अभिनेता विजय बराललाई फिल्म ‘कबड्डी’पछि धेरैले बिके भनेर चिन्छन्। अभिनयको ‘डिटेलिङ’मा विश्वास गर्ने विजयलाई उक्त फिल्मको सहायक भूमिका नै चिनाउनका लागि प्रशस्त भइदियो।
नाटकका दर्शकको मनमा उनले त्यसअघि नै छाप पारिसकेका थिए। मण्डला थिएटरका धेरै नाटकमा अभिनेताका रुपमा उनी छुटेनन्।
नाटकबाट खारिएका उनी जुन भूमिकामा देखिन्छन् दर्शकलाई मोहनी लगाउँछन्। ‘कबड्डी’पछि फिल्ममा उनी ‘मिस्टर झोले’मा देखिए, ‘झोले टुरिस्ट’का रुपमा। अभिनय रुचाइयो, पात्र पनि। तर, त्यसले ‘बिके’ पहिचान मेटाउन सकेन।
आगामी फिल्म ‘हुर्रे’बाट चाहिँ ‘बिके’को पहिचान मेटिने उनको अपेक्षा छ। अभिनेत्री केकी अधिकारीसँग एउटा पागल प्रेमी ‘कटाँसे’को भूमिकामा छन् उनी। उनलाई लागेको छ, ‘दर्शकले फिल्म हेरिदिए भने त्यसपछि म कटाँसे हुन्छु।’
फिल्ममा उनका साथै अनुप बराल, अंकित खड्का, राजाराम पौडेल जस्ता अभिनयका लागि गनिएका, मानिएका कलाकारहरु छन्। यसैगरी अहिलेका चर्चित अभिनेता अनुपविक्रम शाही पनि छन्। तर, फिल्मको केन्द्रीय भूमिकामा विजय नै छन्। त्यसैले उनी फिल्मबाट आशावादी छन्।
भन्छन्, ‘म आफैंलाई पनि काम गर्दा रमाइलो लागेको फिल्म हो। दर्शकलाई पनि रमाइलो लाग्छ भन्ने विश्वास छ।’
विजय अभिनयका भोका छन्। ‘जति अभिनय गर्न थालेँ, त्यति नै राम्रो अभिनय गर्ने भोक बढ्दै गयो,’ उनी भन्छन्।
अभिनय थालेपछि उनी अभिनयमै ‘बसेका’ छन्, अभिनय नै खाइरहेका छन्! अर्थात् विगत ५ वर्षदेखि मण्डला थिएटरमै उनको गाँस, बास र कपास छ। नाटकघरको सुरुवाती समयमा उनीसँग अरु केही सहकर्मी पनि थिए। मण्डला थिएटरको माथिल्लो तलामा रहेको अभिनयका ‘बाबाहरुको कुटी’ अरुले छाड्दै गए। अहिले उनी एक्लै छन्।
त्यसो त कपनमा उनको डेरा छ। त्यहाँ उनका भाइबहिनी बस्छन्। ‘नाटकघरमा बसेँ भने अभिनयकै सुर–चिन्ता हुन्छ। त्यसैमा एकोहोरिन पाइन्छ। त्यसैले यतै बस्छु। कोठामा त महिना–दुई महिनामा पुगिन्छ होला’, उनले आफ्नो बासस्थानतिर औंलो तेर्स्याउँदै भने।
रंगमञ्चमा सिक्ने र अभिनय गर्ने नियमित कर्मले मात्रै पुगेन उनलाई। एक वर्षअघि अभिनय पढ्न कलकत्ता पुगे। अभिनय विधामध्ये पनि ‘माइम’ सिके। यो रंगमञ्चको त्यस्तो विधा हो, जसले केही नहुँदा पनि दर्शकलाई भएको अनुभूति दिलाउँछ।
उनले अभिनय गरेर देखाए (भिडियोमा हेर्नुहोस्)।
खल्तीमा सिक्का नहुँदा पनि साँच्चै झिकिरहेको जस्तो।
गिलास नहुँदा पनि चिया पिइरहेको जस्तो।
कोही मान्छे नहुँदा पनि सामुन्नेमा कोही हिँडिरहेको जस्तो।
डुंगा खियाइरहेको जस्तो।
