प्योङचाङ– दक्षिण कोरियाको प्योङचाङमा आजदेखि सुरु हुने पाराओलम्पिक खेलकुदमा उत्तर र दक्षिण कोरियाले संयुक्त मार्च पास नगर्ने भएका छन्। दुबै देशको विवादित क्षेत्र अंकित झण्डाका साथमा मार्च पास गर्न उत्तरको प्रस्तावलाई दक्षिण कोरियाले अस्विकार गरेको हो।
यसअघि प्योङचाङमा नै गत फेब्रुअरी ९ मा भएको शीतकालीन ओलम्पिकको उद्घाटन सत्रमा भने दुबै कोरियाली टोलीले संयुक्त झण्डामुनि मार्चपास गरेका थिए।
यो घटनालाई दुई कोरियाका बीचमा आपसी सम्बन्ध विस्तारको केन्द्रबिन्दुका रुपमा हेरिएको थियो। यसपछि दुबै देश शिखर सम्मेलन गर्न सहमत भईसकेका छन्। सम्मेलनमा कोरियाली प्रायद्धिपको तनाव कम गर्ने विषयमा छलफल हुने बताइएको छ।
किन बनेन सहमति?
दक्षिण कोरियाली पाराओलम्पिक समितिलाई उदृत गर्दै दक्षिणको सरकारी समाचार संस्था योनहापले लेखेको छ–‘उत्तर कोरियासँगको छलफलपछि दुबै देशका अधिकारी पाराओलम्पिकको उद्घाटन सत्रमा छुट्छुट्टै मार्च पासमा सहभागी हुने निर्णयमा पुगेका छन्।’
संयुक्त झण्डामा दुबै देशको नक्शालाई सेतो रंगको पृष्ठभूमिमा निलो रंगले अंकित गरिएको थियो। समितिका अनुसार उत्तर कोरिया विवादास्पद डोडको द्विपलाई संयुक्त झण्डामा अंकित गर्न चाहन्थ्यो। जसलाई जापानले आफ्नो झण्डामा दर्शाउँदै आएको छ। डोडको द्विपलाई उत्तर–दक्षिण कोरिया तथा जापानले आफ्नो क्षेत्रको रुपमा दावा गर्दै आएका छन्।
तर दक्षिण कोरियाले भने अन्तर्राष्ट्रिय पारा ओलम्पिक समितिको सिफारिसअनुसार खेल आयोजनामा राजनीतिकरण गर्न नहुने तर्क गरेको थियो। सोहिअनुरुपमा दक्षिण कोरियाली पाराओलम्पिक समितिले एक अर्कामा सम्मान गर्दै अलग–अलग मार्च गर्ने निर्णयमा पुगेको बताएको छ।
शीतकालीन ओलम्पिकका दौरानमा संगुक्त मार्च पासका अलावा दक्षिण कोरियाली महिलाहरुको आइस हक्की टोलीमा उत्तरका खेलाडीहरुलाई पनि समावेश गरिएको थियो।
सो उद्घाटन समारोहमा उत्तरको विशेष प्रतिनिधी मण्डल दक्षिण पुगेको थियो। उक्त भ्रमण टोलीमा उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनीसमेत सामेल भएकी थिइन्।
४९ देशका ५ सय ७० एथलेट सहभागी
आजदेखि सुरु हुने शितकालीन पाराओलम्पिक खेलकुद आगामि मार्च १८ सम्म चल्नेछ। ४९ देश सम्मिलित प्रतियोगिताको आज बेलुका एक भव्य कार्यक्रमका बीच दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनले उद्घाटन गर्नेछन्।
विश्वभरका ५ सय ७० एथलेटको सहभागिता रहने ओलम्पिकमा ८० स्पर्धाका लागि ६ स्थानमा प्रतिस्पर्धा हुनेछ।
एजेन्सीहरुको सहयोगमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।