क्विन्सल्यान्ड– अस्ट्रेलियाका दुई समलिंगी जिल किन्ड र जो ग्रान्ट लामो समयदेखि डिसेम्बर १५ को प्रतीक्षामा थिए। जुन दिन सन् २०१० देखि सम्बन्धमा रहेका उनीहरुको विवाहलाई स्थानीय सरकारले मन्जुरी प्रदान गरेको थियो।
तर त्यसको ठिक ४७ दिनपछिको बिहान भने किन्डले कहिल्यै प्रतीक्षा गरेकी थिइनन्। जतिबेला उनको जिन्दगी सहारा ढल्यो। लामो समयदेखि दुर्लभ क्यान्सरबाट पीडित ग्रान्टले सदाका लागि उनको साथ छोडिन्।
जिल किन्ड र जो ग्रान्टको जोडी अस्ट्रेलियामा समलिंगी विवाहको मान्यता पाएको पहिलो जोडी हो। अस्ट्रेलियाको क्विन्सल्यान्डमा बस्दै आएको यो जोडी पछिल्लो ८ वर्षदेखि विवाह दर्ताको पर्खाइमा थियो।
गत डिसेम्बरमा सरकारले वैवाहिक नियममा परिवर्तन गर्यो। जसमा दीर्घ रोग लागेका व्यक्तिसँग बस्दै र हेरचाह गर्दै आएका समलिंगीको पनि विवाह हुन सक्ने भन्दै बाटो खोलियो। अन्ततः सो जोडीको संकल्पले डिसेम्बर १५ मा मूर्तरुप लियो। समलिंगी जोडीको विवाहलाई मान्यता दिने अस्ट्रेलिया २६औं देश बनेको छ।
‘भावनात्मक, सामाजिक, सांस्कृतिक, आर्थिक रुपमा तथा क्यान्सरसँग एकसाथ संगतमा रहेको भए पनि कानुनी रुपमा हामी ४८ दिनका मात्र श्रीमान्–श्रीमती भयौँ। जोसँगबाट मैले त्यो मानसिक सन्तुष्टि लिन पाएँ,' किन्डले भनिन्।
संसदबाट विवाहका लागि बाटो खुलेको दिन
उनीहरुको त्यो ऐतिहासिक विवाहलाई क्विन्सल्यान्डको संसदमा प्रान्तीय महान्याधिवक्ता इभेती डाथले सर्वजनिक गरेका थिए।
‘गत वर्षको डिसेम्बर १५ मा भएको घटनालाई आज सम्झिँदा आफूलाई गौरवान्वित महसुस गरिरहेको छु। त्यो यस्तो दिन थियो जतिबेला सञ्चारमाध्यमहरुले क्विन्सल्यान्डमा अस्ट्रेलियाको पहिलो समलैंगिक विवाहको मान्यता दिएको खबर प्रसारण गरिरहेका थिए,' भावुक मुद्राबाट केही उत्साहित बन्दै किन्डले भनिन्, ‘ती हरेक समाचारमा हाम्रो नाम सुनिन्थ्यो र दृश्यमा देखिन्थ्यो, हामी दुवैको एकसाथ खिचिएको तस्बिर पनि।’
आम जनताको अत्याधिक मागअनुरुप उनीहरुको विवाह हुनुभन्दा ठिक एक महिनाअघि मात्र संसदबाट समलैंगिक विवाहलाई मान्यता दिने निर्णय अप्रत्यक्ष रुपमा बहुमतले पारित भएको थियो।
संसदको सो निर्णयपश्चात् समलिंगी जोडीहरु निकै उत्साहित भए। संसदमा ६१.६ प्रतिशत मत प्रस्तावको पक्षमा खसेको थियो। सो घोषणापछि संसदमा उपस्थित अस्ट्रेलियाकी पहिलो र एकमात्र समलिंगी सांसद पेन्नी ओङले आफूलाई सम्हाल्न सकिनन्। उनका आँखाबाट हर्षका आँसुहरु खसेको देख्न सकिन्थ्यो।
संसदमा उपस्थित अन्य सांसदहरुले निकै भावुक बनेकी सांसद ओङलाई बधाई दिएका थिए।
सो खबरपछि उत्साहित हुनेमा लामो समयदेखि सँगै बस्दै आएका तर एक जना दीर्घ रोगको सिकार भएका समलिंगी जोडी पनि थिए। कतिपय जोडी लामो समयदेखिको प्रतीक्षाको फल पाएकोमा खुसी भइरहँदा कतिपयले भने अब यौन अनुभूति लिने कानुनी बाटो खुल्यो भन्ने धारणा व्यक्त गरिरहेका थिए।
२४ घन्टासम्म चलेको वैवाहिक समारोह
तर त्यो दिन क्विन्सल्यान्डको सो जोडीले भने आफ्ना परिवार र साथीहरुका बीचमा सनसाइन कोस्टस्थित आफ्नै घरको बगैँचामा विवाह गरेको बिबिसीले लेखेको छ।
महान्याधिवक्ता दाथले परिवारको स्विकृतिपछि मात्रै सो विवाहको मान्यता दिन सक्ने संसदले निर्णय गरेको बताइन्। उनका अनुसार ग्रान्ट र किन्डको विवाहलाई स्विकृति प्रदान गर्न सरकारी अधिकारीहरु लामो दुरी तय गरेर विवाहस्थल पुगेका थिए।
२४ घन्टासम्म चलेको सो वैवाहिक समारोहलाई अन्ततः आधिकारिकता प्रदान गरियो। महान्याधिवक्ता डाथका अनुसार क्विन्सल्यान्डका लागि जन्म, मृत्यु र विवाह दर्ता गर्ने कार्यालयका कर्मचारी करिब १ सय किमीको यात्रा तय गरेर ग्रान्ट र किन्डको विवाह दर्ताको प्रमाणपत्र प्रदान गर्न विवाहस्थल पुगेको अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पले लेखेको छ।
सन् २०१३ मै उनीहरुबीचमा विवाहकै स्वरुपमा प्रतिबद्धता व्यक्त गर्ने कार्यक्रम सम्पन्न भइसकेको थियो। किन्डले आफ्नो अनुभूति साटिन्, ‘हामीले सन् २०१३ देखि नै आफूलाई विवाहित सोचेका थियौँ। तर कानुनले मात्र हामीलाई विवाहित मानेको थिएन।’
एजेन्सीहरुको सहयोगमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।