पर्थ– अस्ट्रेलियामा हालसम्मकै सबैभन्दा पुरानो सन्देश भेटिएको छ। पश्चिम अस्ट्रेलियाको समुद्री किनारमा पर्थका एक दम्पतीले बोतलभित्र राखिएको अवस्थामा सो सन्देश फेला पारेका हुन्।
सो पत्र करिब १ सय ३२ वर्ष पुरानो भएको विज्ञहरुले बताएका छन्।
गत जनवरी २१ मा टोन्या इलम्यान र उनका पति क्याम इलम्यान पश्चिम अस्ट्रेलियाको दुर्गम समुद्री किनारमा हिँडिरहेका बेला सो बोतल बालुवाको थुप्रोमा भेटेका थिए।
सुरुमा बोतल खोलेर हेर्दा केही कागजले बेरिएको चिज देखेपछि नौलो लागे पनि त्यसपछि के गर्ने भन्ने अन्यौल भएको क्याम इलम्यानले बताए।
‘बोटलभित्र भिजेको अवस्थामा केही पुरानोजस्तो लाग्ने कागज फेला पर्यो। तर, त्यसपछि के गर्ने भन्ने उपाय हामीमाझ थिएन’, सो सन्देश भेट्दाको क्षण सम्झँदै क्यामले भने, ‘त्यसपछि सो बोटललाई घरमा लग्यौँ र भिजेको कागजलाई ओभनमा राखेर सेकायौं।’
विज्ञहरुले सो सन्देश जर्मन पानीजहाजको आधिकारिक सूचना भएको पुष्टि गरेका छन्। सन्देशमा १२ जुन १८८६ भन्ने मिति समेत खुलाइएको छ।
विज्ञहरुका अनुसार जर्मन नौसेनाको सामुद्रिक प्रयोगशालाले महासागर तथा सामुद्रिक बाटोको विषयमा गरेको अध्ययनका क्रममा जर्मन पानीजहाज ‘पौला’बाट सो सन्देशसहितको बोतल समुद्रमा फालिएको थियो।
यसअघि १ सय ८ वर्ष पुरानो पत्र बोटलमा नै राखिएको अवस्थामा फेला परेको गिनिज बुक अफ वर्ल्ड रेकर्डमा सूचीकृत छ।
त्यो ‘कागज बेरिएको चुरोट’
पश्चिम अस्ट्रेलियास्थित वेज टापुको उत्तरतर्फ गत जनवरी २१ मा इलम्यान दम्पती तथा उनका साथीहरु घुम्न निस्केका थिए। जब समुद्री किनारमा उनीहरु सवार कार बालुवामा फस्यो तब टोन्या र उनका साथीले हिँड्ने निधो गरे।
‘टोन्याले किनारमा धेरै मात्रामा फोहोरको थुप्रो देखिन्। त्यसपछि उनले सो क्षेत्रमा फोहोर सफा गर्न सुरु गरिन्। जब बालुमामाथि रहेको फोहोरको थुप्रोमा रहेको बोतलमा उनको आँखा पर्यो तब उनले सो बोतल आफ्नो किताब र्याकमा सुहाउने बताइन्’, टोन्याका पतिले भने।
तर, आकर्षक र पुरानो लाग्ने सो बोतललाई क्यामले भने आफ्नो छोराकी प्रेमिकालाई उपहार दिन उपयुक्त हुने कुरा श्रीमती टोन्यासँग बाँडे। टोन्याले बोतलभित्र हेर्दा सुरुमा कागज बेरिएको चुरोटजस्तो लागेको र समुद्री छालले गर्दा बोतलमा पसेको हुनसक्ने अनुमान गरेकी थिइन्।
क्यामले बाँकी घटनालाई विस्तृतमा यसरी सम्झिए, ‘टोन्याले सुरुमा सो पत्र खोल्ने कोसिस गरिन्। तर, पानीले भिजेकाले अति नै नाजुक थियो। हामीले त्यसलाई सुरक्षित घरमा ल्यायौं। उक्त पत्रको ओसिलोपन सुकाउनका लागि हामीले ५ मिनेटजति ओभनमा राखेका थियौं। सुकेपछि हामीले त्यसलाई खोल्यौं। पत्रमा हातको लेखाई नबुझिए पनि प्रिन्ट गरिएको अक्षर भने स्पष्ट बुझ्न सकिन्थ्यो। जसमा लेखिएको थियो– यो पत्र पाउने बित्तिकै जर्मन वाणिज्य दूतावासमा सम्पर्क गर्नुहोला।’
पछि पत्रमा हस्तलिखित मिति १२ जुन १८८६ तथा पानीजहाजको नाम पौला लेखिएको समेत पत्ता लगाएको क्याम बताउँछन्।
