चितवन– निर्माणाधीन नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत अति पहिरोग्रस्त क्षेत्रमा ‘जुट नेट’ बिच्छाउने कार्य धमाधम चलिरहेको छ। अधिकांश स्थानमा पहरो काटेर सडक बिस्तार गरिएकोले पहिरो नियन्त्रणका लागि भन्दै गत सातादेखि जुट नेट बिच्छाउन सुरु गरिएको हो।
भरतपुर महानगरपालिका वडा नम्बर–२९ मा पर्ने सेतीदोभानमा अहिले जुट नेट बिच्छाउने काम भइरहेको नारायणगढ–मुग्लिन सडक निर्माण आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी शिव खनालले बताए।
इन्जिनियर खनालका अनुसार सेतीदोभान बाहेक सिमलताल र जलबिरेदेखि मुग्लिनसम्मका अधिकांश क्षेत्रमा जुट नेट बिच्छाइनेछ। उनले भने, ‘अघिल्लो वर्ष चोरखोलादेखि कालीखोलासम्मको क्षेत्रमा धेरै पटक पहिरो गएर सडक अवरुद्ध भयो। यसपटक जैविक प्रविधि अपनाई पहिरो नियन्त्रण गर्न खोजिएको हो।’
ती क्षेत्रमा अन्य स्थानको तुलनामा धेरै क्षेत्रफलमा पहरो काटिएको र चट्टानको बनोट कमजोर रहेकाले पहिरोको जोखिम हुने गरेको उनले बताए।
अघिल्लो वर्ष २३ किलो र भालुढुंगामा मात्रै जुट नेटको प्रयोग गरिएको थियो। ती क्षेत्रमा प्रयोग गरिएका जुट नेट तत्कालीन समयमा प्रभावकारी देखिएको र दीर्घकालीन प्रभावबारे अर्को वर्ष मात्रै थाहा पाउन सकिने खनालको भनाइ छ।
सडक निर्माणका लागि ठेक्का पाएका कम्पनीले पहिरो रोकथाम गर्न आवश्यक उपाय अवलम्बन गर्नुपर्ने सम्झौता अनुरुप हाल वुडहिल लामा जेभी र सुप्रिम रौताहा जेभीले जुट नेट बिच्छाउने काम गरिरहेका छन्।
नारायणगढ–मुग्लिन सडक खण्डभरि ३३ वटा स्थानलाई पहिरोको अधिकतम जोखिम भएको क्षेत्रका रुपमा सूचीकृत गरिएको छ। पहिरो जानसक्ने सम्भावित क्षेत्रमध्ये केही स्थान दोस्रो खण्डमा पनि पर्ने भएकाले निर्माण कम्पनी वुडहिल लामा जेभीले सेतीदोभान र सिमलतालमा जुट नेटिङको कामलाई पनि सडक निर्माणसँगै अगाडि बढाइरहेको छ।
सेतीदोभानमा जुट नेटको काम वुडहिल लामा जेभीले पेटी ठेकेदारका रुपमा बायोमेट्रिक इन्जिनियरिङ प्राइभेट लिमिटेडलाई जिम्मा दिएको छ।
बायोमेट्रिक इन्जिनियरिङका सुपरभाइजर राजु श्रेष्ठका अनुसार अघिल्लो सातादेखि सिमलताल र सेतीदोभानमा एकैसाथ काम थालिएको हो। भीरमा चढेर नेट बिच्छाउनुपर्ने भएकाले यो काम जोखिमपूर्ण हुने उनले बताए।
जोखिमपूर्ण, आवश्यक सीप र तालिमको कमी तथा कामदारको अभावले द्रूत गतिमा काम अघि बढाउन नसकिएको सुपरभाइजर श्रेष्ठ बताउँछन्।
उनले भने,‘जुट नेटिङ गर्दा आवश्यक सामग्रीको लागत कम पर्छ। तर जोखिमपूर्ण काम भएकाले कामदार पाउन मुस्किल छ। यदि, पाइहाले पनि पारिश्रमिक धेरै दिनुपर्छ।’
निर्माण सम्झौताअनुसार सडक निर्माण गरिसक्नुपर्ने अन्तिम मितिमा जुट नेटिङको काम पनि सक्नुपर्ने इन्जिनियर खनाल बताउँछन्।
जुट नेटले कसरी रोक्छ पहिरो?
जुट नेट जुटको डोरीबाट तयार गरिएको जाली हो। पहिरो नियन्त्रण गर्न प्रयोगमा ल्याइने यो एक जैविक प्रविधि हो। जुट नेटलाई पहिरोग्रस्त क्षेत्रहरु विशेष गरि भीरपाखामा बिच्छाइन्छ। यसलाई भीरमा यथास्थितीमा रहोस् भन्नका लागि काठको किला बनाएर ठोक्ने गरिन्छ।
अल्पकालिन रुपमा यसले आकाशबाट परेको पानीलाई भिरोलो सतहबाट बग्न नदिई समथर स्थानमा पुग्न मदत गर्दछ। जसले गर्दा पानीले भीरपाखाबाट माटो तथा ढुंगालाई बगाउन पाउँदैन र पानी जमिनको भित्री सतहसम्म पनि पुग्न नसक्ने भएकोले पहिरो जाने खतरा कम हुन्छ।
विज्ञहरुका अनुसार दिर्घकालिन रुपमा पनि यसको प्रभाव पर्दछ। जब भिरपाखामा बिच्छाइएको नेट कुहिन थाल्दछ। सो स्थानमा बोटबिरुवा तथा झारपात उम्रिन र बढ्नका लागि अनुकुल वातावरण मिल्ने गर्दछ। बोटबिरुवाहरु भएको ठाउँमा जराले जमिनको सतहलाई समाएर राख्ने भएकोले पहिरो तथा भु–क्षयको सम्भावना कम हुने विज्ञहरु बताउँछन्।
यसअघि यो प्रविधीलाई बुटवल–पाल्पा सडक खण्डमा पनि प्रयोगमा ल्याइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।