपर ६ पुगेका छन्। नेदरल्यान्ड्स र पपुवा न्युगिनी (पिएनजी) समूह चरणबाट बाहिरए।
समूह चरणको अन्तिम दिन वेस्ट इन्डिजले नेरल्यान्ड्सलाई ५४ रनले, आयरल्यान्डले युएईलाई २ सय २६ रनले र नेपालले हङकङलाई ५ विकेटले हराए। जिम्बावे र स्कटल्यान्ड बीचको खेल भने बराबरीमा सकियो। दुवै टिमले समान २१० रन बनाए।
रनरेटमा पछि परेको नेपालको सुपर ६ यात्रा सकिएपनि अब एकदिवसीय मान्यताको बाटो भने बाँकी छ।
प्रतियोगितामा सहभागि ६ एसोसिएट मध्ये शीर्ष ३ टिमले एकदिवसीय मान्यता पाउने निमयअनुसार सुपर ६ पुगेका स्कटल्यान्ड र युएईले मान्यता पाएका छन्। सुपर सिक्स ६ पुग्न असफल नेदरल्यान्ड्सलाई आइसिसीले यसअघि नै एकदिवसीय मान्यता दिइसकेको छ। अब सुपर सिक्समा पुग्न असफल भएका नेपाल, हङकङ र पिएनजी मध्ये एक टिमले एकदिवसीय मान्यता पाउनेछन्। बाँकी २ टिम डिभिजन–२ मा झर्नेछन्।
नेपालको सम्भावना कति?
नेपालले प्ले अफमा पपुवा न्युगिनीसँग बिहीबार खेल्नेछ। पपुवा न्युगिनीलाई पराजित गरे नेपालको एकदिवसीय मान्यता पाउने प्रवल सम्भावना हुनेछ। अर्को प्ले अफमा हङकङ र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ। यो खेलमा नेदरल्यान्ड्स विजयी भए नेपालले अन्तिम प्ले अफ अघिनै एकदिवसीय मान्यता पाउनेछ। नेदरल्यान्ड्स पराजित भएमा नेपाल र हङकङबीच खेल हुनेछ। विजेताले एकदिवसीय मान्यता पाउनेछ।
पिएजनीसँग पराजित भए नेपालको एकदिवसीय मान्यता पाउनेछैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।