हालै गरिएको एउटा अनुसन्धानले दिनमा तीनपल्ट कफी पिउनाले तपाईंको आयु लम्बिन सक्ने परिणाम देखाएको छ।
युरोपका १० देशका ३५ वर्ष माथिका करिब ५ लाख मानिसमा अनुसन्धान गरिएको थियो। ‘एनल्स अफ इन्टर्नल मेडिसिन’ जर्नलमा प्रकाशित उक्त अनुसन्धानका अनुसार एक कप थप कफी पिउनाले कुनै पनि मानिसको आयु लम्बिन सक्छ, चाहे त्यो कफी ‘डिक्याफिनेटेड’(कफीबाट क्याफिन निकालिएको) नै किन नहोस्।
तर, केही वैज्ञानिकले भने अनुसन्धानको निष्कर्षमा आशंका व्यक्त गरेका छन्। उनीहरूको भनाइमा कफी पिएकै कारण हो वा कफी पिउनेहरूको स्वस्थ जीवनशैलीका कारण आयु लम्बिएको हो दाबी गर्न सकिँदैन।
बेलायतको राजधानी लन्डनस्थित इन्टरनेसनल एजेन्सी फर रिसर्च अन क्यान्सर एन्ड इम्पेरियल कलेजका अनुसन्धानकर्ताहरूको भनाइअनुसार कफी धेरै पिउनुको सम्बन्ध मुटु र पेटका रोगबाट मृत्यु हुने जोखिम घट्नुसँग छ।
युनिभसिर्टी अफ क्याम्ब्रिजका प्रोफेसर सर डेभिड स्पिगलहाल्टर भन्छन्, ‘कफीका कारण मृत्युदरमा आएको कमीको विश्लेषण गर्ने हो भने दैनिक थप एक कप कफी पिउने पुरुषको उमेर तीन महिनाभन्दा बढी लम्बिन सक्छ र महिलाको औसत आयु एक महिना बढ्न सक्छ।’
यो अनुसन्धान सटिक तरिकाले गरिएको भए पनि यसको निष्कर्ष ध्रुवसत्य हो भन्ने चाहिँ होइन। अनुसन्धानले कफीले आयु लम्ब्याउने ठोकुवा गरे पनि कफीमा आयु बढाउने त्यस्तो के तत्व छ भनेर बताउन सकेको छैन।
कफीबारे केही भ्रम पनि नभएका होइनन्। केही मानिस धेरै कफी पिउँदा हृदयघात हुने आशंका गर्छन्।
तर, धेरै कफी पिउँदा मृत्युको जोखिम बढ्ने कुनै त्यस्ता प्रमाण पनि फेला परेका छैनन्। बरु विभिन्न अनुसन्धानले यसको ठीक उल्टो अर्थात आयु लम्बिने निष्कर्ष निकालेका छन्।
सन् २०१२ मा ‘न्यु इङ्ल्यान्ड जर्नल अफ मेडिसिन’ले करिब ४ लाख व्यक्तिको स्वास्थ्य सम्बन्धी १३ वर्ष गरेको अनुसन्धानको प्रतिवेदन प्रकाशित गरेको थियो।
अनुसन्धानका १३ वर्षमा दैनिक तीन देखि ६ कपसम्म कफी पिउने व्यक्तिको मृत्यु हुने जोखिम १० प्रतिशत घटेको वैज्ञानिकहरूले पाए। यतिमात्र होइन, कफी पिउनाले हृदयघात लगायत मुटुसम्बन्धी अन्य रोग र मस्तिष्कघात, मधुमेह र संक्रमणको जोखिमसमेत न्यून हुन्छ।
सन् २०१४ मा करिब १० लाख व्यक्तिमा गरिएको अर्को अनुसन्धानबाट पनि यस्तै निष्कर्ष निस्केको थियो। अनुसन्धानको निष्कर्षमा कफी नपिउनेको तुलनामा दैनिक ४ कप कफी पिउने व्यक्तिको मृत्युको जोखिम १६ प्रतिशत घट्ने उल्लेख थियो।
हुन त यी सबै अनुसन्धान विश्लेषणात्मक मात्र हुन्। अहिलेसम्म कफीले हाम्रो मुटु जोगाउँछ वा कफीमा हामीले थाहा नपाएको अन्य कुनै त्यस्तो तत्व छ भनेर पत्ता लागेको छैन।
स्वस्थ व्यक्ति कफीप्रति धेरै आकर्षित भएको पनि हुनसक्छ, तर तपाईंलाई कफी पिउने बानी लाग्यो भने हानिकारक भने छैन। कफी अमृत नै नभए पनि तपाईं एकाबिहानै आरामसँग बसेर कफी पिउनुको आनन्द त लिन सक्नु हुन्छ नि होइन त!
(साभारः साइन्स अलर्ट)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।