चितवन– नारायणगढ–मुग्लिन सडकखण्डको काम अन्तिम चरणमा रहे पनि पुनः म्याद थपका लागि सिफारिस भएको छ। अझै कति समय यो बाटोमा सास्ती बेहोर्नुपर्न हो भन्ने धेरैलाई चिन्ता छ। उक्त सडक खण्डको धुलो र जाममा यात्रा गरेर आजित भइसकेका यात्रुलाई यो सडक कुनै दिन फराकिलो र चिल्लो बन्नेछ भन्ने कुरा अपत्यारिलो लाग्ला। तर, सडक स्तरोन्नतिको काम सकिएपछि नारायणगढ-मुग्लिन सडक अन्तर्राष्ट्रिय स्तरको बन्ने आयोजनाले जनाएको छ। काठमाडौं र पोखरालाई देशका अन्य स्थानसम्म जोड्ने मुख्य मार्गका रुपमा रहेको सो सडकखण्डको काम ७७ प्रतिशत मात्र सकिएको छ। जबकि नारायणगढ-मुग्लिन सडक आयोजनाको म्याद तीन पटकसम्म थपेर पनि गत फेब्रुअरीमा सकिसकेको हो। अहिले चौथो पटक आयोजनाको म्याद थपका लागि सिफारिस भएको छ।
सन् २०१५ को अप्रिलबाट सुरु भएको नारायणगढ-मुग्लिन सडक स्तरोन्नतिको काम किन समयमा सकिएन र अहिलेसम्म कस्ता प्रगति भए भन्ने धेरैलाई चासोको विषय बन्ने गरेको छ।
चौथो पटक म्याद थपका लागि सिफारिस
नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत हालसम्म ३ पटक म्याद थप गरेर समय सकिएको छ तर काम सकिएको छैन। थपिएको मितिले आयोजना निर्माणको काम गत फेब्रुअरी २० मा सकिनुपर्ने थियो। तर, तीन चरणका निर्वाचन तथा सवारी आवागमनको समस्याले गर्दा काममा ढिलाइ भएको निर्माण कम्पनीहरुले बताउँदै आएका छन्। सोही कारण आयोजनाले आगामि मे ३० सम्ममा काम सक्ने गरी पुनः म्याद थप गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सिफारिस गरिसकेको छ।
‘हामीले म्याद थपका लागि सिफारिस गरिसकेका छौं। तर, हालसम्म मन्त्रालयबाट स्वीकृति प्राप्त भइसकेको छैन’, आयोजनाका इन्जिनियर शिव खनालले भने, 'अब थपिने समयमा सडक निर्माणको काम सकिनेछ। थोरै मात्र पहरो काट्न बाँकी रहेको र सडक कालोपत्रे गर्ने काम छिटो हुने हुँदा सिफारिस गरिएको थप म्यादमा काम सकिनेमा ढुक्क छौं।' यद्यपि, म्याद थपको सिफारिसअघि निर्माण कम्पनीहरुले भने सडक स्तरोन्नतिको पूरा काम सक्नका लागि अझै करिब ३ वर्ष समय थपिनुपर्ने माग गरेका थिए।
यसअघि २ वर्षको समयसीमा सकिएपछि पहिलो पटक साढे ४ महिनाका लागि म्याद थप गरिएको थियो। भूकम्प, नाकाबन्दी, सवारी व्यवस्थापन, चाडपर्व, वर्षात जस्ता कारण देखाउँदै २ पटक गरी थप साढे ५ महिनाको समय पनि आयोजनले पार गरिसकेको छ।
सडक निर्माणको प्रगति
सन् २०१५ को अप्रिलबाट २ वर्षमा पूरागर्ने लक्ष्यसहित सुरु भएको निर्माण कार्य थप १ वर्ष समय सकिदाँ पनि ७७ प्रतिशत काम मात्र सकिएको छ। आँपटारीदेखि मुग्लिनसम्मको सडकलाई ३ खण्डमा विभाजन गरी ३ छुट्टाछुट्टै कम्पनीसँग निर्माण सम्झौता गरिएको हो।
आँपटारीदेखि दासढुंगासम्म (लम्बाई–१३ किमी) को पहिलो खण्डमा निर्माण कार्य गरिरहेको बिएलए एसपिसी जेभीले हालसम्म ८० प्रतिशत काम सकेको बताएको छ। दासढुंगादेखि जुगेडीसम्मको केही किलोमिटर सडकमा कालोपत्रे (पिच) गर्न सुरु नै गरिएको छैन। तर आँपटारी, रामनगर लगायत बाँकी क्षेत्रमा भने दोस्रो चरणको कालोपत्रे पनि सकिएको छ। यो खण्डलाई निर्माणका हिसाबले अन्य खण्डमध्ये सहज मानिएको छ। यो खण्डमा सडक ११ मिटर फराकिलो बनाइनेछ।
