जननायक बिपी कोइरालाले २००५ सालमा हाम्रो पार्टी नेपाली कांग्रेसको ध्येयको बारेमा स्पष्ट पार्दै लेख्नुभएको छ– नेपाली कांग्रेस स्थापनाको एउटा ध्येय छ। हामी जनताबाट निर्वाचित प्रतिनिधिहरु छान्न चाहन्छौं। ती प्रतिनिधिहरुको संस्थाबाट सरकार बनाउन चाहन्छौं। त्यो सरकार जनताबाट निर्वाचित त्यो संस्थाप्रति उत्तरदायी हुनेछ।
हामीले त्यस्तो संसद् बनायौं। महाराजले त्यो संसद् खाइदिइबक्स्यो। हामीले फेरि बनायौं। फेरि महाराजले खाइदिइबक्स्यो। आज हामीले लामो संघर्षपछाडि हाम्रो संसदमा लेखेका छौं– 'बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली नै नेपालको शासकीय स्वरुप हुनेछ।' सम्माननीय प्रधानमन्त्रीज्यू लगायत सबै नेता र माननीज्यूहरुले यसप्रति आफ्नो प्रतिबद्धता जनाउनुभएको छ। हामी खुसी छौं, तर सन्तुष्ट छैनौं। महाराजले पटकपटक खाइदिइबक्सेको हुनाले हाम्रो मनमा अहिले पनि आशंकाहरु छन्।
संविधान संशोधनको विषय अघिल्लो संसदमा प्रस्ताव गर्दै गर्दा यसको बारेमा उच्चारण मात्र गर्नु पनि राष्ट्रघात हो भनेको कुरा अहिले हामी सम्झिरहन्छौं। तर, आज हामी सुनिरहेका छौं– त्यही संविधान संशोधनका विषयहरुमा माथापच्ची गरेर हस्ताक्षर गर्न मात्रै बाँकी छ। केका निम्ति? दुई तिहाइका निम्ति। स्पष्ट बहुमत हुँदाहुँदै पनि यो दुई तिहाइको दिव्य शक्तिको मोह हुनु पछाडिको कारण के हो? यसको पछाडिको नियत के हो?
हामीले सुन्ने गरेका छौं, केही साथीहरुले भन्नुहुन्छ, अनुमान लगाउनुहुन्छ। सम्माननीय प्रधानमन्त्रीज्यू ली क्वान यु र महाथिर मोहम्मदको ठूलो प्रशंसक हुनुहुन्छ रे! नेपालमा विकास र स्थिरता नहुनु एउटा बलियो राजनेता नभएको कारण हो भन्ने विश्वास गर्नुहुन्छ रे। तर, त्यस्तो बलियो नेता राजा महेन्द्र, राजा वीरेन्द्र र राजा ज्ञानेन्द्रको रुपमा नेपालले तीस वर्ष व्यहोरेको होइन? हामीले व्यहोरिसक्यौं।
हाम्रो संविधानले स्पष्टसँग भनेको छ, हाम्रो राज्यको अधिकारलाई केन्द्र, प्रदेश र स्थानीय तहमा बाँडेका छौं। हामीले हाम्रो संवैधानिक सर्वोच्चताको अभ्यास गर्ने विषयको सन्दर्भमा सरकार, सदन र अदालतको सीमारेखाहरुलाई संविधानमा उल्लेख गरेका छौं। हामीले संवैधानिक आयोगहरुको व्यवस्था गरेका छौं। यी संस्थाहरुलाई बलियो बनाउने हो। प्रजातान्त्रिक संस्थाहरुलाई बलियो बनाएर हाम्रो आफ्नो सिस्टमले डेलिभरी दिनसक्ने ठाउँमा पुर्याउनुपर्ने सन्दर्भमा कहीँकतै हामी बरालिएर संस्था होइन, बलियो व्यक्ति चाहिन्छ भन्ने ठाउँमा पुग्यौं भने फेरि अर्को दुर्घटना हुन्छ। नेपाली कांग्रेस यो दुर्घटना रोक्न चाहन्छ। त्यसैले संसदको प्रतिपक्षमा बस्न चाहन्छ।
हामीले पटकपटक आन्दोलन गर्यौं। समृद्धिको वाचा गर्यौं। वाचा पूरा गर्न सकेनौं। कारणहरु थिए। बहानाहरु थिए। राजाका कारण भएन भन्यौं, राजा नै फ्याँक्दियौं। संविधानको कारण भएन भन्यौं, संविधान नै फ्याँक्दियौं। एकात्मक व्यवस्थाको कारण भएन भन्यौं, त्यो पनि फ्याँक्दियौं।
अब हामीले जम्मा एउटा कुरा भनिरहेका छौं– स्थिरता नभएका कारणले भएन। स्थिरता पनि ल्यायौं। अस्थिर सरकार फाल्यौं। केन्द्रमा, प्रदेशमा जताततै स्थिर सरकार बन्दै छ। एउटा सर्वशक्तिशाली प्रधानमन्त्री बन्दै हुनुहुन्छ। जिम्मेवार र सहयोगी प्रतिपक्षी छ। अब यस्तो बेलामा पनि नगरे कहिले गर्ने?