पत्रमा लेखिएको निकै पुरानो मिति देखेर इलम्यान दम्पतीलाई सुरुमा सो पत्र वास्तविकताबाट टाढा छ जस्तो लाग्यो। तर, थप जानकारी मिल्छ कि भनी क्यामले सो बोतलबारे अनलाइनबाट जानकारी लिन कोसिस पनि गरे। अन्ततः उनी पश्चिमी अस्ट्रेलियाली संग्रहालयमा आफ्नो कौतुहलता मेटाउन बोतल लिएर पुगे।
सन्देशको ऐतिहासिक पृष्ठभूमि
जर्मनी र नेदरल्यान्ड्सका विशेषज्ञहरुसँगको परामर्शपछि सो पत्रलाई सबैभन्दा पुरानो पत्रको रुपमा संग्रहालयले प्रमाणित गरेको संग्रहालयका सहायक व्यवस्थापक डा रोस एन्डरसनले जानकारी दिए।
‘अविश्वसनीय रुपमा जर्मनीमा गरिएको अभिलेखीय खोजबाट पानीजहाज पौलाको मौसमबारे जानकारी दिइने पत्रिका फेला पर्यो। सो पत्रिकामा १२ जुन १८८६ मा पानीजहाजका चालकले उक्त खबरसहितको बोटल समुद्रमा फाल्दा गरेको दर्ता समेत भेटिएको छ। मिति, नौसेनाको लोगो र चालकले दर्ता गरेको सूचना, बोतलमा भएको पत्रको बेहोरासँग मेल खाएको छ,’ डाएन्डरसनले प्रस्ट्याए।
सो सन्देशमा पानीजहाजको नाम पौला, यात्रा सुरु गरिएको स्थान कार्डिफ, मिति तथा बोतल फालिएको स्थानको अक्षांश र देशान्तरसमेत खुलाइएको छ।
प्राप्त अभिलेख अनुसार पानीजहाजका चालकले दिएको रिपोर्टमा भनिएको छ– ‘वेल्सको कार्डिफबाट पानीजहाज इन्डोनेसिया जाने क्रममा दक्षिणपूर्वी हिन्द महासागरमा सन्देश राखिएको बोतललाई फालिएको हो। सो बोतल करिब १२ महिनाभित्रमा अस्ट्रेलियाको समुद्री किनारमा प्राप्त भएको थियो। त्यसपछि सो बोतललाई बालुवामुनि गाडिएको थियो।’
६९ वर्ष लामो जर्मन प्रयोगका दौरानमा त्यस्ता हजारौं सन्देशबाहक बोतलहरु समुद्रमा फालिएको थियो। जसमा ६ सय ६२ वटा सन्देशमा मात्रै मिति उल्लेख गरिएको थियो। तर, सो अवधिमा एउटा पनि त्यस्ता बोतल फिर्ता आएको पाइएन। पछिल्लो पटक मिति उल्लेख नगरिएको एक सन्देश भएको बोतल सन् १९३४ मा डेनमार्कमा भेटिएको थियो।
सर्वसाधारणका लागि खुल्ला
इलम्यान परिवारले सो बोतललाई आगामि २ वर्षका लागि पश्चिम अस्ट्रेलियाली संग्रहालयलाई लोनमा दिएका छन्। सो पत्र सर्वसाधारणका लागि हेर्न खुल्ला गरिएको छ।
पश्चिम अस्ट्रेलियाका संस्कृति तथा कला मन्त्री डेभिड टेम्पलेम्यानले सो पत्र ऋणमा लिए पनि आफू प्रसन्न रहेको बताएका थिए। उनले भने, ‘यो एक प्रभावशाली खोज हो। विज्ञान तथा अनुसन्धानका लागि अन्तर्राष्ट्रिय र बहुविधा संगठनलाई यसका लागि धन्यवाद छ।’
आफ्नो अनलाइन सामग्रीमा टोन्या इलम्यानले सो सन्देश प्राप्त गर्नु आफ्नो जिन्दगाीको सबैभन्दा उल्लेखनीय घटनाका रुपमा वर्णन गरेकी छन्।
टोन्याले आफ्नो अनुभूति साट्दै भनिन्, ‘सो बोतललाई पछिल्लो १ सय ३२ वर्षसम्म कसैले पनि छुन सकेनन्। र पनि पूर्ण रुपमा सही अवस्थामा थियो। यो सोचेर अझै पनि मेरो दिमाग हल्लिरहेको छ।’
(एजेन्सीहरुको सहयोगमा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।