उता, दोस्रो खण्डको निमार्ण गर्ने ठेक्का पाएको वुडहिल लामा जेभीले सबैभन्दा धेरै ८७ प्रतिशत काम सिद्याएको आयोजनाले जनाएको छ। भरतपुर महानगरको वडा नम्बर–२९ अन्तर्गत दासढुंगादेखि सिमलतालसम्मको क्षेत्र ओगट्ने यो खण्डमा अधिकांश स्थानमा दुई चरणको कालोपत्रे पुरा भएको निर्माण कम्पनीका कन्ट्रयाक्ट म्यानेजर रविन्द्र श्रेष्ठले जानकारी दिए। यो खण्डमा पनि सडक ११ मिटर नै फराकिलो बनाइनेछ।
सडक निर्माणका लागि संवेदनशील र जटिल क्षेत्र मानिएको सिमलतालदेखि मुग्लिनसम्मको खण्ड ३ मा ६९ प्रतिशत मात्र काम पूरा भएको छ। सुप्रिम रौताहा जेभीले निर्माण कार्यको जिम्मा पाएको सो खण्डको चेपाङ डाँडामा करिब ३ सय मिटर पहरो काट्ने काम बाँकी रहेको आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए। भौगोलिक हिसाबले पनि अप्ठेरो पहाडी इलाका भएकाले सो क्षेत्रमा कामको रफ्तार बढाउन नसकिएको खनालको तर्क छ।
इन्जिनियर खनालका अनुसार ती क्षेत्रमा ९ मिटर फराकिलो सडक बनाउनुपर्ने हुन्छ। सडक छेउको पहाड करिब ६० मिटरसम्म अग्लो भएकाले भित्तो काट्न कठिन भएको उनले बताए।
आयोजनाको सूचना अधिकारी समेत रहेका इन्जिनियर खनालले भने, ‘सो क्षेत्रमा सडकभन्दा तल त्रिशुलीसम्म पनि ठाडो भिर छ, माथि पनि ठाडै पहाड छ। क्यान्टिलिभर राख्ने भनिए पनि निर्माण कम्पनीसँग सम्झौता हुन सकेन। थप पहाड काट्नुपर्ने भएपछि सो खण्डमा तोकिएको भन्दा बढी समय लागेको हो।’ ठूला–ठूला आरसिसी स्ल्याब निर्माण गरी सडकभन्दा बाहिरसम्म पुग्ने गरी बिछ्याएर सडक चौडा बनाउने प्रविधि क्यान्टिलिभर हो।
नपुग भएको करिब साढे १ मिटर चौडाइका लागि क्यान्टिलिभर नै उपयुक्त हुने आयोजनाको ठम्याइ थियो। तर, ती ठाउँमा क्यान्टिलिभर राख्ने विषयमा ठेकेदार कम्पनीसँग आर्थिक कुरा नमिल्दा ठेक्का प्रक्रिया अगाडि बढ्न नसकको हो। अहिले सो स्थानमा पूरा चौडाइ ९ मिटर बनाउन पहरो काट्ने काम अन्तिम चरणमा छ।
१८ मध्ये ४ पुलको मात्र निर्माण चल्दै
नारायणगढ–मुग्लिन सडक खण्डमा जम्मा १८ पुल छन्। जसमध्ये हाल ४ वटा पुलको मात्रै निर्माण कार्य चलिरहेको छ। दासढुंगा र जलबिरे तथा खानी खोला र मौरी खोलामा पुल निर्माणका लागि गत वर्षको नोभेम्बरमा ठेक्का दिइएको थियो। इन्जिनियर खनालले भने, ‘२१ महिनामा सक्नेगरी पुल निर्माणको जिम्मा दिइएको छ।’
बाँकी पुल निर्माणको ठेक्का प्रक्रिया यसअघि नै सुचारु हुने भनिए पनि हालसम्म सुरु हुन नसकेको खनालले जानकारी दिए। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ठेक्का प्रक्रियामा गरेको ढिलासुस्तीबारे भने उनले खुलाएनन्।
निर्माणका क्रममा लामो समय आवतजावतमा हैरानी बेहोरेका यात्रुले सो खण्डमा मन्त्रालयले पुल निर्माण प्रक्रियालाई अगाडि नबढाउँदा थप सास्ती बेहोर्नुपर्ने देखिएको छ।
विश्व बैंकको दुई अर्ब ९० करोड रुपैयाँ ऋण सहयोगमा नारायणगढ-मुग्लिन सडकखण्ड विस्तार थालिएको हो। नारायणगढ–मुग्लिन सडक भएर औसतमा दैनिक ७ हजार ३ सय गाडी ओहोर–दोहोर गर्ने गरेको तथ्यांक छ।
तेस्रो चरणको कालोपत्रे सुरु
नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत पहिलो र दोस्रो चरणको कालोपत्रे सकिएका स्थानमा शुक्रबारबाट तेस्रो चरणको कालोपत्रे सुरु गरिएको इन्जिनियर खनालले जानकारी दिए। उनका अनुसार तिन चरणकै कालोपत्रे सकिएपछि पिचको मोटाई १ सय ६० मिलिमिटर अर्थात् १६ सेन्टिमिटर रहनेछ।
तीन वटै खण्ड गरी हालसम्म २० दशमलब ५ किलोमिटर सडकमा पहिलो चरणको कालोपत्रे गरिसकिएको छ। त्यस्तै १७ किलोमिटरमा दोस्रो चरणको कालोपत्रे पनि सम्पन्न भइसकेको छ। सडक खण्डको कुल लम्बाई ३६ दशमलब ४ किलोमिटर भए पनि निर्माणपछि सो दुरीमा केहि कमी आउने आयोजनाले जनाएको छ।
पहिरोग्रस्त क्षेत्रमा ‘जुट नेट’ बिच्छाउन सुरु
निर्माणधीन सडक खण्डअन्तर्गत अति पहिरोग्रस्त क्षेत्रमा ‘जुट नेट’ बिच्छाउन सुरु गरिएको छ। अधिकांश स्थानमा पहरो काटेर सडक विस्तार गरिएकाले पहिरो नियन्त्रणका लागि जुट नेट बिच्छाउन थालिएको हो।
भरतपुर महानगरपालिका वडा नम्बर–२९ मा पर्ने सेतीदोभानमा अहिले जुट नेट बिच्छाउने काम भइरहेको इन्जिनियर खनालले जानकारी दिए।
इन्जिनियर खनालका अनुसार सेतीदोभान बाहेक सिमलताल र जलबिरेदेखि मुग्लिनसम्मका अधिकांश क्षेत्रमा जुट नेट बिच्छाइनेछ। उनले भने, ‘अघिल्लो वर्ष चोरखोलादेखि कालीखोलासम्मको क्षेत्रमा धेरै पटक पहिरो गएर सडक अवरुद्ध भयो। यसपटक जैविक प्रविधि अपनाई पहिरो नियन्त्रण गर्न खोजिएको हो।’
ती क्षेत्रमा अन्य स्थानको तुलनामा धेरै क्षेत्रफलमा पहरो काटिएको र चट्टानको बनोट कमजोर रहेकाले पहिरोको जोखिम हुने गरेको उनले बताए।
अघिल्लो वर्ष २३ किलो र भालुढुंगामा मात्रै जुट नेटको प्रयोग गरिएको थियो। ती क्षेत्रमा प्रयोग गरिएका जुट नेट तत्कालीन समयमा प्रभावकारी देखिएको र दीर्घकालीन प्रभावबारे अर्को वर्ष मात्रै थाहा पाउन सकिने खनालको भनाइ छ।
सडक निर्माणका लागि ठेक्का पाएका कम्पनीले पहिरो रोकथाम गर्न आवश्यक उपाय अवलम्बन गर्नुपर्ने सम्झौता अनुरुप हाल वुडहिल लामा जेभी र सुप्रिम रौताहा जेभीले जुट नेट बिच्छाउने काम गरिरहेका छन्।
नारायणगढ–मुग्लिन सडक खण्डभरि ३३ वटा स्थानलाई पहिरोको अधिकतम जोखिम भएको क्षेत्रका रुपमा सूचीकृत गरिएको छ। पहिरो जानसक्ने सम्भावित क्षेत्रमध्ये केही स्थान दोस्रो खण्डमा पनि पर्ने भएकाले निर्माण कम्पनी वुडहिल लामा जेभीले सेतीदोभान र सिमलतालमा जुट नेटिङको कामलाई पनि सडक निर्माणसँगै अगाडि बढाइरहेको छ।
सेतीदोभानमा जुट नेटको काम वुडहिल लामा जेभीले पेटी ठेकेदारका रुपमा बायोमेट्रिक इन्जिनियरिङ प्राइभेट लिमिटेडलाई जिम्मा दिएको छ।
बायोमेट्रिक इन्जिनियरिङका सुपरभाइजर राजु श्रेष्ठका अनुसार अघिल्लो सातादेखि सिमलताल र सेतीदोभानमा एकैसाथ काम थालिएको हो। भीरमा चढेर नेट बिच्छाउनुपर्ने भएकाले यो काम जोखिमपूर्ण हुने उनले बताए।
जोखिमपूर्ण, आवश्यक सीप र तालिमको कमी तथा कामदारको अभावले द्रूत गतिमा काम अघि बढाउन नसकिएको सुपरभाइजर श्रेष्ठ बताउँछन्।
उनले भने,‘जुट नेटिङ गर्दा आवश्यक सामग्रीको लागत कम पर्छ। तर जोखिमपूर्ण काम भएकाले कामदार पाउन मुस्किल छ। यदि, पाइहाले पनि पारिश्रमिक धेरै दिनुपर्छ।’
निर्माण सम्झौताअनुसार सडक निर्माण गरिसक्नुपर्ने अन्तिम मितिमा जुट नेटिङको काम पनि सक्नुपर्ने इन्जिनियर खनाल बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।