रंगमञ्चको भाषामा एकखालको इलुजन (भ्रम) भनिँदो रहेछ यसलाई। उनले भने, ‘चार्ली च्याप्लिनको जस्तो साइलेन्ट अभिनय हो। तर, यसमा कुनै ‘प्रोपर्टी’ (वस्तु)को प्रयोग हुँदैन।’
उनलाई ‘माइम’ सिकाउने गुरु निरञ्जन गोस्वामी यसका लागि भारतमा प्रसिद्ध मानिन्छन्। जसले भारतको प्रसिद्ध पद्मश्री अवार्ड हासिल गरेका छन्। बलिउडका प्रसिद्ध अभिनेता इरफान खान र नेपालका रंगकर्मी सुनील पोखरेललाई पनि गोस्वामीले नै पढाएका हुन्। भारतकै प्रसिद्ध नाटक पाठशाला नेसनल स्कुल अफ ड्रामामा लामो समय पढाएका उनी अहिले नेसनल माइम इन्स्टिच्युटमा आबद्ध छन्। विजय यो इन्स्टिच्युटको पहिलो ब्याचका विद्यार्थी बनेका छन्।
विजयको ब्याचमा १० भारतीय र दुई बंगलादेशी विद्यार्थी थिए। यीमध्ये विजयले ‘स्टुडेन्ट अफ द इअर’को पगरी पाए। ‘कम्तीमा मैले नेपालको एउटा विद्यार्थी थियो भन्ने पारेँ। यसले मलाई खुसी बनायो’, उनले भने।
सिकेर आएसँगै यसले विजयको अभिनयमा फरक आउनेछ। तर, उनीभित्र डर बढ्दै गएको रहेछ। उनी भन्छन्, ‘सिकाइले बुझाइको स्तर बढाउने रहेछ। तर, गराइमा भने कस्तो होला भन्ने डर पैदा हुँदो रहेछ।’
उनका अबका फिल्म र नाटकमा एक वर्षको सिकाइ देखिनेछ। यसका लागि उनी उत्साहित पनि छन्।
अनुहारले केन्द्रीय भूमिकाका लागि योग्यता निर्धारण गर्ने नेपाली फिल्ममा पछिल्लो समय अभिनयले ठाउँ पाउन थालेको छ। विजय जस्ता अभिनयका लागि अब्बल अभिनेताहरु पनि मुख्य भूमिकामा देखिन थालेका छन्। यसले विजयलाई ‘मान्छे अघि बढ्दै जाँदा एक दिन चुचुरोमा पुग्छ’ भन्ने महसुस गराएको छ।’
उनमा धेरै माथि पुग्ने महत्वाकांक्षा भने छैन। ‘जीवनभर यही गर्नुछ भने किन दौडिनु?’ उनको मान्यता छ।
बहुआयामिक अभिनयमा आफूलाई प्रमाणित गरेका विजयको पूर्व सपना भने कमेडियन हुने रहेछ।
उनले रहस्य खोले, ‘रंगमञ्चमा आउनुअघि म क्यारिकेचर राम्रो गर्थें।’
सर्लाहीमा जन्मेहुर्केका उनमा नेपाली हास्य अभिनेताहरु सन्तोष पन्त, दीपकराज गिरी, जितु नेपाल लगायतको प्रभाव थियो। टेलिसिरियल हेर्ने भएका कारण त्यस्तो छाप परेको थियो। तर, रंगमञ्चमा प्रवेश पाएपछि त्यो बाटो नै छाडिदिए।
भन्छन्, ‘अहिले क्यारिकेचरको क्षमतालाई फरक पात्रको फरक स्वर निकाल्दा मात्रै प्रयोग गर्छु।’
उनको अहिलेको कमेडी विधा सिचुएसनल भएकाले पनि क्यारिकेचरको काम पर्दैन। तर, थिएटरमा प्रवेश भने उनलाई क्यारिकेचरले नै दिलाएको हो।
सन् २००९ मा अभिनय सम्बन्धी ४५ दिनको कार्यशाला भएको थियो। भारतको नेसनल स्कुल अफ ड्रामा (एनएसडी)बाट गुरुहरु सहभागी रहेको सो कार्यशालाको अन्तर्वार्तामा उनी क्यारिकेचर गरेरै छनोटमा परेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।