वाम गठबन्धनले मत माग्दै गर्दा आफ्नो घोषणापत्रमा जे-जे कुरा भनेको थियो, त्यो अब कसैले रोक्न सक्दैन भन्ने विश्वास गर्ने आधार छ।
सम्माननीय प्रधानमन्त्रीज्यू! हामी प्रतिपक्षमा उभिए पनि स्पष्ट छ, गणितले त्यही भन्छ, तपाईंले दुई तिहाइको हाराहारीमा विश्वासको मत पाउनुहुन्छ। तर, आजबाट दिनगन्ती सुरु भएको छ। घोषणापत्रमा तपाईंले लेख्नुभएको छ– पाँच वर्षमा प्रत्येक वर्ष आर्थिक वृद्धिदर १० प्रतिशतले हुन्छ। भ्रष्टाचार शून्य हुन्छ। दुई वर्षमा नेपालले एउटा पनि कृषि उपज बाहिरबाट किन्नुपर्दैन। पाँच वर्षभित्र हामीले बेचेर खनखन पैसा कमाउँछौं। पाँच वर्षभित्र नेपालमा सबै खेतीयोग्य जमिनमा सिँचाइ भइसक्नेछ। फास्ट ट्र्याक पाँच वर्षभित्रमा बन्नेछ। निजगढको विमानस्थल पाँच वर्षभित्रमा बन्नेछ। पूर्व-पश्चिम रेलमार्ग ६ लेनको हुने मात्रै होइन, त्यही रेलमार्गको छेउबाट सननन विद्युतीय रेलमार्ग पनि कुद्नेछ भनेर तपाईंले लेख्नुभएको छ। २५ लाख पर्यटक नेपालमा भित्रिनेछन्। २० प्रतिशत बजेट शिक्षामा छुट्टिनेछ। प्रदेश प्रदेशमा १ हजार जनाले उपचार पाउने हजार शय्यासहितको अस्पताल बन्नेछ। सबैखाले महिला हिंसाको अन्त्य हुनेछ। जो हिंसामा संलग्न हुन्छ, उसलाई आजीवन श्रमसहितको काराबासको सजाय हुनेछ भनेर घोषणापत्रमा लेखिएको छ।
सम्माननीय प्रधानमन्त्रीले तैंले हाम्रो घोषणापत्र कण्ठ पारेर आइछस् भन्नुहोला। कण्ठ पार्ने मात्रै होइन, त्यो कण्ठस्थ पारेको घोषणापत्रलाई यो सदनमा अब पटकपटक दोहोर्याउनेछु। किनकि, अब किन्तु परन्तु केही पनि चल्दैन। नो इफ, नो बट! अब परिणाम चाहिन्छ। त्यो पनि उधारोमा होइन, नगदमा चाहिन्छ। खनखन गरेर नगदमा माग्ने पालो अब हाम्रो हो। त्यही माग्नका निम्ति हामी प्रतिपक्षमा बस्न चाहन्छौं।
राज्यको अस्तित्व विविधतासँग जोडिएको छ। यो संविधानले विविधताको पहिचान मात्रै होइन, सम्मान पनि गरेको छ। राज्य व्यवस्थाको सञ्चालन र विकासमा विविधतालाई सँगसँगै लिएर जानुपर्छ। यो संविधानले त्यही कुरा भनेको छ। तर, विविधताको वैधानिकता संविधानले दिए पनि वैधता भने व्यक्तिको सोचले निर्धारण गर्छ। मधेसकेन्द्रित दलहरुले विश्वासको मत दिने भन्नुभएको छ। प्रदेशमा हामीलाई दिनुभयो, माथि हामी दिन्छौं। लेनदेनका कुरा होलान्, त्यता हामी जान चाहदैनौं।
अघिल्लो पटक प्रधानमन्त्री रहँदै गर्दा वा नेताको रुपमा रहँदै गर्दा उहाँ (ओली)ले राख्नुभएको वाणी र अडानबाट नेपालमा धोती लाउनेहरुको मन जसरी फाटिएको छ, आज मतले जोड्दैमा त्यो मन जोडिँदैन।
