काठमाडौं– पाँच वर्षअघि नुवाकोटका जिल्ला वन अधिकृत (डिएफओ) प्रेम खनालको एउटा आदेशले ठूलो चर्चा पायो। ५ वटा बाघको छाला तथा हड्डीसहित पक्राउ परेका मुख्य अभियुक्तलाई १ लाख रुपैयाँ धरौटीमा छाडेर गाडीका धनी र चालकलाई भने उनले जेल चलानको आदेश दिएका थिए।
जुन विषयमा वन मन्त्रालयले समेत छानबिन गरी डिएफओ खनाललाई कारबाही गर्यो।
खनालले त्यसरी ‘अनौठो’ निर्णय गर्नुका पछाडि मुख्य अभियुक्तको आर्थिक हैसियत प्रमुख कारण थियो। सो तस्करीका नाइके लोडु डिमे करोडपति व्यक्ति थिए। तस्करीकै धन्दाबाट करोडौं जम्मा गरेका उनले डिएफओलाई नै प्रभावमा पारी पक्राउ परेकी आफ्नी श्रीमतीलाई १ लाख धरौटीमा छुटाएका थिए। डिमेलाई पनि पछि फैसलामा डिएफओ खनालले १ लाख रुपैयाँ मात्र जरिवानाको फैसला सुनाएका थिए।
जिल्ला सरकारी वकिल कार्यालयले सो मुद्दाको पुनरावलोकन गर्यो। जसमा उनलाई ५ वर्ष कैद सजाय भयो।
सोही चर्चित मुद्दाका फरार अभियुक्त डिमे सोमबार पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले उनलाई भारतीय प्रहरीको समन्वयमा पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनी दिल्लीमा व्यवसाय गरेर बसेका थिए। श्रीमतीलाई भेट्न नेपाल आएका बेला भारतीय प्रहरीको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको सिआइबीका एक अधिकारीले बताए।
२०६९ साल पुस २८ मा रसुवातर्फ जाँदै गरेको गाडी ककनीमा चेकजाँच गर्ने क्रममा प्रहरीले चामलको बोराभित्र लुकाएको बाघको छाला र हड्डी बरामद गरेको थियो। प्रहरीले गाडीका चालक र मालिकलाई पक्राउ गर्ने क्रममा डिमेले ती सामान रसुवा लैजान जिम्मा दिएको खुल्यो।
नुवाकोट प्रहरी र सिआइबीले बौद्धस्थित उनको घरमा छापा हानी उनकी श्रीमतीलाई पक्राउ गर्यो। डिमे भने भारततर्फ भागिसकेका थिए।
भारतमै बसेर डिमेले सो मुद्दामा वकिलमार्फत चलखेल गरेका थिए। २०७१ साल फागुन १२ मा तत्कालीन पुनरावेदन अदालत पाटनले उनलाई ५ वर्ष कैद सजाय सुनाएको थियो। सिआइबीले खोजी गर्ने क्रममा उनी भारतमा रहेको खुलेपछि इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गरिएको थियो। गत ५ फेब्रुअरीमा उनीविरुद्ध रेडकर्नर नोटिस जारी भएको थियो।
सिआइबीले भारतीय प्रहरीसँग सहकार्य गरेको थियो। नेपाल आउने क्रममा उनी पक्राउ परेका हुन्। पक्राउ परेका डिमेलाई नुवाकोट पठाइएको सिआइबीका डिएसपी अनुपम राणाले बताए।
बौद्धमा उनको आलिसान घर छ। भारतमै बसेर पनि उनले अवैध सामानहरुको तस्करी धन्दा चलाउँदै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।