काठमाडौं- हिजै अफिसबाट सूचना आएको थियो- भोलि बिहानैदेखि महिला दिवसका विभिन्न कार्यक्रमहरु छन्, फोटो कभर गर्नू।
अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसमा र्याली र महिला हिंसाविरुद्धका विशेष कार्यक्रम हुनु ठूलो समाचार होइन। यो त बर्सेनि नियमितता जस्तो भइरहेको छ। तर पनि आफ्नो ड्युटी पूरा गर्न बिहानै क्यामेरा भिरेर हिँडे भृकुटीमण्डप। ठूलो संख्यामा महिलाहरुको उपस्थिति भइसकेको रहेछ। उनीहरुको र्याली सहिदगेट, रत्नपार्क हुँदै राष्ट्रिय सभागृहमा पुगेर टुंगियो। जहाँ राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने कार्यक्रम थियो।
सो र्यालीमा सहभागी महिलाहरुले बोकेको प्ले कार्डमा लेखेको देख्न सकिन्थ्यो– हिंसा रोक, छोरीलाई सम्पत्ति होइन शिक्षा देऊ, महिलाको मात्र किन लिन्छौ नाम-घरधन्दा हो सबैको काम…'
जब म प्रदर्शनीमार्गमा गुडिरहेको थिएँ। एउटी महिला खरेटो लिएर सडक सफा गर्दै गरेको अवस्थामा भेटिइन्। हेर्दा निम्न वर्गीय लाग्ने ती महिलाको पिठ्युँमा थियो सानो नानी, जो धुलो खान विवश थियो।
अलि पर पुग्दा अर्की महिला पनि भेटिइन्, जो फोहोर उठाउने ठेलाभित्र बच्चा हालेर 'मुख जोर्ने दैनिकी'मा व्यस्त थिइन्।
अघि भरखरै सुकिला कपडा लगाएर महिला अधिकारको वकालत गरिरहेको र्यालीको फोटो खिचेर आएको मेरा लागि यी महिला भिन्न लागे। फोटो खिचेँ, फोटै अमिल्दो लाग्यो।
के यस्ता महिलाहरुलाई महिला दिवस, शिक्षा र अधिकारबारे जानकारी होला? अनि राष्ट्रपतिको 'सम्बोधन'मा यी महिलाहरुको अवस्थाबारे कुनै वक्तव्य आऊला?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।