नेपालको सन्दर्भमा मात्रै होइन, अमेरिकादेखि युरोपसम्म र छिमेकका देशसम्म एउटा राष्ट्रवादी मुभमेन्ट देख्दै छौं। त्यस्तो मुभमेन्टले पहिले लोकप्रियता हासिल गर्छ। त्यसपछि निर्वाचित भएर आउँछ र बिस्तारैबिस्तारै त्यही निर्वाचनलाई निल्छ। हामीलाई आशंका छ। यो आशंका व्यवहारमा अनुवाद नहोस् भन्ने हामी चाहन्छौं। तर, यो बेलामा हामीले खबरदारी नगरे कसले गर्ने? कोही न कोही चाहिन्छ। कोही बरालिन लाग्यो भने खबरदारी गर्ने यो संसदमा कोही त चाहिन्छ। त्यसका निम्ति हामी प्रतिपक्षमा बस्न चाहन्छौं।
हाम्रो अन्तर्राष्ट्रिय सम्बन्धलाई सम्माननीय प्रधानमन्त्रीजीले सन्तुलित र नयाँ ढंगले लिएर जान्छौं भन्नुभएको छ। हामी प्रतिपक्षीको बेन्चमा बसेर सम्माननीय प्रधानमन्त्रीज्यूको यो अग्रसरतालाई सम्पूर्ण रुपले साथ दिन चाहन्छौं। कहीँकतै कमजोरी पनि नहोस्, कहीँकतै हामी बरालिने काम पनि नहोस्। तर, त्यसका निम्ति पनि सरकारलाई सम्झाउने, कतिपय बेलामा बाटो देखाउनका निम्ति, घच्घच्याउनका निम्ति प्रतिपक्षी चाहिन्छ। हामी त्यसैले प्रतिपक्षको बेन्चमा बस्न चाहन्छौं।
अन्त्यमा, निर्वाचन लड्दै गर्दाको एउटा अनुभव छ। निर्वाचन लड्दै गर्दा नेकपा एमालेका अध्यक्षले मेरो निर्वाचन क्षेत्रमा आएर भन्नुभएको थियो– 'यो केटो सेलिब्रेटी हो, फोटो खिचाउन काम लाग्छ।'
मैले भनेँ– केही छैन। कम्युनिस्टहरुमध्येको सबैभन्दा शुद्ध कम्युनिस्ट विप्लवले मेरो र्यालीमा बम पड्काउनुभयो। मसँग निर्वाचन लड्दै गरेका साथीहरुले भन्नुभयो– यो त कांग्रेस आफैंले पड्काएको। नेकपा एमालेका अध्यक्षले कहीँकतै भन्नुभयो रे– कांग्रेसले पड्काएको हुनसक्छ।
हामीले भन्यौं, चुनावको बेला यस्तै हो, केही छैन। जे भन्न पनि पाइन्छ। तर, सम्माननीय केपी ओली अब नेकपा एमालेको अध्यक्ष होइन, नेपालको प्रधानमन्त्री हो। अब जे पनि बोल्न पाइन्न। प्रत्येक चोटि बोलेको कुराको हिसाबकिताब दिनुपर्छ। र यो सदनमा हिसाबकिताब माग्न कोही चाहिन्छ। त्यसैले कांग्रेस त्यहाँ बसेर प्रत्येक कुराको हिसाबकिताब खोज्छ। त्यसकारणले प्रतिपक्षमा बस्छ।
हाम्रो शुभकामना छ, सम्माननीय प्रधामन्त्रीज्यूलाई, सफल कार्यकालको लागि। प्रधानमन्त्रीज्यूबाट पनि सफल प्रतिपक्षको लागि हामीले शुभकामना प्राप्त गर्छौं भन्ने अपेक्षा गर्दछौं। धन्यवाद!
(प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने क्रममा आइतबारको संसद् बैठकमा कांग्रेसका सांसद थापाले राखेको मन्तव्यको सम्पादित अंश।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।